|

काठमाडौं : स्थानीय तहका जनप्रतिनिधिको आगामी जेठ ५ गते कार्यकाल सकिन लागेको छ।

स्थानीय तहको चुनाव गराउनै पर्ने चौतर्फी चर्को दबाबपछि प्रधानमन्त्री शेरबहादुर देउवा ०७९ जेठ ४ गते निर्वाचन गर्न तयार भएका छन्।

निर्वाचन आयोगसँग मंगलबार भएको परामर्शपछि प्रधानमन्त्री देउवाले निर्वाचनको मिति तय गरेका हुन्।

०७४ सालमा तीन चरणमा भएको निर्वाचन एकै चरणमा गर्ने गरी मिति तोक्न निर्वाचन आयोगले सरकारलाई सुझाव दिएको छ।

निर्वाचन आयोग र सरकारबीच निर्वाचन मिति तय भइसकेपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चुनावी गतिविधिलाई तीव्र बनाइसकेको छ।

तर, पाँचदलीय सत्ता गठबन्धनमा रहेका प्रधानमन्त्री देउवामाथि निर्वाचनलाई लिएर चर्काे दबाब छ।

गठबन्धनमा सामेल अन्य दलले आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने कसरत गरिरहेकाा भएपनि कांग्रेसको संस्थापनइतर पक्षले गठबन्धन तोड्न पार्टीभित्र दबाब बढाइरहेका छन्। 

तर, गठबन्धन कायम राख्न देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई अमेरिकी सहयोग परियोजना (एमसिसी)को च्याँखे थापेका छन्।

संशोधनबिना एमसिसी अगाडि नबढाउने प्रचण्ड-माधवकोअडानलाई देउवाले गठबन्धनको जाल फ्याँकेपछि अहिले दबाबमा छन्।

पार्टीभित्र एमसिसीलाई लिएर माओवादी र समाजवादीको ठूलो विवाद रहिरहेको बेलामा देउवाको प्रस्तावले अझ सकस बढेको छ।

अहिले देउवाले एमसिसीमा सहमति जुटाउन गृहमन्त्री बालकृष्ण खाँण र सञ्चार, सूचना तथा प्रविधिमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीलाई खुमलटार र कोटेश्वरमा सक्रियतापूर्वक पठाइरहेका छन्।

तर, प्रचण्ड-माधवले एमसिसी अहिल्यै अगाडि बढाउने अडानबाट देउवा पछि नहटे निर्वाचन पछि धकेल्नुपर्ने अर्को प्रस्ताव अघि सारेका छन्। 

जनस्तरबाटै एमसिसीविरुद्ध चर्को दबाब बढिरहेको वेलामा सरकारले एमसिसी र स्थानीय तहको निर्वाचन एकैपटक लान नसक्ने विश्लेषकहरू बताउन थालेका छन्।

गठबन्धनमै एमसिसीको दाउपेच चलिरहेको हुनाले तोकिएकै समयमा निर्वाचन हुनेमा आशंका व्यक्त गर्न थालिएको छ। 

यही विषयमा आज मात्रै देउवासँग प्रचण्ड र माधव नेपालले छलफल गरेका थिए।

भेटवार्तापछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले अनेरास्ववियुद्वारा आयोजित रक्तदान कार्यक्रममा भने, ‘हामी जनताका निम्ति राजनीति गरेर समाजवादको यात्रामा अघि बढिरहेका छौँ। दिनदिनै पत्रिकामा अनेक समाचार सुनेर कतिपयको दिमाग खराब हुने गरेको छ। दिमाग खराब गर्ने काम नगराउनुस्। यो गठबन्धन फुट्नेवाला छैन। कसैले टुटाउन खोजे पनि गठबन्धन फुट्नेवाला छैन।’

गठबन्धन टुटाउने प्रयास भइरहेको भए पनि गठबन्धन सरकारलाई टुट्न नदिने र जेठमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन सरकार मिलेर प्रतिस्पर्धा गर्ने दाबी गरे।

आजकै भेटमा पनि गठबन्धनलाई बलियो बनाएर लैजाने सहमति बनेको उनको भनाइ छ। 

देउवाको भय

प्रधानमन्त्री देउवालाई अहिले तत्काल एमसिसी अगाडि लगेर संविधानअनुसार नै तोकिएको समयमा चुनाव गराउन चाहन्छन्।

तर, गठबन्धनको आडमा प्रधानमन्त्री बनेका देउवालाई अहिले तत्काल तोड्नसक्ने परिस्थिति बनेको छैन। तर, उनीमाथि पार्टीभित्रबाटै चर्को दबाब छ।

पार्टीभित्रै चर्को दबाब बढीरहेको भएपनि प्रधानमन्त्री देउवाले व्यक्तिगत रुपमा तत्काल गठबन्धन तोड्ने पक्षमा छैनन्।

गठबन्धन टुट्दा ०७४ सालको निर्वाचनमा झैं फेरि कम्युनिष्टहरू एकजुट हुनसक्ने देउवालाई भयले गाँजेको छ। 

यसअघि पनि आफ्नै नेतृत्वको सरकारले निर्वाचन गराउँदा कम्युनिष्टहरू एक हुँदा आफ्नो पार्टी कमजोर बनेको देउवाको बुझाइ छ। 

लोकतन्त्र र संविधान रक्षाका लागि तय भएको हुनाले गठबन्धनबारे अहिल्यै प्रधानमन्त्रीले कुनै निर्णय नगरेको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखक बताउँछन्। 

उनी भन्छन्, ‘गठबन्धनको विषयमा पार्टी नेताहरूले नै प्रश्न उठाउन थाल्नुभएको कुरा सत्य हो। तर, उहाँ अहिले गठबन्धन टुटाउने पक्षमा देखिनुभएको छैन।’

स्थानीय तहको निर्वाचनमा कसरी जाने भन्ने विषयमा पार्टीभित्र छलफल गरेर मात्र तय हुने उनको भनाइ छ। 

प्रधानमन्त्री देउवा यही भयले गठबन्धन तत्काल तोड्न नहुने मनस्थितिमा देखिएको भएपछि कांग्रेसका शेखर कोइराला पक्ष कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा एकमत छ।

०७४ सालको निर्वाचनमा पनि माओवादीसँग आलोपालो सत्तामा रहेको बेलामा प्रचण्डले एमालेसँग एकतासहित गठबन्धन गरेपछि कांग्रेसलाई धक्का लागेको थियो। तर, कम्युनिष्ट एकता लामो समय टिक्न सकेन।

त्यसो त संविधानको व्यवस्थाअनुसार स्थानीय तहको निर्वाचन गर्न आफूहरू प्रतिबद्ध भएको माओवादी नेता देव गुरूङ बताउँछन्। 

उनी भन्छन्, ‘गठबन्धनमा परामर्श गरेर प्रधानमन्त्रीले निर्वाचनको मिति तय गर्नुभएको छ। लोकतन्त्र र संविधानको रक्षाका लागि निर्माण भएको गठबन्धन भएकाले सोहीअनुसार हामी चल्छौँ।’

आगामी निर्वाचनसम्म गठबन्धनलाई लानेबारे सबै सकारात्मक भएको उनको भनाइ छ। 

एमालेलाई लागिसक्यो चुनाव

यता, दुई पटक प्रतिनिधिसभा विघटन गरेर निर्वाचनमा हाम्फाल्न खोजेको नेकपा एमालेले निर्वाचनको तयारीमा जुटिसकेको छ।

भक्तपुरमा आज बसेको केन्द्रीय सचिवालयको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचन समयै गराउनुपर्ने भएकाले तयारीमा जुट्न निर्देशनसमेत दिइसकेका छन्। 

‘संविधान र कानुनी आधारलाई मान्दा यही फागुनभित्र निर्वाचन गरिसक्नुपर्ने हो। तर, गठबन्धनको सरकार संविधान कार्यान्वयनभन्दा स्वार्थमा केन्द्रीय रह्यो,’ ओलीको भनाइ थियो। 

एमाले महासचिव शंकर पोखरेलले एमालेको आशलाग्दो यात्रा देखेर पाँचदलीय गठबन्धन बनेको आरोप लगाए।

उनले फेसबुकमा लेखेका छन् ‘जनादेशको सम्मान, राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशलाग्दो यात्रामा अघि बढ्दो एमालेको बढ्दो शक्ति र लोकप्रियता रोक्न बनेको हो पाँचदलीय गठबन्धन।’

महासचिव पोखरेलले आगामी तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुने भएकाले नयाँ जनादेशको विकल्प नभएको उनको भनाइ छ।

चुनावमा एजेण्डाविहीन गठबन्धनले नभइ जनताका पक्षको एजेण्डाले जित्ने दाबी गरेका छन्।

‘एजेण्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेण्डाबाट नै चुनाव जित्ने हो। अब सिंगो पार्टी पंक्ति विगतमा हामीले गरेका राम्रा काम र गर्न चाहेको कामको फेहरिस्त बोकेर जनताका बीचमा जाऔं’ उनले लेखेका छन्, ‘जनताको फैसला सत्य र न्यायको पक्षमा हुनेछ।’

एमालेले निर्वाचनको मिति तय गरेसँगै तल्लो तहसम्मका नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन निर्देश गरिसकेको छ। 

सम्भावित गठबन्धन 

निर्वाचनलाई लिएर राजनीतिक दलहरूबीच दाउपेच चलिरहेको वेलामा स्थानीय तहको निर्वाचन जेठमै हुने देख्छन् राजनीतिक जानकार श्याम श्रेष्ठ।

उनी भन्छन्, ‘निर्वाचन जेठमा गर्न नसकिने भन्ने कुनै कारण छैन। सबैले चुनाव चाहिरहेकै छ। तर, जुन अहिले गठबन्धनको कुरा छ। त्यो अहिले भन्न सक्ने अवस्था छैन। गठबन्धनको विषय एमसिसीको हातमा पुगिसक्यो।’

प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष केपी ओलीलाई धेरै विश्वास गर्ने भएकाले अहिलेको गठबन्धन कायमै रहनसक्ने बलियो सम्भावना रहेको उनको बुझाइ छ। 

‘तत्कालै गठबन्धन टुट्ला भन्ने सक्ने अवस्था छैन। लामो समय टिकिसक्यो। देउवामात्र नभएर ओली भरोसायुक्त नेता होइन भन्ने कुरा कम्युनिष्ट वृत्तमा छ,’ उनी थप्छन्, ‘०७४ सालको निर्वाचनमा कांग्रेससँग सत्ता सहकार्य गरेकै बेलामा प्रचण्डले ओलीसँग गठबन्धन गरेका थिए। त्यसलाई राजनीतिमा स्वाभाविक रुपमा लिइन्छ पनि।’

एमसिसीले गठबन्धनमा एकमत भइनरहेका वेलामा यही हुन्छ भनेर भन्न सकिने अवस्था नभएको उनको भनाइ छ। 

त्यसो त राजनीतिका जानकार श्रेष्ठले गठबन्धनबारे आँकलन गर्न मुस्किल परिरहेको बताएपछि आगामी निर्वाचनमा गठबन्धनको विकल्पबारे विभिन्न आँकलन गर्न थालिएको छ। 

प्रचण्ड-माधवको मात्र नभएर जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको रणनीतिअनुसार विकल्प यस्ता छन्ः

पहिलो : विकल्प हो- पाँचदलीय भर्सेस नेकपा एमाले। त्यसमा अहिले एमसिसी बाधक बन्नसक्ने देखिएको छ।

भलै, गठबन्धनका नेताहरूले यसलाई स्वीकार गरेका छैनन्। तर, एमाले अध्यक्ष ओलीले गठबन्धन फुटाउने उपयुक्त मौका खोजेर खेलिरहेका छन्। 

दोस्रो : विकल्प हो- एमसिसीकै कारण गठबन्धन टुटे कांग्रेस, एमाले एक्लाएक्लै चुनाव लडे माओवादी, एकीकृत समाजवादी, जसपा र जनमोर्चाको समीकरण बन्नसक्छ। 

तेस्राे : विकल्पमा एमाले पनि एक्लै चुनावमा नगएर अन्य प्रदेशमा नभए पनि मधेश प्रदेशमा महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीसँग हात मिलाउन सक्छन्।

गएको माघ १२ गते भएको राष्ट्रियसभाको निर्वाचनमा पनि यो अभ्यास ओलीले गरिसकेका छन्।

०७४ सालको निर्वाचनमा एकजुट भएका ओली र प्रचण्ड एकतामै टिक्न नसकेका कारण तत्काल दुई दलबीच सहकार्य हुने सम्भावना न्यून देख्छन् राजनीतिक जानकार श्रेष्ठ।  

संविधानअनुसार नै निर्वाचन गर्नुपर्ने भएकाले कांग्रेसले गठबन्धनबाट बाहिर गएपनि कुनै डर नभएको बताउँछन् जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी। 

उनी भन्छन्, ‘राष्ट्रियसभाको निर्वाचनमा गठबन्धन गरेकै कारणले प्रतिगमन परास्त गर्न सफल भएका थियौँ। यसलाई जोगाउन पाए राम्रो हुन्थ्यो। तर, हामी राष्ट्रियता विरुद्धको सवालमा कुनै सहमति जनाएर गठबन्धनमा बस्न सक्दैनौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.