|

दाङ : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियताको मामिलामा अहिलेको गठबन्धन सरकार नालायक रूपमा स्थापित भएको बताए। बुधबार दाङको घोराहीमा प्रेस चौतारी दाङ शाखाले आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उनले यस्तो बताए।

उनले भने, ‘महाकालीमा तुइन प्रकरणदेखि पछिल्लो समय नेपाली भूमिमा भारतीय पक्षबाट बाटो निर्माण गरेका कुरा प्रधानमन्त्रीकै तर्फबाट सार्वजनिक हुँदा पनि त्यसबारे नेपाल सरकारले आपत्ति प्रकट गर्न नसक्नुले इतिहासमै सरकार लाचार र कमजोर रहेको बताउँछ।’

महासचिव पोखरेलले अहिलेको सरकारले नेपालको राष्ट्रिय हितका पक्षमा आफ्ना आवाज अन्तरराष्ट्रिय समुदायबीच लैजाने कुरामा असफल भएको समेत उनले उल्लेख गरे।

उनले जति लामो समयसम्म यो सरकार रहन्छ, त्यति लामो समयसम्म राष्ट्रका लागि समय खेर जाने समेत प्रष्ट पारे।

‘यो गठबन्धन राष्ट्रका लागि अभिशापको रूपमा रहेको छ’, उनले भने, ‘यसले जनता र राष्ट्रका लागि कुनै राम्रो काम गर्न सक्दैन। यो गठबन्धन एमालेको बढ्दो लोकप्रियता रोक्न बनेको हो।’

त्यस्तै उनले संसद्ले बनाएको कानुनमाथि सरकारको प्रश्न उठाउने अधिकार नभएको पनि औँल्याए। उनले लोकतन्त्रका मूल्य मान्यतालाई कार्यान्वयन गर्ने सरकार आज आफैँले कानुन उल्लंघन गर्ने भूमिकामा अगाडि बढ्ने खोजेको समेत आरोप लगाए।

‘संसद्ले बनाएको कानुनलाई सरकारले प्रश्न उठाउने होइन’, उनले भने, ‘कानुनको मस्यौदाको प्रक्रियादेखि नै सरकार समावेश हुने र सरकार विधेयक प्रस्तुत गर्छ। सरकारले प्रस्तुत गरेको विधेयकका आधारमा संसद्ले कानुन बनाउने गर्छ।’

उनले स्थानीय तहको निर्वाचनबारे जुन कानुन बनेका छन्, त्यो कानुनको पालना गर्नुपर्ने बाध्यात्मक दायित्व सरकार भएको पनि बताए। उनले सरकारले कानुनमाथि प्रश्न खडा गर्ने र कानुन संविधानसँग बाझियो भनेर संसद्ले बनाएको कानुनमाथि प्रश्न उठाउने अधिकार नभएको समेत उल्लेख गरे।

यसैगरी उनले सरकारले निःशर्त रूपमा कानुनको पालना गरेर स्थानीय तहको निर्वाचनको मिति तोक्न समेत माग गरे।

उनले भने, ‘सरकारले निःशर्त रूपमा कानुनको पालना गर्नुपर्छ। त्यो कानुनका आधारमा भन्नुपर्दा अहिलेसम्म स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसक्नुपर्ने हो तर सरकार निर्वाचनबाट भाग्न खोज्दै छ।’

यसैगरी उनले गठबन्धनमा रहेका राजनीतिक दलहरूले जनतामाथि भरोसा नगर्दा निर्वाचनबाट भाग्न खोजेको भन्दै जनताको बीचमा जाँदा दण्डित हुने डर उनीहरूमा रहेको पनि बताए।

उनले गठबन्धन सरकारले केही काम गर्न नसकेको आरोप लगाए। उनले सरकारले मन्त्रिपरिषद्लाई पूर्णता दिने कुरामा एक सय दिन लगाएको भन्दै त्यसले काम गर्ने गतिलाई संकेत गर्ने समेत बताए।

त्यस्तै उनले ६ महिनालाई आधार बनाएर हेर्दा मुलुक इतिहासकै सबैभन्दा चरम आर्थिक सङ्कटबाट गुज्रिँदै गएको समेत बताए।

उनले भने, ‘मूल्यवृद्धि उच्च विन्दुमा पुगेको छ। मौद्रिक तरलतामा संकट पैदा भएको छ। विकास खर्च अत्यन्त न्यून छ। विदेशी मुद्राको सञ्चीति इतिहासमै अत्यन्त कमजोर अवस्थामा छ। व्यापार घाटा बढ्दो क्रममा छ।’

यो अवस्था भने मुलुकको आर्थिक जीवनका लागि अत्यन्त चुनौतीपूर्ण अवस्था रहेको उनको भनाइ छ। त्यस्तै उनले अहिलेको सरकारले सबैभन्दा बढी प्राथमिकता गरेको खोप कार्यक्रममा असफल भएको दाबी गरे।

उनले कोरोना महामारीको लडाइँमा शून्य अवस्थामा विगतको सरकारले काम गरेर सबै नागरिकका लागि खोपको सुनिश्चिता नीतिमा अग्रसरता लिए पनि अहिलेको सरकार त्यसमा असफल भएको बताए।

त्यस्तै उनले महामारी नियन्त्रणका लागि सरकारका संयन्त्र सक्रिय नभएको भन्दै विगतको सरकारले गरेको जस्तो काम नगरेर लथालिङ्ग भएको पनि बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.