|

काठमाडौं : नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान हरी खड्काविरुद्ध नक्कली प्रमाणपत्र पेस गरी जागिर खाएको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको छ।

खड्काले १२ कक्षा उत्तीर्णको नक्कली प्रमाणपत्र पेस गरी प्रहरीमा जागिर खाएको भन्दै अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो। खड्का महानगरीय प्रहरी गण नं. २ मा दरबन्दी भइ राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान केन्द्रीय खेलकुद समितिमा प्रहरी नायब निरिक्षकका रुपमा कार्यरत थिए।

अख्तियारका अनुसार खड्काले प्रहरीमा पेस गरेको प्रमाणपत्र नक्कली भएको भन्दै उजुरी परेको थियो। खड्काले प्रहरीबाट राजीनामा दिइसकेका छन्। अख्तियारले अनुसन्धानका क्रममा माध्यमिक शिक्षा परिषद् वाराणशी, उत्तर प्रदेशबाट जारी भएको आइएको झूटो प्रमाणपत्र पेस गरी त्यसकै आधारमा २०५५ सालमा खुला प्रतिस्पर्धाबाट खड्का प्रहरी सहायक निरिक्षकमा नियुक्त भएको पाइएको छ।

२०५९ माघ १४ मा प्रहरी नायब निरीक्षक पदमा बढुवा भएका खड्का सन् २००३ देखि २००६ सम्म नेपाल पुलिस क्लवबाट फुटबल खेलेका थिए। त्यसपश्चात ६ वर्षसम्म उनले पुलिस टिममा व्यवस्थापकीय जिम्मेवारी सम्हालेका थिए। गत वर्ष राष्ट्रिय खेलकुद परिषदको बोर्ड सदस्य नियुक्त भएका खड्का नेपाली राष्ट्रिय महिला फुटबल टिमका पूर्व प्रशिक्षकसमेत हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.