भाडाबापत ५ करोड बक्यौता

|

काठमाडौं : राजधानीको मुटुजस्तै मानिने प्रदर्शनीमार्गस्थित भृकुटीमण्डपमा पसल व्यापारीदेखि विभिन्न संघसंस्थाको हालीमुहाली चलेको छ।

वर्षौंदेखि उनीहरूले सम्झौताअनुसार तिर्नुपर्ने भाडा बुझाएका छैनन्। 

समाज कल्याण परिषदको भृकुटीमण्डप सञ्चालन कार्यालयका अनुसार भाडा नतिर्नेमा पत्रकार ऋषि धमला अध्यक्ष रहेको रिपोर्टर्स क्लब नेपालदेखि नेपाल पत्रकार महासंघ काठमाडौं शाखासम्म रहेका छन्।

उपभोक्ता मञ्च नेपाल, लोकतान्त्रिक शहीद तथा घाइते समाज, काठमाडौं उपत्यका सार्वजनिक पुस्तकालय, नेपाल अपांग समाज बहुउद्देश्यीय सहकारी संस्थाले पनि भाडा तिरेका छैनन्।

सञ्चालन कार्यालयले नेपाल ह्विलचेयर क्लब, राष्ट्रिय अपांग महासंघ, बालबालिकाको निम्ति गैरसरकारी संघ, नेपाल राष्ट्रिय अपांग मानव अधिकार संरक्षण मञ्च, सिन्थेसिस, ध्रुव आले अध्यक्ष रहेको फोटो पत्रकार महासंघ (एफएनपिजे) ले हालसम्म भाडा नतिरेको जनाएको छ।

यी सबैसँगबाट करिब ५ करोड भाडा उठ्न बाँकी छ।

भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख रामराज भट्टराईले केही संस्थाले २० वर्षदेखि र केहीले २ वर्षदेखि भाडा नतिरेको जानकारी दिए। 

माघ मसान्तसम्ममा नबुझाए कानुनी प्रक्रिया थाल्ने

कार्यालय प्रमुख भट्टराईले यी संस्थाहरूलाई भाडा तिर्न पटक–पटक अनुरोध गरे पनि अटेर गर्दै आएको बताए।

उनले भने, ‘म यहाँ आएदेखि दुई पटकभन्दा बढी पत्र काटेँ, तर अहिलेसम्म बुझाएनन्, अन्तिम पटक यही माघ मसान्तसम्म भाडा बुझाउनु भनेका छौँ। बुझाएनन् भने कानुनी प्रक्रिया थालेर कोठा खाली गराउँछौँ।’

यो समयसम्म भाडा नतिरे तालाबन्दी वा मुद्दा दर्ता गर्ने उनको चेतावनी छ। ती संघसंस्थाले समयमा भाडा नतिर्दा प्रशासनिक खर्च चलाउन सकस भएको उनले बताए।

‘भाडा तिर्न नसके खाली गर्नु नि, अरुलाई राख्थ्यौँ, भाडा नि नतिर्ने, कोठा खाली नि नगर्ने कस्ता संस्थाहरू रहेछन्,’ उनले आक्रोश पोखे। 

उनका अनुसार ०७४ साल अघिसम्म उपभोक्ता मञ्चले भाडा तिरेको थिएन। अहिले भने नियमित तिरेको छ।

तर,मञ्चले ०७४ अघिको भाडा भने अझै तिरिसकेको छैन, बाँकी छ।

त्यस्तै ०७६ बाट रिपोर्टर्स क्लबले भाडा तिरेको छैन।

क्लबका अध्यक्ष धमलाले भने सबै भाडा तिरिसकेको दाबी गरे।

‘कसले भन्यो भाडा तिरेको छैन भनेर?,’ उनले भने, ‘सबै भाडा तिरेको छु, बिल पनि छ, सबै कुरा मिलिसकेकाे छ।’

यता, भृकुटीमण्डप सञ्चालन कार्यालयका प्रमुख भट्टराईले रिपोर्टर्स क्लबका अध्यक्ष धमलाले तिरेँ भने पनि अहिलेसम्म नतिरेको बताए।

‘रिपोर्टर्स क्लबले ५० प्रतिशतचाहीँ भाडा बुझाउँछु भनेको छ, तर अझै बुझाएको छैन, त्यसै दिइसकेको भनेको हो।’

उनले उपभोक्ता मञ्च, पुस्तकालय, अपांग महासंघ सम्पर्कमा आएका र अरु संस्था अझै सम्पर्कमा नआएको उनले बताए।

ती संघसंस्थाले समयमा भाडा नतिर्दा प्रशासनिक खर्च चलाउन समस्या भएको उनको भनाइ छ।

पसलबाट बक्यौता ३५ लाख उठ्यो

भृकुटीमण्डप सञ्चालन कार्यालयका अनुसार भृकुटीमण्डपमा २ सय १४ रोपनी जग्गा छ।

यहाँ १३ सय स्टल छन्। नेपाल पर्यटन बोर्डले १५ रोपनी लिजमा लिएको छ।

केही स्टलमा राखेका पसलले पनि २ वर्षसम्म भाडा तिरेका थिएन।

‘पहिला भाडा नबुझाएका रहेछन्, मैले ताकेता गरेर २ वर्षको ३५ लाख उठायौँ,’ उनले सुनाए। 

भृकुटीमण्डपमा व्यापारी र संस्थाको मात्र कब्जा छैन, बेतिथि पनि छ। जग्गा हिनामिना गर्न कतिपयको आँखा त्यसमा छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ०७५ सालमा जग्गा दुरुपयोग गरेको आरोपमा तत्कालीन महिला, बालबालिका तथा समाज कल्याणमन्त्री बद्री न्यौपाने, सञ्चालकको हैसियतमा फनपार्क सञ्चालन गरेका पूर्वमन्त्री टेकबहादुर गुरुङसहित १४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।

समाज कल्याण परिषदले प्रचलित मापदण्ड र प्रक्रियाविपरीत भृकुटीमण्डपस्थित फनपार्क मेला क्षेत्र रहेको ६० रोपनी जग्गा भाडामा लगाउँदा करिब ३१ करोड रूपैयाँ बराबर हानी पुर्‍याएकाे अख्तियारले ठहर गरेको छ। 

 (यो पनि)

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.