|

पारिवारिक द्वन्द्वले अनेकौं परिवार छिन्नभिन्न भएका छन्। कयौं परिवार भने बर्बाद पनि भएका छन्। तर‚ यो एउटा यस्तो परिवार छ‚ जो पारिवारिक द्वन्द्वकै कारण विश्वभर परिचित छ। 

जर्मनीको एउटा सफल व्यावसायिक परिवार पारिवारिक द्वन्द्वले जन्माएको हो। दाजुभाइबीचको द्वन्द्वले बजारमा त्यसबेला स्पोर्टस शुका दुई प्रमुख प्रतिस्पर्धी ब्राण्डको जन्म भयो।

दुई कम्पनीका कामदारहरूबीच बोलचाल समेत बन्द भयो। कम्पनीले आफूकहाँ काम गर्ने कर्मचारीलाई अर्को कम्पनीमा काम गर्ने कर्मचारीसँग कुनै पनि सम्बन्ध राख्न निषेध नै गरेको थियो। यतिसम्म कि जर्मनीको सहरमा यी दुई ब्राण्डका जुत्ता लगाउने मानिस समेत एक अर्कालाई देखी सहँदैनथे।

ती स्पोर्ट्स  ब्रान्ड अरु कुनै नभएर विश्व खेलकुदमा बेग्लै प्रभाव राख्न सफल ‘एडिडास’ र ‘पुमा’ हुन्। यी दुई कम्पनीका मालिक एडोल्फ ड्यासलर र रुडोल्फ ड्यासलर साख्खै दाजुभाइ हुन्।  

दोस्रो विश्वयुद्धपछि यी दुई ब्राण्ड विश्व बजारमा प्रतिस्पर्धीको रुपमा देखिए। त्यसअघि उनीहरूको एउटै कम्पनी थियो ड्यासलर ब्रदर्श स्पोर्टस् शु कारखाना अर्थात् छोटो रुपमा ‘गेडा’। यो कथा सन् १९२० मा जर्मनीको सानो शहरी क्षेत्र हर्जोगेनार्च भन्ने ठाउँमा सुरु भयो।

अरुको जुत्ता कारखानामा काम गर्ने ड्यासलर परिवारले आफ्नो कम्पनी खोलेर जुत्ता उत्पादन सुरु गर्न थाल्यो। एडोल्फ जुत्ता बनाउनमा माहिर थिए। रुडोल्फ व्यापारमा खप्पिस। १९३३ मा एडोल्फ हिटलर सत्तामा आएपछि दुई भाइले पार्टीको सदस्यता लिए।

उनीहरूको जुत्ता व्यवसाय सन् १९३६ सम्म सामान्य रह्यो। सो वर्ष जर्मनीले ओलम्पिक आयोजना गर्‍यो। ओलम्पिकका क्रममा उनीहरूले अफ्रिकी मुलका अमेरिकी एथ्लेट जेस ओवेन्सलाई गेडाको जुत्ता लगाउन राजी बनाए। ओवेन्सले ‌ओलम्पिकमा चार स्वर्ण पदक जित्न सफल भए। उत्पादनको एक्सपोजरले ड्यास्लर जुताको बिक्रीमा ठूलो मद्दत गर्‍यो। 

अप्रत्यासित सफलतापछि टुटेको सम्बन्ध

ड्यासलर ब्रदरको व्यवसायमा आएको अप्रत्यासित सफलताले उनीहरूको सम्बन्धलाई भने धमिल्याउँदै लग्यो। दोस्रो विश्वयुद्धताका रुडोल्फलाई जर्मनी सेनामा भर्ना गरिएको थियो। र‚ गेडाको कारखानालाई हतियार कारखानाको रुपमा परिणत गरियो। विश्वयुद्धभरि जुत्ता उत्पादन बन्द थियो। युद्धपछि रुडोल्फ फर्केर आएपछि पुनः कम्पनीले जुत्ता उत्पादन थाल्यो।  तर‚ सन् १९४८ मा उनीहरूले गेडा बन्द गरेर २८ वर्ष लामो सहकार्य अन्त्य गरे।

रुडोल्फले सन् १९४८ मा पुमा सुरु गरे। एडोल्फले एक वर्षपछि एडिडास स्थापना गरे। यद्यपि‚ ती दुई दाजुभाइबीचमा भएको झगडाको कारण भने अझसम्मै रहस्यमै रहेको छ। श्रीमतीको सम्बन्धको कारण दाजुभाइ अलग भएको चर्चा हुने गर्दछ। रुडोल्फमा भने भाइ एडोल्फका कारण सेनामा भर्ती भएर कारावासमा बस्नु पर्‍यो भन्ने शंका थियो।

एडोल्फले आफ्नो कम्पनीको नाम एडिडास राखे। रुडोल्फले भने आफ्नो जुत्ता कम्पनीको नाम पुमा राखे। सुरुवातमा पुमा कम्पनीको नाम रुडोल्फ ड्यास्लरको छोटो रुपमा ‘रुडी’ राखिएको थियो। पछि बिरालो प्रजातिको जनावरको नामबाट पुमा राखियो। तर‚ एडिडास नाम एडोल्फको ‘एडी’ र ड्यास्लरको ‘डास’ मिलाएर राखियो।

एडिडासले फ्याक्ट्रीलाई रेल स्टेसन नजिकै र गेडाका दुई तिहाइ कर्मचारीहरूलाई राख्यो। किनकि‚ अधिकांश कर्मचारीहरूले रुडोल्फको बिक्री उन्मुख दृष्टिकोणभन्दा उत्पादन विकासमा एडोल्फको जोडलाई प्राथमिकता दिए।

रुडोल्फले वुर्जबर्गर स्ट्रिटमा कारखाना र बाँकी एक तिहाइ कर्मचारी राखे।  त्यसपछिका तीन दशकहरूमा एडिडास र पुमा दुवैले एक अर्कालाई पछि पार्दै प्रभुत्व जमाउन थाले।

पश्चिम जर्मनीका कारण चम्किएको एडिडास

दोस्रो विश्वयुद्धपछि जर्मनीलाई सुरुमा अन्तर्राष्ट्रिय फुटबलमा प्रतिबन्ध लगाइएको थियो। र‚ एथ्लेटिक जुत्ताजस्ता जर्मन उत्पादनहरूको छवि अन्तर्राष्ट्रिय बजारमा कमजोर बन्दै गएका थिए। तर‚ पश्चिम जर्मनीलाई सन् १९५७ को विश्वकपमा सहभागिताका लागि अनुमति दिइएको थियो। जुन विश्वकप पहिलो पटक टेलिभिजनमा प्रशारण समेत भएको थियो।

एडिडास र पुमाले त्यही समयबाट आफ्ना खेलकुद ब्राण्डहरूप्रति मानिसको धारणा परिवर्तन गर्न र अन्तर्राष्ट्रिय एक्सपोजर हासिल गरे। पश्चिम जर्मनीको राष्ट्रिय टोलीका प्रशिक्षक सेप हरबर्गर र रुडोल्फबीचको मतभेदका कारण पश्चिम जर्मनी राष्ट्रिय टोलीलाई प्रायोजन गर्न सकेन। र, अवसर एडिडासले प्राप्त गर्न सफल रह्यो।

एडिडासले पश्चिम जर्मन खेलाडीहरूलाई जर्सी र जुत्ता उपलब्ध गराएको थियो। पश्चिम जर्मन टोलीले त्यसबेला हंगेरीलाई हराउँदै पहिलो विश्वकप जित्यो। फलस्वरूप एडिडास अन्तर्राष्ट्रिय बजारमा आफ्नो छवि सुधार गर्न सफल बन्यो।  एडिडासले बक्सर मोहम्मद अली र जो फ्रेजियरजस्ता खेलाडीहरूलाई आफ्नो उत्पादन उपलब्ध गराएको थियो।

पेलेले चिनाएको पुमा

पुमाले ब्राजिल राष्ट्रिय फुटबल टोलीका सदस्यहरूसँग सम्झौता गर्‍यो। १९७० को विश्वकपमा पुमाले व्यापारमा छलाङ मार्न सफल रह्यो। त्यसबेला विश्वका सबैभन्दा चर्चित खेलाडी ब्राजिलका पेले थिए। प्रायोजन सम्झौताअनुसार रेफ्रीले सुरुवाती सिटी बजाउनुअघि पेलेले रेफ्रीलाई रोके ताकी उनले आफ्नो जुत्ता बाँध्न सकून्।

यसरी सबै क्यामराहरू उनको पुमामा केन्द्रित भए। पेलेले सन् १९७० को विश्वकप जिताएर ब्राजिललाई चर्चामा पुर्‍याए। उनकै कारण ग्राहकको नजरमा पुमाको छवि सुधार भएर बिक्री बृद्धिमा सहयोग पुग्यो। पछि एडिडासले विभिन्न खेलहरूका लागि अनुकूल जुत्ता उत्पादन गर्दै अघि बढ्यो। रुडोल्फको परिष्कृत बिक्री दृष्टिकोणबाट प्रेरित पुमाले त्यसपछि दशकहरूमा एडिडासलाई पछ्याइरह्यो।

मृत्युपछि पनि सकिएन शत्रुता

रुडोल्फको सन् १९७४ र त्यसको ४ वर्षपछि एडोल्फको निधन भयो । उनीहरूको शत्रुता मृत्युपछि पनि कायम राह्यो। एउटै चिहानघारीमा उनीहरूको अन्त्येष्टि गरिए पनि उनीहरूको लासलाई टाढा टाढा गाडिएको थियो।

तर‚ लामो समयदेखि चलिरहेको झगडा अन्त्य गर्न प्रतीकात्मक रुपमा सन् २००९ मा दुवै कम्पनीका सदस्यहरू एक अर्काविरुद्ध मैत्रीपूर्ण फुटबलमा सहभागी भएका थिए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.