|

चितवन : केबिए ग्लोबल भरतपुर फुटबल क्लब (बिएफसी) सेन्ट्रल कलेज चितवन जिल्ला ए डिभिजन लिग च्याम्पियन बनेको छ।

आज (बुधबार) भएको उपाधि भिडन्तमा एभरेष्ट क्लबलाई पराजित गर्दै सेन्ट्रल कलेज बिएफसी च्याम्पियन बनेको हो।

बिएफसीले एभरेष्टलाई ३–० ले पराजित गर्‍यो। पहिलो पटक जिल्ला लिगको पुगेको बिएफसी च्याम्पियन बन्न सफल भएको हो।

चौथो पटक फाइनल पुगेको एभरेष्ट यस पटक पनि उपविजेतामा नै सीमित भयो। एभरेष्ट यसअघि पनि ३ पटक फाइनलमा पराजित भएको थियो।

बिएफसीलाई जिताउन राज भुसालले २ तथा प्रयास तामाङले एक गोल गरे। खेलको ३७ औं मिनेटमा बिएफसीले अग्रता लियो।

बिएफसीका प्रयासले गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाए। उनले अभिषेक चापागाईको पासमा सुन्दर गोल गरे। 

पहिलो हाफमा नै बिएफसीले अग्रता दोब्बर बनायो। पहिलो हाफमा थपिएको अतिरिक्त ४ मिनेटको तेस्रो मिनेटमा राजले पेनाल्टीमा गोल गर्दै बिएफसीलाई दोहोरो अग्रता दिलाए।

डि-बक्सभित्र एभरेष्टका डिफेन्डर विपिन बल्लले ह्याण्ड गरेपछि रेफ्रीले पेनाल्टी दिएका थिए। राजले कुनै गल्ती नगरी बललाई जाली चुमाए।  

६९ औं मिनेटमा राजले व्यक्तिगत दोस्रो गोल गर्दै बिएफसीलाई ३–० को अग्रता दिलाए। मैदानको कर्नरबाट प्रयासको क्रसमा राजले सुन्दर हेडबाट गोल गरी बिएफसीको जित सुनिश्चित गरे। उनी नै खेलको म्यान अफ दि म्याच भए।

विजेता बिएफसीले ट्रफीसहित १ लाख नगद प्राप्त गरेको छ। उपविजेतामा सीमित एभरेष्टले ५० हजार नगदमा चित्त बुझाएको छ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष कर्माछिरिङ शेर्पाले पुरस्कार वितरण गरे।

प्रतियोगितामा ४ गोल र ८ एसिस्ट गरेका एभरेष्टका रोशन क्षेत्री लिगको सर्वोकृष्ट खेलाडी भए। उनले गोल्डेन बलसहित नगद ५ हजार पाए।

यस्तै लिगमा ९ गोल गरेका बिएफसीका राज सर्वाधिक गोलकर्ता भए। उनले गोल्डेन बुटसहित ५ हजार पाए। 

पानस युवा क्लबका सागर बस्नेत सर्वोकृष्ट गोलरक्षक घोषित हुँदै गोल्डेन ग्लभ्ससहित ५ हजार प्राप्त गरे। उनले लिगका ६ खेलमा ३ गोलमात्र खाएका थिए।

चितवन जिल्ला फुटबल संघको आयोजनमा भएको लिगमा जिल्लाका १३ टोली सहभागी थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.