आफैंले भर्न नसक्नेलाई सशुल्क हेल्पडेस्क

|

काभ्रे : काभ्रेमा आजबाट ई–पासपोर्ट (विद्युतीय राहदानी) वितरण सेवा सुरु भएको छ। आइतबार ई–पासपोर्ट सेवाको सूचारु जिल्ला प्रशासन कार्यालय काभ्रेको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले गरेकी हुन्।

प्रजिअ पाण्डेले सेवा सुचारुको पहिलो दिन १० जनालाई ई–पासपोर्ट वितरणसमेत गरिएको जानकारी दिइन्। उनले अनलाइनबाट आवेदन भरेकालाई सोमबारबाट ई–पासपोर्ट वितरण गरिने बताइन्।

त्यस्तै, प्रजिअ पाण्डेले ई–पासपोर्ट लिनको लागि राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य आवश्यक पर्ने बताइन्। ‘राहदानीका लागि सरकारले जारी गरेको राष्ट्रिय परिचयपत्रको नम्बर अनिवार्य चाहिन्छ’, उनले भनिन्, ‘राष्ट्रिय परिचयपत्रमा उल्लेख विवरणहरू ई–पासपोर्टमा प्रमाणीकरण हुन्छ।’

उनले आफैँले भर्न नसक्नेहरूले जिल्ला प्रशासन कार्यालयले स्थापना गरेको हेल्प डेस्कमा आएर पनि अनलाइनबाट फारम भर्न पाउने व्यवस्था गरिएको बताइन्। उनका अनुसार हेल्प डेस्कबाट फराम भर्दा राहदानी विभागले तोकिएअनुसार शुल्क भने बुझाउनुपर्नेछ।

यस्तै, अनलाइन फारम भर्ने सेवा दिने पसलहरूमा गएर पनि भर्न सकिनेछ। त्यसका लागि जिल्ला प्रशासन कार्यालयले शुल्क भने तोकिएको छैन। यसबारे प्रजिअ पाण्डेसँग बुझ्दा आफूहरूले तोक्न नमिल्ने बताइन्।

त्यस्तै, काभ्रेका सहायक प्रजिअ अमर दीप सुनुवारले ई–पासपोर्ट एमआरपी (मेसिन रिडएबल पासपोर्ट)को तुलनामा बढी विश्वसनीय र सुरक्षित भएको बताए। ‘राष्ट्रिय परिचपत्रको नम्बरमा भएको विवरणअनुसार ई–पासपोर्ट बनाउँदा सम्बन्धित व्यक्तिबाहेकले अरूले लिन नसक्ने हुँदा नक्कली काम हुनबाट रोकिन्छ,’ उनले भने, ‘कार्यालयले यसअघि एमआरपीबाट सेवा हुँदै आएकोमा अब ई–पासपोर्टबाट सेवा प्रवाह हुनेछ।’

अनलाइनबाट भरिने ई–पासपोर्ट मोबाइलबाट पनि फारम भर्न सकिने छ। नागरिकता र फोटो ४ सय केबीसम्मको अपलोड हुने जिप्रका काभ्रेले जनाइएको छ।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.