|

बैंकक : थाइल्याण्डले मङ्गलबार गाँजालाई लागुऔषधबाट हटाई वैधानिक रूपमा मान्यता दिएको छ।

यसरी थाइल्याण्ड गाँजालाई लागुऔषधबाट हटाउने एशियाको पहिलो देश बनेको छ।

लागुऔषध नियन्त्रण बोर्डले गाँजालाई मन्त्रालयको प्रतिबन्धित लागुऔषधको सूचीबाट हटाउन स्वीकृति दिएको स्वास्थ्यमन्त्री अनुतिन चरणवीराकुलले घोषणा गरेका छन्।

स्वास्थ्य मन्त्रालयको खाद्य तथा औषधि प्रशासनले लागुपदार्थको सूचीबाट हटाउन अब स्वास्थ्यमन्त्रीको औपचारिक हस्ताक्षर आवश्यक हुनेछ र आधिकारिक राजपत्रमा प्रकाशित भएको १२० दिनपछि लागू हुनेछ।

एसोसिएटेड प्रेसद्वारा सम्पर्क गरिएका पुलिस र वकिलहरूले भने कि गाँजा राख्ने व्यक्ति अब गिरफ्तार हुन्छ कि हुँदैन भन्ने स्पष्ट पारेनन्।

थाइल्याण्ड सन् २०२० मा औषधीय प्रयोजनका लागि गाँजाको उत्पादन र प्रयोगलाई अपराधमुक्त गर्ने पहिलो एशियाली राष्ट्र बनेको थियो।

सन् २०२० मा गरिएका परिवर्तनअन्तर्गत गाँजाको बिरुवाका अधिकांश भागलाई नियन्त्रित औषधिहरूको ‘श्रेणी ५’सूचीबाट हटाइएको थियो। बीउ र कोपिला भने खुला गरिएको थिएन।

क्यानडा, इजरायल र बेलायत लगायतका देशमा गाँजालाई लागुपदार्थको सूचीबाट हटाइएको छ।

भारतमा पनि राजीव गान्धीको सरकारले सन् १९८५ मा गाँजामाथि प्रतिबन्ध लगाएको थियो। गाँजाका फूल र फलमा प्रतिबन्ध लगाइए पनि पात भने प्रयोग गर्न छुट छ।

नेपालमा पनि गाँजा विक्री वितरण अमेरिकी सरकारको दबाबमा विसं २०३० को साउन १ गतेबाट प्रतिबन्ध लगाइएको हो। यति भए पनि नेपालमा गाँजाको कारोबार नरोकिएपछि अमेरिकाले निकै दबाब दिई २०३३ सालमा पूर्ण प्रतिबन्धित गराएको थियो।

औषधिको रूपमा समेत प्रयोग हुने गाँजा नेपाललाई प्रतिबन्ध लगाउन दबाब दिने अमेरिकाका कैयौँ राज्यमा हाल गाँजा खुला भइसकेको छ।

-एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.