एक व्यक्ति ज्ञानवान हुनका लागि तीन उत्तम शिक्षक माता, पिता र आचार्य उसको जीवनमा हुनुपर्दछ। सबै शास्त्रमा महिलाको सम्बोधन र स्थान अग्रपंक्तिमै आउँछ। शास्त्रमा भनिएको छ-
अथ शिक्षा प्रवक्ष्यामः
मातृमान् पितृमानाचार्यवान पुरूषो वेदः
कुरा शास्त्रको र इतिहासको मात्रै होइन‚ आज पनि प्रत्येक घरमा र प्रत्येकको जीवनमा पनि त आमा उच्च स्थानमा छन्। र‚ भविष्यमा पनि रहिरहने छन्। यसबेला स्वस्थानी महिना चलिरहेछ। जसलाई महिलासँग जोडेर अनेक प्रकारका अभिव्यक्ति आइरहेका छन्।
वेद, पुराण वा हिन्दु धर्मशास्त्रमा महिलाको सौन्दर्य, वीरता, विद्वताबारे प्रशस्त वयान गर्दै उच्च स्थानमा राखिएको पाइन्छ। महिलाले समाजमा हुने विभिन्न गतिविधिमा कुशल नेतृत्व प्रदान गरेको हाम्रो धर्म र इतिहासले समेत देखाउँछ।
हिन्दु सनातन धर्मका ग्रन्थहरूमा महिला शक्तिको उदाहरण हेर्दा देवी दुर्गाको रुपमा महिलाको भूमिका प्रमुख देखाइएको छ। दुर्गाको शक्तिको तुलना ब्रह्मासँग गर्दै महिलाको ऊर्जा र शक्तिलाई उच्च स्थान दिइएको छ। समाजमा रहेको शान्ति, समृद्धि तथा धर्ममा आघात गर्ने राक्षसी प्रवृत्तिलाई विनाश गर्ने शक्ति नै महिलाको शक्ति भनेर उल्लेख गरिएको हो।
सरस्वतीको रुपमा विद्याकी देवी अर्थात् दिव्य ज्ञानले भरपुर शक्तिको रुपमा पनि महिला शक्तिलाई नै लिइन्छ। विद्या, ज्ञान विज्ञान, कला, साहित्य र संगीतको सुन्दरता भनेकै देवी शक्तिको पर्याय हो भनिन्छ। ब्रह्मा, विष्णु र महेशले समेत सरस्वतीबाटै शिक्षा प्राप्त गरेका हुनाले जगत जननीको रुपमा महिला नै छन्।
हामीले पुज्ने गरेकी अर्की देवी लक्ष्मीलाई धन, समृद्धि र सुन्दरताकी देवी मानिएको छ। यिनमा चौरासी कला थियो भनेर हाम्रो धर्मशास्त्रले वर्णन गर्दछ। सौभाग्य, समृद्धि, सफलता, सम्पन्नता, र सुन्दरताको अर्थमा पनि लक्ष्मी शब्दको उपयोग हुने गर्दछ।
महिलाका कष्ट र शास्त्र
जताततै महिलाको भूमिका उच्छ हुँदाहुँदै पनि सीता र रामको प्रसंग आउँदा सीताले उनको जीवनमा भोग्नु परेको कष्ट र अपमान सहनु परेको कुरालाई अहिलेको महिला अधिकारसँग तुलना गरेर हेर्ने गरिन्छ।
आदर्श नारीका रूपमा चर्चित सीताले रावणको नजरबन्दमा रहेबापत अग्निपरीक्षा दिएर मात्र आफूलाई पवित्र सावित गर्नुपर्ने अवस्था आएको थियो। त्यतिले नपुगी निर्वासन र अन्त्यमा धर्तीभित्र पसेर उनले आफ्नो देहत्याग नै गर्नुपर्यो भनेर अहिले महिला माथिको अपमान र दोस्रो दर्जाको पहिचान भन्दै आन्दोलनमै उत्रिनेसम्मको हर्कत देखाउन पछि परेका हुन्।
इतिहासको जीवनशैली, संस्कार र परिवेशलाई अहिले तुलना गरेर कहाँ हुन्छ र? अहिले कुन सीता अग्नि परीक्षा दिन तयार हुन्छिन्? त्यसैले विगतका कथाबाट पाठ सिक्ने र विकासको क्रमसँगै आजका महिलामा आएको रूपान्तरण र महिला सशक्तीकरणका उदाहरणलाई कथा बनाएर प्रस्तुत गर्नु जरुरी हुन्छ।
स्वस्थानीमा महिलाको स्थान
हिन्दु महिलाले प्रत्येक वर्ष एक महिनासम्म स्वस्थानीको ब्रत बसी पूजा आराधना गरी स्वस्थानी माताको कथा सुन्छन् र सुनाउँछन्। त्यो कथाको मुख्य मर्म भनेको महिला सधैं त्यागी, चरित्रवान, आफूलाई दोस्रो कोटिमा राखेर अरुको सेवामा तल्लिन हुनुपर्ने कुरालाई जोड दिइएको छ।
स्वस्थानीले महिलामाथि अन्याय गरेको छ भन्ने सुनिन्छ। कथामा उल्लिखित सामग्रीको आधारमा वैवाहिक सम्बन्धलाई निर्वाह गर्न हरेक महिला पात्रले बडो कठोर तपस्या गर्नुपरेको छ भनिन्छ। महिलाले त्यो कष्ट सामना गर्न सकेनन् भने शारीरिक र मानसिक प्रताडनाका साथै घोर पापको डर देखाइएको छ भनिन्छ।
तर, अहिलेको समयमा आएर त्यो परिस्थिति भोग्न र व्यहोर्न महिलाहरूलाई आवश्यकता र दवाव दुबै छैन। जहाँसम्म नेपाली हिन्दु समाजमा विवाहित महिलाले सधैँ परिवारमा त्याग, स्याहारसुसार, विवाहपछि जोडिएर आउने प्रत्येक सम्बन्ध र कर्तव्य निर्वाह गर्न कठोरभन्दा कठोर परिस्थितिको सामना गर्नुपर्ने अवस्था छ।
मनोरञ्जन गर्ने चलचित्र कम्प्युटर मोवाइल पत्रपत्रिका रेडियो टेलिभिजन र साक्षर हुने विद्यालय समेत यथेष्ठ नभएका समयमा स्वस्थानी पढ्ने सुन्ने कुराको महत्व कति थियो भन्ने कुरा अहिले विरोध गर्नेहरूले कल्पना पनि गर्न सक्दैनन्। सक्ने भए शायदै बिरोध हुन्थ्यो होला। यसो भन्दैमा यसका धेरै कुरा सापेक्ष छैनन्। तर हामीले पार गरेर आएको समयको अध्ययन गर्न स्वस्थानी महत्वपूर्ण ग्रन्थ हुनसक्छ।
कतिपय कुरालाई नकारात्मक अर्थसँग नजोड्ने हो भने एक बुहारी घरमा भित्रिनासाथ त्यो घरलाई प्रेमपूर्ण र सुन्दर बनाउन कति धेरै जिम्मेवारी र कर्तव्यबोध हुने रहेछ भनेर अनुमान गर्न सकिन्छ।
नयाँ घर र परिवारमा भित्रिएर पनि आफ्नो भूमिका महत्त्वपूर्ण हुनु गौरवको रुपमा लिन सकिन्न र? यसमा कसरी आफ्नो व्यक्तिगत जीवनको परवाह नहुनु, परिवारका सदस्य र आफन्तले भक्तिभावयुक्त, आदर्श महिलाको अपेक्षा गरेका हुन्छन् भनेर नकारात्मक भ्रम फैलाउनुभन्दा एउटी महिलाको भूमिकाले कति धेरै महत्त्व राख्दो रहेछ भनेर गर्व गर्नुपर्ने हो।
स्वस्थानी कथामै सतीदेवीलाई आदिशक्ति दुर्गादेवी मानिन्छ र आराधना गरिन्छ। विष्णुले आफूले बिहे गर्ने भनेर मागेकी उनै सतीदेवीलाई छल गरेर महादेवसँग विवाह गराइदिन्छन्। सतीदेवीको यही विवाह प्रसंगलाई कथामा अतिरञ्जित तरिकाले बुनिएको छ। सतीदेवीमार्फत यस ब्रतकथामा रोगी र वृद्धसँग बिहेपश्चात् रित्तो झुपडीमा लगातार चार दिनसम्म आफू निदाउने र निद्राबाट उठेपछि तथानामको गाली गर्दा पनि हँसिलो मुहार लगाएर मुस्कुराउनुपर्ने विडम्बनालाई टिठलाग्दो तरिकाले उल्लेख गरिएको जस्तो लाग्छ।
आफ्नो कोसँग विवाह भयो, विवाहपश्चात् कहाँ जाने भन्ने कुरा समेत थाहा नभई बिलखबन्दमा पर्ने अवस्था सतीदेवीको छ स्वस्थानी ब्रतकथामा। तर, त्यो स्वस्थानीको महिलामाथिको कथामा मात्र सीमित नभएर तत्कालीन समय, परिस्थिति र संस्कारको व्याख्यालाई अहिले हामी महिलाहरूमा कति धेरै परिवर्तन आइसक्यो भनेर सकारात्मक धारणाले हेर्न सकिन्न र?
कुन सतीदेवी अहिले त्यो परिस्थिति र सुझाव मान्न तयार छन् अनि हामीले किन स्वस्थानीको गलत व्याख्या गरेर रमाउनु छ? महिलाले पाइलापाइलामा कडाभन्दा कडा परीक्षाको सामना गर्नुपर्ने, सबै परीक्षामा सफल हुनैपर्ने सन्देश दिइएको भन्दै नकारात्म्नक व्याख्यामा रुची देखाइन्छ।
कथा आखिर कथा नै हो‚ त्यसलाई सकारात्मक सन्देश र महिलाको क्षमतालाई उजागर गरिएको पक्षसँग तुलना गरेर हेरौं न‚ महिलाको पारिवारिक, सामाजिक र आध्यात्मिक भूमिकाको व्याख्यालाई मानवीय संवेदनाको रूपमा महिलाको स्थानलाई जोडेर सकारात्मक व्याख्या गरिनु जरुरी छ।
बितेको परिस्थिति सच्याउन सकिन्न। तर‚ कथा सच्याउनु जरुरी छ। बाल्यकालदेखि नै महिलालाई पूर्वजन्मको त्रास देखाइएको हुन्छ। यस्ता भ्रामक धारणालाई पनि विश्वास गर्नु जरूरी छैन। नकारात्मक धारणा र प्रचारप्रसारले महिलाको मनोविज्ञानलाई कमजोर बनाउने प्रयास गर्नुभन्दा सबै सामाजिक र धार्मिक नियमहरू महिलाको विपक्षमा छैनन् भन्ने सन्देश प्रसार गर्नु जरुरी देखिन्छ।
पुरुषको हकमा वैवाहिक सम्बन्ध निर्वाह गर्ने माध्यम हो। पुरुषले वंश परम्परालाई र स्वयं आफूलाई केन्द्रमा राखेर कर्म गर्नुपर्ने मनोविज्ञान धार्मिक कथामा उल्लेख गरिएका सबै कुरा सत्य मान्नु हिन्दु नारीहरू आफ्नो धर्म ठान्छन् भन्ने व्याख्यालाई फरक ढंगले हेरिनु पर्दछ। किनभने प्रत्येक घरमा आधुनिक समयमा आफ्नी आमा, श्रीमती, छोरी, दिदीबहिनी र भाउजूहरूप्रति सबै पुरुषले प्रेम र सम्मान व्यक्त गरेका हुन्छन्।
यदाकदा घर बिग्रिनेहरूले पूरै समाज, पुरुष वर्ग र धर्म शास्त्रलाई दोषी ठहर्याउनु पटक्कै बुद्धिमानी हुनेछैन। आफ्नो घर, परिवार र आफन्तसँगको सुमधुर सम्बन्ध बनाई जीवनलाई प्रेमपूर्ण बनाउनमा महिलाकै भूमिका बढी रहन्छ। किनकि‚ यो महिलाको गुणवत्ता हो। यसमा महिला पुरुष बराबरी हक खोज्न थाल्यौं भने आफूसँग भएको पनि गुम्न जान्छ।
प्रत्येक घरमा प्रेम र सुमधुर सम्बन्ध बनी राख्यो भने अराजकता र विभेद कहाँबाट आउँछ र? यसका लागि प्रज्ञावान हुनु जरुरी छ। प्रत्येक सफल पुरुषको पछाडि महिलाको भूमिका महत्वपूर्ण हुन्छ भन्नुको तात्पर्य नै यहि हो कि महिला महिला जस्तै भएको सुहाउँछ।
गोमा र शिव शर्माको विवाह प्रसंग
स्वस्थानी कथामै एउटा प्रसंग आउँछ‚ सात वर्षकी अबोध बालिका गोमालाई सत्तरी वर्षको बूढो शिव शर्मासँग विवाह गरिदिएको। एक अबोध बालिकालाई अनमेल विवाह गराइदिएर भाग्यलाई दोष लगाई शिव शर्माप्रति पतिभक्तिका साथ रहेको देखाइएकोमा धेरै गुनासायुक्त प्रस्तुति सुन्नमा आउँछन्। यसलाई शिव शर्मा ब्राह्मणको अभिभावकीय भूमिका र गोमाको भक्तिलाई प्रेम र समर्पण मान्न पनि त सकिन्छ।
आज कसका बाआमाले उमेर नपुगेकी छोरीलाई अनमेल विवाह गराउन सक्छन् र? हाम्रा कानुन, चेतनाको स्तर धेरै विकास भइसकेको छ। बालविवाहविरुद्धका अभियान चलेका छन्। सन्तान ईश्वरका वरदान भन्ने कुरा आत्मसात् भएको छ। छोरा र छोरीको विभेद क्रमशः हट्दै गएको छ। कहीं कतै बाँकी रहे पनि बिस्तारै हट्ने समय आउनेछ।
कथाको चिन्ता किन अवस्था सुधारौं
एउटा आलेख पढेको थिएँ– धार्मिक कथाका अधिकांश छोरीहरू आमाको कोखबाट जन्माइएको छैन। उदाहरणका लागि स्वस्थानीकी गोमा गोबरबाट, रामायणकी सीता जमिनबाट, महाभारतकी द्रौपदी आगोबाट उत्पत्ति भएका छन्।
अनि सबैजसो कथामा चरम यातना, चरम अपमान, चरम आदर्शका कुरा, सधैँ महिलाले नै सहनुपर्ने कुरा देखाइएको छ। कर्म, भाग्य र धर्मको आडमा पुरुषहरूले नारीहरूमाथि शासन गर्छन्।
कथाहरूमा जति ठूलो अन्याय अत्याचार गर्दा पनि पुरुष पात्रलाई पाप नलाग्ने, सानो घटनाले पनि ठूलो सजायको भागिदार महिला मात्र हुनुपर्ने देखाइएको छ। मानसिक तथा शारीरिक यातनाको चरम रुप देखाइन्छ।
विष्णुले वृन्दालाई छल गरेर सतित्व लुट्छन्। तर पनि यसको सजाय विष्णुले होइन वृन्दाले भोग्नु परेको छ। एकातिर स्वस्थानी देवीलाई आदिशक्ति भनिएको छ। ती देवी पनि महिला नै हुन्। तर सतीदेवी, गोमा, वृन्दा, चन्द्रावती, सतीनागिनीले खेपेको चरम दुःख र यातनालाई खुशीसाथ स्वीकार्नुपर्ने, नस्वीकारे अर्को जुनीमा भए पनि भोग्नुपर्ने, पाप पखाल्न ब्रत लिनुपर्ने पाठ पढाइएको छ।
त्यतिमात्र नभएर स्त्री जातिले आफ्ना पुरुषलाई रिस गरे अर्को जुनीमा टेढी हुने। पुरुषको वचन नमाने पक्षाघाती हुने। पुरुषसित मुखलागे लाटी हुने। पुरुषसँग द्रोह गरे गोही हुने भनेर लेखिएको स्वस्थानी ब्रतकथा आज पनि एक महिनासम्म पढिन्छ।
यदि छोरीहरू नै आमाको कोखबाट नजन्मी नक्कली कथा बनाइएको छ भने बाँकी अपहेलनाका कथा कसरी सत्य भए? ती कथा अहिलेको सन्दर्भमा ज्ञान र बुद्धिका स्रोत बन्दैनन् पनि।
अर्को प्रसंगमा स्वस्थानी माताको प्रसादको रुपमा पकाएको आठ रोटी छोरा भए छोरालाई दिनु। छोरा नभए मीत छोरालाई दिनु। मीत छोरा पनि नभए गंगामा बगाइदिने उपदेशले मीत छोरालाई सन्तानका रूपमा मानिएको छ। तर‚ आफ्ने छोरीलाई सन्तानको रुपमा मानिएको छैन भन्ने कुराको घोर विरोध हुने गरेको छ।
अहिले कसले गर्छ व्यावहारिक रूपमा यस्तो व्यवहार? अहिले छोरीहरूले बाआमाको लास काँधमा बोकेर घाट पुर्याउने र दाग बत्ती दिएर किरिया बस्ने प्रचलन आइसकेको छ। फेरि पनि हामी कथा कथामै बाँच्ने? बिगतको कुरा सत्य असत्य जे होस् अब हामी राम्रो गरौं। बिगतलाई सराप्नाले मात्र हुन्छ चाहिं के?
तपाईंको ईमेल गोप्य राखिनेछ ।