|

काठमाडौं : ‘नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव’ (निफ) चैत १० देखि १४ सम्म काठमाडौँमा आयोजना हुने भएको छ। वार्षिक आयोजना हुने महोत्सवको पाँचौँ संस्करण चैतमा हुन लागेको हो। 

विश्वभरिका कथाहरूको उत्सव, नेपाल अन्तरराष्ट्रिय चलचित्र महोत्सव भन्ने नारासहित आयोजना गर्न लागिएको महोत्सवमा ३८ देशका ८९ फिल्म प्रदर्शन हुनेछन्। 

५५ देशबाट प्राप्त भएका चार सयभन्दा बढी फिल्मबाट ८९ फिल्म छनोट गरिएको हो। महोत्सवमा नेपालका ४ वटा फिचर फिल्म प्रदर्शन हुनेछन्। जसमा 'चिसो एष्ट्रे', 'महानगर', 'घरजम' र 'साइना' रहेका छन्। 

अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, एनिमेटेड फिल्म, वृत्तचित्र, सर्ट फिल्म र राष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत फिचर फिल्म, वृत्तचित्र र सर्ट फिल्ममा चलचित्रहरूको आवेदन माग गरिएको थियो।

यस्तै यो वर्ष नेपाली प्रतिस्पर्धामा ५० हजार रुपैयाँ नगद पुरस्कारसहितको ‘वेष्ट डकुमेन्ट्री अवार्ड’ थप गरिएको आयोजकले जनाएको छ।

यस अतिरिक्त नियमित रूपमा प्रदान गर्दै आएको अन्तरराष्ट्रिय प्रतिस्पर्धाअन्तर्गत सर्वोत्कृष्ट फिचर फिल्मलाई १५ सय अमेरिका डलर राशिसहित गौतमबुद्ध अवार्ड प्रदान गरिनेछ।

त्यस्तै राष्ट्रिय तथा अन्तरराष्ट्रिय फिचर फिल्महरूबाट एउटालाई ‘चलचित्र समाजहरूको अन्तरराष्ट्रिय महासंघ,आईएफएफएस डन क्विजोट अवार्ड’ प्रदान गरिनेछ।

महोत्सवमा सर्वोत्कृष्ट वृत्तचित्रलाई १ हजार डलर राशिको माउण्ट एभरेष्ट अवार्ड, सर्वोत्कृष्ट एनिमेटेड चलचित्रलाई ५ सय डलर राशिको मञ्जुश्री अवार्ड, सर्वोत्कृष्ट लघु चलचित्रलाई ५ सय डलर राशिको बागमती अवार्ड प्रदान गरिनेछ।

यसैगरी नेपाली प्रतिस्पर्धाअन्तर्गत उत्कृष्ट फिचर फिल्मलाई १ लाख नगद र ट्रफी, उत्कृष्ट सर्ट फिल्म र उत्कृष्ट वृत्तचित्रलाई ५० हजार नगद र ट्रफी प्रदान गरिनेछ।

सर्टफिल्ममध्येबाट उत्कृष्ट निर्देशकलाई ट्रफी प्रदान गरिनेछ भने फिचर फिल्मतर्फका उत्कृष्ट निर्देशक, लेखक, छायांकार‚ अभिनेता र अभिनेत्रीलाई पनि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.