|

काठमाडौं : नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन चीनबाट स्वास्थ्य उपचारपछि फर्किएलगत्तै महासचिवको चर्चा सुरु भएको छ। माओवादीले आगामी २७ माघमा बस्ने बैठकबाट पदाधिकारी टुंगो लगाउने तयारी गरेपछि महासचिवका दावेदार नेताहरुले मुख खोल्न थालेका हुन्। 

पुसमा एक सातासम्म चलेको आठौँ महाधिवेशनले पुष्पकमल दाहाल प्रचण्डलाई नै पुनः अध्यक्ष घोषणा गर्दै सकिएको थियो। महासचिवको दाबी गरिरहेका पुनले फर्किएपछि पार्टी पदाधिकारी टुंगोमा पुर्‍याउने माओवादीले आन्तरिक तयारी थालेको हो। 

गत शनिबार अध्यक्ष प्रचण्डले एक परिपत्र जारी गरी केन्द्रीय समितिलाई पूर्णतासहित कार्यविभाजन गरिने बताएका थिए। चीनबाट फर्किने क्रममा त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै उनले भनेका थिए, ‘सहमति जुट्न सकेन भने प्रक्रिया होस्, त्यसमा म फेस गर्न चाहन्छु, पार्टी अध्यक्ष र नेताहरूलाई मैले उतैबाट पनि भनेको थिए। मलाई विश्वास छ, पार्टीले सहमतिमै टुंगो लगाउनेछ। महासचिवमा मेरो उम्मेदवारी स्वभाविक नै हो।’

माओवादीमा एक अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, सात जना उपाध्यक्ष, एक जना महासचिव, दुई जना उपमहासचिव, तीन जना सचिव र एक जना कोषाध्यक्ष रहने प्रावधान रहेको छ।

माओवादीले २९९ मध्ये २३६ जना केन्द्रीय सदस्य र अध्यक्षमा प्रचण्डलाई चयन गरिसकेको छ। त्यसो त पार्टी पदाधिकारी सर्वसम्मत रुपमा चयन गर्न छलफल भइरहेको प्रवक्ता कृष्णबहादुर महरा बताउँछन्। 

उनी भन्छन्, ‘पदाधिकारी चयन सर्वसम्मत गर्नेबारेमा हामी छलफल गरिसकेको छौँ। महासचिवमा साथीहरूले दाबी गरिराख्नुभएको छ। हामीले सर्वसम्मतको प्रयास गरेको हुनाले उहाँहरू पनि सहमतिमा आउनुहुन्छ भन्ने विश्वास छ।’

विधानमा बहुपदमा जाने निर्णय गरेकोले आकांक्षी धेरै भएकाे भन्दै उनले सहमति गर्न नसके चुनावी प्रक्रियामा जाने बताए। त्यसो त महासचिवको दाबी गरिरहेकी नेतृ पम्फा भुसाल पनि सकेसम्म सर्वसम्मतको प्रयास गरिरहेको बताउँछन्। 

उनले भनिन्, ‘पदाधिकारीमा हामीले सर्वसम्मतकै प्रयास गरिरहेका छौँ। तर, सर्वसम्मत नहुने अवस्था रह्यो भने मेरो दाबेदारी रहन्छ। त्यसबारेमा मैले पार्टीमा छलफल गरिरहेको छु।’

महासचिवमा भुसालसहित जनार्दन शर्मा, वर्षमान पुन र देव गुरुङ बलियो दाबेदार हुन्। महासचिवका दाबेदार भुसाल र गुरुङलाई प्रचण्डले उपाध्यक्ष बनाउने माओवादी वृत्तमा चर्चा छ। त्यसो त भुसालको सम्भावना पनि कमजोर भइरहेको छैन। शर्मा र पुनबीच प्रतिस्पर्धा चलिरहे भुसालको भाग्योदय हुनसक्ने आँकलन गर्न थालिएको छ। 

शर्मा र पुनले दाबी गरिरहेको अवस्थामा आफूले भने कुनै पदमा दाबी नगरेको नेता गुरुङ बताउँछन्। उनी भन्छन्, ‘अहिलेसम्म मैले कुनै पदमा दाबी गरेको छैन। हामीले पदाधिकारी चयनलाई सर्वसम्मत गर्न चाहान्छौँ। महासचिवको आकांक्षा धेरै भइरहेको बेलामा मेरो नाम चर्चामा आएको मात्रै हो।’

महासचिव कसलाई बनाउने भन्ने विषयमा नेता कार्यकर्ता पंक्ति विभाजित हुन थालिसकेका छन्। विश्वास पात्रहरू नै महासचिवको दौडमा रहेकाले प्रचण्डलाई समस्या परेको छ।

प्रचण्डले पुन वा शर्मामध्ये एक जनालाई चयन गर्ने स्थितिमा भने पुनको सम्भावना बलियो देखिएको छ। एकीकृत माओवादी कालमा सचिव भइसकेकाले वरियतामा शर्माभन्दा पुन नै अगाडि छन्।

पुनकै कारणले पदाधिकारी चयन रोकेर राखेका प्रचण्ड अहिले आन्तरिक गृहकार्यमा व्यस्त छन्। पुन उपचारपछि फर्किएको भोलिपल्ट नै प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए। 

शर्मा अर्थमन्त्रीको जिम्मेवारीमा रहेकाले पनि उनलाई उपाध्यक्षमा लगेर पुनलाई महासचिवको जिम्मेवारी दिने प्रयास प्रचण्ड गरिरहेको स्रोतको दाबी छ। 

वरिष्ठ उपाध्यक्षमा नारायणकाजीको स्थान सुरक्षित रहेपनि महासचिव दौडबाट बाहिरिने नेताहरूलाई उपाध्यक्षमा लगेर व्यवस्थापन गर्ने प्रचण्डको तयारी छ।

स्थायी कमिटीमा रहेका नेताहरूले पदाधिकारीको आकांक्षा गरेको हुनाले केन्द्रीय कमिटीबाट पदाधिकारीको संख्या थप गरेरै भएपनि सर्वसम्मतको प्रयास जुटाउने प्रयास भइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.