‘सरकारको भर छैन, कति दिन आश गर्नु’

|

काठमाडौं : कोरोना महामारीका कारण वैदेशिक रोजगारीबाट फर्किएकाहरूलाई लक्षित गरी सरकारले तयार गरेको योजना अलपत्र परेको छ। वैदेशिक रोजगार बोर्डका निर्देशक राजनप्रसाद श्रेष्ठका अनुसार बोर्डले करिब एक वर्षअघि कार्यविधि तयार पारी श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पठाएको थियो। तर‚ मन्त्रालयले त्यसलाई स्वीकृत नगर्दा योजना अलपत्र परेको हो।

२०७६ चैतमा नेपाललगायत नेपालीका श्रम गन्तव्य मुलुकमा कोरोना भाइरसले महामारीको रुप लिएपछि रोजगारीका लागि विदेशमा रहेका नेपालीहरूमध्ये कतिपयलाई सरकारले उद्धार गर्‍यो भने कतिपय आफ्नै खर्चमा स्वदेश फर्किएका थिए। सरकारले उनीहरूलाई लक्षित गरी स्वदेशमा नै रोजगारी वा स्वरोजगार बनाउने भनी पुनः एकीकरण योजना अगाडि सारेको थियो।

तर, कोरोनाको तेस्रो लहर आइसक्दा समेत पुनः एकीकरणका लागि तयार पारिएको कार्यविधि मन्त्रालयले स्वीकृत गरेको छैन।

चार मन्त्री फेरिँदा पनि पारित भएन निर्देशिका 

दुई वर्षमा चार मन्त्री फेरिए पनि कोभिड महामारीका कारण विदेशबाट फर्किएकाहरूका लागि तयार गरिएको कार्यविधि मन्त्रालयबाट स्वीकृत भएको छैन।

बोर्डले कार्यविधि पेस गर्दा रामेश्वर राय यादवले मन्त्रालय सम्हालेका थिए। उनीपछि गौरीशंकर चौधरी, विमलकुमार श्रीवास्तव आए। तर‚ उनीहरूको कार्यकालमा पनि कार्यविधि स्वीकृत हुन सकेन।

हाल मन्त्रालयको जिम्मेवारीमा कृष्णकुमार श्रेष्ठ छन्। तर, मन्त्रालयका सहप्रवक्ता थानेश्वर भुसालले कार्यविधि करिब एक महिनाअघि कानुन मन्त्रालय पठाइएको र त्यसबारे छलफल भइरहेको बताए। कानुन मन्त्रालयको सुझावकासहित मन्त्रिपरिषद्मा लैजाने तयारी भएको उनको भनाइ छ।

के छ कार्यविधिमा?

वैदेशिक रोजगार बोर्डले तयार पारेको कार्यविधिमा आर्थिक, रोजगारी र सामाजिक विषयलाई समेटिएको छ।

वैदेशिक रोजगारीमा गई स्वदेशमा नै व्यवसाय गर्नेहरुका लागि सरकारले निश्चित मापदण्डका आधारमा आर्थिक सहयोग गर्ने, विदेशमा सिकेको सीपलाई प्रयोग गर्ने वातावरण बनाउने साथै वैदेशिक रोजगारीमा समस्यामा परेर फर्किएकालाई समाजमा पुनःस्थापना गर्ने लगायतका विषय समेटिएको बोर्डका निर्देशक श्रेष्ठले बताए।

कार्यविधि तयार भएसँगै तीन तहका सरकारको भूमिका रहने श्रेष्ठको भनाइ छ। संघीय सरकारले नीति निर्माण गर्ने, प्रदेश सरकारले आर्थिक पाटो हेर्ने र स्थानीय तहले सहयोग गर्ने गरी कार्यविधि तयार पारिएको छ।

सरकारको भर छैन, कति दिन आश गर्नु!

गत मंगलबार त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा निधारमा रातो टीका, पिठ्युँमा सानो कालो झोला भिरेर रोजगारीको खोजीमा विदेश जान लागेका काभ्रेपलाञ्चोकका मनोज मोक्तान भेटिएका थिए। उनले नेपालमा रोजगारी नपाएकाले फेरि विदेश जानुपर्ने बाध्यता सुनाए।

उनी यसअघि २०७५ मा वैदेशिक रोजगारीका लागि पुगेका रहेछन्। निर्माण क्षेत्रमा काम गरिरहेका उनी कोरोना महामारीको मारमा परेर फर्किएका रहेछन्। 

‘राम्रै काम चलेको थियो, कोरोनाले बन्द भयो‚’ उनले त्यो बेला नेपाल फर्किनुका कारण सुनाए‚ ‘मरे पनि स्वदेशमा नै मरियोस् भन्नेले लागेर नेपाल आएँ।’

मनोजस्तै समस्यामा परी वैदेशिक रोजगारीबाट फर्किएकालाई लक्षित गरी सरकारले पुनः एकीकरण योजना अगाडि सारेको थियो। उनले पनि सरकारको सहयोगले नेपालमा नै केही गर्न सकिने आश गरेका थिए। तर‚ २ वर्ष बितिसक्दा पनि केही नभएपछि निरास हुँदै विदेशिनु परेको मनोजले सुनाए।

‘सरकारले हल्ला मात्र गर्ने रहेछ। हामी त्यही हल्लाको पछि लाग्यौं‚’ उनले भने, ‘स्वदेशमै केही गर्न आफूसँग लगानी गर्ने पैसा छैन, सरकारको भर छैन। सरकारको आशमा बसे भोकै परिन्छ।’

विज्ञ भन्छन् : सरकारको कदम गलत

सरकारले महामारीका कारण वैदेशिक रोजगारीबाट स्वदेश फर्किएकालाई फेरि विदेश जान बाध्य पारेको वैदेशिक रोजगार विज्ञहरुले बताउँदै आएका छन्। पछिल्लो समय सरकारले चर्चा गरेअनुसार काम गर्न नसक्दा त्यसको प्रत्यक्ष असर वैदेशिक रोजगारीमा देखिएको वैदेशिक रोजगार विज्ञ सोम लुइँटेल बताउँछन्। उनले भने, ‘सरकारले समयमा काम गर्न नसक्दा बाध्यताको रोजगारी बढेको छ।’  

स्वदेशमा रोजगारी गर्न चाहने युवा अवसरबाट बञ्चित हुँदा विदेशिनुपर्ने बाध्यता छ। सरकारले काम गर्न नसक्दा महामारीमा पनि विदेशिनेको संख्या बढ्दै गएको देखिन्छ।

कुन देशबाट कति स्वदेश फर्किए?

कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)का अनुसार कोरोनाका कारण रोजगारी गुमाएर ६१ देशबाट ५ लाख ९० हजार ३४५ जना नेपाली स्वदेश फर्किएका छन्।

कोरोना महामारी फैलिएसँगै २०७७ जेठयता युएईबाट १ लाख ६३ हजार‚ कतारबाट १ लाख ४९ हजार ५४ जना स्वदेश फर्किएका छन्।

त्यस्तै, मलेसियाबाट ६२ हजार १५४ जना‚ साउदी अरबबाट ५७ हजार २००, भारतबाट ४६ हजार ७ ५४, टर्कीबाट २२ हजार ११२ र कुवेतबाट ३१ हजार २३ जना फर्किएका थिए। 

जापानबाट १४ हजार २१२, ओमानबाट ७ हजार ७४३, सिंगापुरबाट ७ हजार १९८, चीनबाट ३ हजार ९३३, दक्षिण कोरियाबाट ३ हजार ९२३, हङकङ तथा मकाउबाट ३ हजार ६११, बहराइनबाट १ हजार ८०५, बंगलादेशबाट २ हजार ३१२ र माल्दिभ्सबाट १ हजार २५२ जना  स्वदेश फर्किएका थिए। 

कोरोनाका कारण रोजगारी गुमाएर करिब ६ लाख नेपाली स्वदेश फर्किएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको अनुमान छ। तीमध्ये ५ लाख सिसिएमसी र १ लाख कम्पनी तथा आफ्नै खर्चमा फर्किएको मन्त्रालयले जनाएको छ। तर, उनीहरूमध्ये कति पुनः वैदेशिक रोजगारीमा फर्किए र कति नेपालमै छन् भन्ने तथ्यांक सरकारसँग छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.