|

पर्वत : पोखरामा जारी आहा–रारा गोल्डकपको बीसौँ संस्करणमा दोस्रो सेमिफाइनल खेलबाट मनाङ–मर्स्याङ्दी क्लब फाइनलमा प्रवेश गरेको छ।

योसँगै बीसौँ संस्करणको उपाधि रक्षाका लागि मनाङ–मर्स्याङ्दी र विभागीय टोली एपिएफबीचको भिडन्त पक्का भएको छ।

बिहीबार भएको मनाङ–मर्स्याङ्दी र आर्मीबीचको खेल निकै प्रतिस्पर्धात्मक बन्न पुग्यो जसका कारण खेलमा बिहीबारको विजेताको टुङ्गो पेनाल्टी सुट आउटबाट लाग्यो।

खेलको पहिलो र दोस्रो दुवै गोलरहित बराबरीमा पुगेपछि आधा घण्टाको अतिरिक्त समय थपिएको थियो तर प्रतिस्पर्धात्मक खेलमा अतिरिक्त समय पनि गोलरहित बराबरीमा पुगेपछि खेल पेनाल्टीमा पुगेको हो। पेनाल्टीमा मनाङ–मर्स्याङ्दीले चार र आर्मीले तीन गोल प्रहार गरेका थिए।

खेलको पहिलो हाफ निकै प्रतिस्पर्धात्मक भएको भए पनि दोस्रो हाफमा भने केही कमजोर खेल भएको थियो तर फाइनल यात्रामा जाने तयारीमा रहेका दुवै टिमका खेलाडीहरूको खेल अतिरिक्त समयमा भने पहिलो हाफमा जस्तै प्रतिस्पर्धात्मक बनेको थियो।

बिहीबारको सेमिफाइनल खेलबाट विजेता बनेको मनाङ–मर्स्याङ्दी क्लबले माघ १५ गते उपाधिका लागि एपिएफ क्लबसँग भिड्नुपर्ने छ।

सेमिफाइनलको पहिलो खेलमा बुधवार विभागीय क्लब एपिएफ र लिग च्याम्पियन मच्छिन्द्र क्लबबीच खेल भएको थियो। जसमा एपीएफले मच्छिन्द्रलाई एकका विरुद्ध तीन गोलले पराजित गरेको थियो।

हारसँगै मच्छिन्द्र भने प्रतियोगितामा पहिलोपटक फाइनल पुगे पनि इतिहास रच्नबाट चुकेको थियो।

आहा रारा गोल्डकपको २० औँ संस्करणसम्म आइपुग्दा त्रिभुवन आर्मी क्लब अहिलेसम्म पनि विजेता बन्न सकेको छैन। आर्मीले हालसम्मको खेलमा २०६५, २०६६, २०७२ र २०७५ मा उपविजेतामा नै चित्त बुझाएर फर्किएको थियो।

तर योपटकको यात्रालाई पाँचौँपटकको फाइनलिस्ट बन्दै उपाधि रक्षाका लागि लड्ने बलियो तयारीसहित मैदान उत्रिएको आर्मीको सपना यहीँ चुकेको छ।

केही महिना पहिलेदेखि पोखरा रङ्गशालालाई घरेलु मैदानको रूपमा प्रयोग गर्दै आइरहेको मनाङ्–मर्स्याङ्दी क्लब भने आहा–रारा गोल्डकपको सर्वाधिक विजेता हो। उसले २०६०, २०६१, २०६८, २०७२, २०७३ र २०७६ सालमा उपाधि चुमेको थियो।

यसअघि २०७६ सालको खेलमा पनि पनि मनाङ–मर्स्याङ्दी र आर्मीबीच सेमिफाइनलमा भिडन्त भएको थियो। जसमा मनाङले आर्मीलाई दुईका विरुद्ध तीन गोलले पराजित गरेको थियो।

कोभिड–१९ को सङ्क्रमण बढ्दै गइरहेको अवस्थामा खेलको आयोजना गरिएका कारण सुरुवाती चरणका खेलहरूमा दर्शकलाई रङ्गशालामा छिर्न अनुमति दिइएको थिएन।

आयोजक सहारा क्लब र जिल्ला प्रशासन कार्यालयबीच भएको छलफलपछि प्रतियोगिताको अन्तिम चरणका खेलहरूमा स्वास्थ्य मापदण्ड पालना गर्दै प्रत्यक्ष रूपमा खेल हेर्न दिने कुरा भएको थियो।

सोहीअनुसार बिहीबारको खेलमा खेलको मात्रा पूरा गरेका, शरीरको तापक्रम ठिक अवस्थामा रहेका, मास्क र स्यानिटाइजर प्रयोग गरेकाहरूलाई मात्रै खेल हेर्ने अवसर दिइएको छ।

रङ्गशालाभित्रको प्यारापिटमा बसेका दर्शकलाई पनि सामाजिक दूरी कायम गरेर मात्र बस्ने व्यवस्था गरिएको थियो।  

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.