|

बैतडी : वर्षा र हिमपातले बैतडीका किसान खुसी भएका छन्। यहाँका उच्च पहाडी क्षेत्रमा  यो महिना दोस्रोपटक बुधबार हिमपात भएको हो। यसअघि माघ १० गते पनि यहाँ हिमपात भएको थियो।  

केही दिनदेखि मौसम परिवर्तनले यहाँको देहीमाडौं, ढोल्यामोड, अनारखोली, खोडपे, सुपले, रौलाकेदार, सतबाँझ कठपते लगायतका स्थानमा हिमपात भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दर्शन खड्काले जानकारी दिए।

वर्षासँगै हिमपात भएपछि बाली सप्रिने आशामा किसानहरु खुसी भएका छन्। हिमपात र वर्षाले गहुँ लगायतका हिउँदेबाली सप्रिने उनहरूको विश्वास छ।  हिमपात र वर्षाले हिउँदे बालीलाई फाइदा पुग्ने दशरथचन्द नगरपालिका १ का किसान राजबहादुर टेरले बताए। उनले भने, 'समय समयमा भइरहेको वर्षा र हिमपातले बाली सप्रिने, यो वर्षा हिउँदेबाली र फलफूल उत्पादन बढ्ने देखिएको छ, किसानहरु सबै खुसी छन्।'

यो वर्षा हिमपातले हिउँदे फलफूलका निकै सहयोग पुग्ने सुक्खा फलफूल विकास केन्द्र सतबाँझका प्रमुख डम्मरसिंह भाटले बताए। उनले भने, 'चिसो बढे पनि वर्षा र हिमपातले बालीनालीका लागि सहयोग पुग्छ।'

यसैबीच हिमपातका कारण यहाँको जनजीवन पनि प्रभावित भएको छ। वर्षासँगैको हिमपातले चिसो बढेकोले जनजीवन कष्ठकर बनेको हो। हिमपातले  चिसो बढेकाले स्वास्थ्य सावधानी अपनाउन स्वास्थ्यकर्मीले  सुझाएका छन्।

चिसोले बालबालिका तथा वृद्धवृद्धाहरूलाई बढी असर गर्ने भएकाले उनीहरूको ख्याल गर्न आग्रह गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.