|

काठमाडौं : संघीय संसदका दुवै सदनको बैठक बोलाइएको छ। प्रतिनिधिसभाको बैठक माघ १६ र राष्ट्रियसभा बैठक माघ १७ गते बस्नेगरी बोलाइएको संसद सचिवालयले जनाएको छ।

तर संसदमा विरोध गर्दै आएको प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले भने यसपटक पनि विरोधलाई निरन्तरता दिने संकेत गरेको छ। एमालेले संसदमा आफूहरुको विरोधका बीच सरकारले मन लागेका विधेयकहरु पास गरिरहेको भन्दै आफूहरुको विरोध सांकेतिक मात्रै भएको तर्क गर्दै आएको छ।

सत्तापक्ष भने एमालेले अवरोध गरेर संसद असफल बनाउन लागेको भन्दै आएको छ। यस विषयमा एमाले स्थायी कमिटी सदस्य शेरबहादुर तामाङसँग थाहाकर्मी कूल तामाङले गरेको कुराकानी।

 संसदको अबका बैठकमा एमाले के गर्छ ?

हामीभन्दा पनि सरकार आफैं संसद चलाउन तयार देखिएको छैन। गत डेढ महिनाको बीचमा सरकारले सूचना टाँस्दै स्थगित गर्दै आएको छ। भन्ने बेलामा एमालेले अवरोध गर्यो भनेर आरोप लगाउँछन्।

तर सरकार आफैं संसद सुचारु गर्न तयार नै छैन नि। तयार भए त यसरी सूचना जारी गर्दै संसद रोक्दै जान्छ त ? पुस ३ गतेलाई भनेर राखेको बैठक १६ गतेलाई सारिएको छ। महिनौं भइसक्यो संसद सरेको।

अब फेरि पनि बैठक सार्ने मनस्थितिमा सरकार देखिन्छ। हेर्दै जानुहोला माघ १५ गते बैठक सरेको अर्को सूचना आउँछ।

अवरोध त तपाईंहरुले गरेको स्पष्टै छ त ?

संसद सुचारु गर्नपर्यो भनेर सरकारले खोइ प्रतिपक्षसँग सल्लाह गर्न खोजेको ? पटक-पटक बैठक सर्दै आएको तपाईलाई पनि थाहा होला। यो अवधिमा संवाद छलफल नगरी के हेरेर बसेको छ सरकार? बरु हामीले बीचमा पहल गर्यौँ छलफल चलायौँ। त्यो पहलको कारण प्रधानमन्त्री बालकोटसम्म पुग्ने स्थित बन्यो तर केहि पनि प्रगति भएन।

तपाई अहिले दोष सरकारलाई दिनुहुन्छ, संसद बस्यो कि अवरोध गरिहाल्नुहुन्छ कसरी मिल्यो र कुरो ?

त्यो त अब असन्तुष्टिका केहि विषयहरु छन्। जबसम्म ती विषयहरुको सम्बोधन हुँदैन। हामीसँग सरकार वार्तामा बस्दैन। तबसम्म अवरोध त जारी नै रहन्छ नि ! प्रतिपक्षसँग छलफल नै छैन संसद स्थगित भनेको छ। सारेको छ, सारेको छ।

पाँच पटक त बैठक नै सारिसक्यो। विशेष कारणबस भन्या छ, के कारण हो त्यस्तो ?

अबका बैठक पनि एमालेले फेरि अवरोध गर्ने नै हो ?

संसदलाई चलाउन नसक्ने। संसदलाई कुनै एजेण्डा दिन नसक्ने अनि संसदमा कुनै छलफल नै नगर्ने। संसद चलाउन प्रतिपक्ष दलसँग कुनै छलफल नै नगर्ने। पटक पटक संसद स्थगित भएको सूचना जारी गर्ने।

सभामुखको आदेशमा सुचना जारी गर्दै सारेको बैठकको दोष एमालेलाई लाउन मिल्छ र ? स्पष्ट छ त जबसम्म सरकार संवाद र छलफलमा  आउँदैन तबसम्म एमालेले संसद अवरोध जारी राख्छ।

तपाईहरुले त दुई/दुई पटक विघटन गरेको संसद नचल्दा नै राम्रो होला नि !

अहिलेको परिस्थितिमा हामी होइन, गठबन्धन नै दोषी छन् नि! उहाँहरुलाई संसद चलाउनु नै परेको छैन। संसद नै चाहिएको छैन गठबन्धनलाई। सरकार सत्तामा मात्रै उहाँहरुको भूमिका देखिन्छ।

सरकार चलाउनका लागि मात्रै संसदका उपयोग चाहिँ भएको छ। जस्तो पछिल्लो समयमा अदालतको आदेशको आधारमा बनेको सरकार जम्माजम्मी सरकार गठन गर्नका लागि मात्रै उपयोग भए। अरु हिसाबमा संसद प्रयोग गर्न गठबन्धनले सकेन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.