|

कञ्चनपुर : महाकाली साहित्य संगम कञ्चनपुरका अध्यक्ष हरिशप्रसाद जोशीले आमाबुवाको स्मृतिमा पुरस्कार स्थापना गरेका छन्।

जोशीले बुवा दामोदर र आमा गंगाको सम्झनामा गंगादामोदर जोशी स्मृति पुरस्कार स्थापना गरेका हुन्।

अध्यक्ष जोशीले शुक्रबार पुरस्कार राशिको रकम ५० हजार मुद्दती खातामा जम्मा गरेका छन्। पुरस्कार राशि संगमका कोषाध्यक्ष लक्ष्मीकान्त भट्टलाई हस्तान्तरण गरेपछि खातामा जम्मा गरिएको छ।

मेघा बैंकमा खाता खोलेर पुरस्कार राशि जम्मा गरिएको छ। अध्यक्ष जोशीले साहित्य र संस्कृतिको क्षेत्रमा योगदान पुगाउने एकजनालाई पुरस्कार प्रदान गरिने बताए।

‘साहित्य र संस्कृति विधामा योगदान पुगाउने एकजनालाई वर्षेनि पुरस्कार दिने गरी पुरस्कार राशि मुद्दती खातामा जम्मा गरिएको छ’‚अध्यक्ष जोशीले भने, ‘५० हजारको ब्याजबापत आउने ५ हजार रुपैयाँ वर्षमा एकजना साहित्यकार संस्कृतिकर्मीलाई प्रदान गरिनेछ।’

महाकाली साहित्य सङ्गमले मूल्याङ्कन गरी पुरस्कार प्रदान गर्ने अध्यक्ष जोशीले बताए।

शिक्षणसँगै साहित्य र संस्कृति क्षेत्रमा सक्रिय जोशीले सानैमा आमाबुवा गुमाएका थिए। उनले चार वर्षको हुँदा आमा र १४ वर्षमा बुवा गुमाएका थिए।

स्वर्गीय जोशी दम्पतीका पाँच सन्तानमा उनी एक्ला छोरा हुन्। जोशी महेन्द्रनगरस्थित अमर शहीद आधारभूत विद्यालयमा प्रधानाध्यापक छन्।

जोशीलाई गत वर्ष सुदूरपश्चिम प्रदेश सरकारले संस्कृति क्षेत्रमा पुगाएको योगदानको कदर गर्दै सम्मान गरेको थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.