|

काठमाडौं : सरकारसँग दाखिल भएको २४ लाख खोप हराएको खबरले सरकारको आलोचना भइरहेका वेला त्यसको खोजीका लागि बनेको समितिले आफ्नो काम अगाडि बढाएको छ। हराएको खोप भेटिए पनि थप खोप आयात नभए सबैलाई खोप लगाउने लक्ष्य तत्काल पूरा हुने देखिदैन।

गत माघ ४ गते प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा मन्त्रालयका सचिव डा. रोशन पोखरेलले २० देखि २५ लाख मात्रा खोपको कहीँ कतै रेकर्ड नै नभेटिएको बताएपछि यो विषय चर्चामा आएको थियो।

सो २४ लाख डोज खोपको तथ्यांक नभेटिएको कुरा सार्वजनिक भएपछि मन्त्रालयले यसबारे छानबिन गर्न मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीको संयोजकत्वमा समिति बनायो।

मन्त्रालयका प्रमुख जनस्वास्थ्य प्रशासक यशोदा अर्याल, उपसचिव अनिल थापा, उपस्वास्थ्य प्रशासक डा. अभियान गौतम र सदस्यसचिवमा वरिष्ठ स्वास्थ्य प्रशासक डा. गुणनिधि शर्मा सहितको छानबिन समितिले २ सातामा प्रतिवेदन हराएको खोपबारे छानबिन प्रतिवेदन दिनुपर्ने छ।

खोपको अभिलेख उपलब्ध गराउन सरकारको निर्देशन

हाल छानबिन समितिले हराएको २४ लाख मात्रा खोप खोजिरहेको छ। यसका साथै मन्त्रालयले कोभिड–१९ विरुद्धको खोपको मौज्दात र कोभिड–१९ विरुद्ध खोप लगाएका सबै व्यक्तिको अभिलेख उपलब्ध गराउन निर्देशन दिएको छ।

मन्त्रालयले स्वास्थ्य सेवा विभागअन्तर्गतको व्यवस्थापन महाशाखा, ७ वटै प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, जिल्लास्थित ७७ वटै स्वास्थ्य कार्यालय, ७५३ वटै स्थानीय तहलाई माघ २१ गतेसम्म खोपको तथ्याङ्क डीएचआईस–२ प्रणालीमा अनिवार्य प्रविष्ट गर्न निर्देशन दिएको हो।

कहाँ छ त हराएको २५ लाख डोज खोप?

हराएको २५ लाख खोप कहाँ छ र कसरी प्रयोग भयो भन्ने कुरा अहिले यकिन भन्न नसकिने स्वास्थ्य मन्त्रालयका अधिकारी बताउँछन्। ‘अहिले नै सो खोप कहाँ गयो भन्न सकिदैन तर सुरुमा खोप अभाव भएका वेला लुकीछोपी सोही खोप लगाउँदा खोप रेकर्डमा नआएको हुनसक्छ’‚ मन्त्रालयका एक उच्च अधिकारीले भने।

यता खोप हराएको सूचना बाहिर आएपछि केही समयअघि नै स्वास्थ्य मन्त्रालयका पूर्वप्रवक्ता प्रा डा. जागेश्वर गौतमले कर्पोरेट हाउसमा गएर खोजे ती खोप भेटिने बताएका थिए।

सामाजिक सञ्जाल ट्विटरमा गौतमले लेखेका थिए, ‘हराएको २०–२५ लाख डोज भ्याक्सिन पत्ता लगाउन कन्सल्ट्याण्ट नियुक्त गरेर प्रदेश, जिल्ला र पालिका पठाउने, कर्पोरेट हाउसतिर खानतलासी गरे पुग्छ, रेकर्ड नराखी भ्याक्सिन लगाउनेलाई अर्को वर्ष पदक पक्का!’

यता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अधिकारीहरूले पनि कर्पोरेट हाउसमा एक हजार रुपैयाँका दरले खोप बिक्री भइरहेको सूचना आफूकहाँ आएको बताउँदै आएका छन्।

खोप हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री खतिवडाविरुद्ध अख्तियारमा उजुरी

यता कोरोनाविरुद्धको खोप हिनामिना गरेको भन्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी  परेको छ।

एमाले निकट युवा संघले स्वास्थ्यमन्त्री खतिवडाले कोरोनाविरुद्धको खोप गायब बनाएर राज्यको २ अर्ब ४० करोड हिनामिना गरेको भन्दै आयोगमा मंगलबार उजुरी दर्ता गरेको हो।

'स्वास्थ्यमन्त्री  विरोध खतिवडाले जिम्मेवारी वहन गरेपछि २४ लाख डोज भ्याक्सिन हिनामिना गरी करिब २ अर्ब ४० करोड राज्यकोषको रकम हिनामिना गरेको हुँदा मन्त्री खतिवडा तथा यस कार्यमा संलग्न अन्य व्यक्तिउपर छानबिन गरी भ्रष्टाचार निवारण ऐन बमोजिम हदैसम्मको कारबाही गरी पाऊँ'‚ राष्ट्रिय युवा संघ नेपालका सहसंयोजक सञ्जीवकुमार झा (सुरज)ले अख्तियारमा दिएको उजुरीमा भनिएको छ।

ओलीको प्रश्न २४ लाख खोप कहाँ गयो?

एमालेले २४ लाखभन्दा बढी मात्रा खोप हराएको,अहिले पनि हजारौँ नागरिक अझै खोपबाट वञ्चित रहेको भन्दै कोरोना महामारीको नियन्त्रणमा सरकार गैरजिम्मेवार देखिएको एमाले अध्यक्ष केपी ओलीले बताउँदै आएका छन्।

२४ लाखभन्दा बढी खोप हराएको सरकारी अधिकारीहरूले नै स्वीकार गरेको भन्दै एमाले अध्यक्ष ओलीले भनेका छन्, ‘कहाँ गयो त्यति धेरै मात्राको खोप? कसले लुकायो वा बेच्यो? यसका लागि को जिम्मेवार छ?’

हालसम्म कतिले लगाए खोप?

मन्त्रालयको विवरणअनुसार कोरोनाविरुद्धको खोप अभियान सुरु भएको एक वर्षको अवधिमा हालसम्म ४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप आएको छ।

यस्तै हालसम्म कुल जनसंख्याको ६८ प्रतिशतले पहिलो मात्रा खोप लगाएका छन्। ५१ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।

लक्षित जनसंख्याको ८६ प्रतिशतले एक मात्रा खोप लगाएका छन्। ७० प्रतिशतले पूर्ण खोप लगाएका छन्। 

यस्तै हालसम्म ४ लाख ९४ हजार १५४ जनाले कोरोनाविरुद्धको अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाएको मन्त्रालयको विवरणमा उल्लेख छ।

सरकारले आगामी चैतसम्म लक्षित संख्यालाई पूर्ण खोप लगाइसक्ने लक्ष्य लिएको छ।

अहिलेसम्म आयात भएको खोप र अहिलेको करिब ३ करोड जनसंख्यामा खोप अनुमति नपाएका बालबालिकाको संख्या घटाउने हो भने पनि झन्नै पचास लाख खोप अपुग हुने देखिन्छ। हराएको भनिएको २४ लाख खोप समेतको हिसाब नदेखिए पचहत्तर लाख मात्रा खोप अपुग हुनेछ।

पुस १२ गते पनि नेपालमा पाँच लाखभन्दा बढीले खोप लगाएका थिए। त्यो दिन साढे पाँच लाखजनाले खोप लगाएका थिए।

पछिल्लो समय कोरोनाविरुद्धको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ देखिएपछि सरकारले खोप अभियानलाई तीव्रता दिन भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘५ लाख प्रतिदिन, १५ दिन अभियान’ सुरु गरेको थियो।

पुस १२ गते भने एकै दिन साढे पाँच लाखजनाले खोप लगाएका थिए। यो नेपालमा कोरोनाविरुद्धको खोप अभियान सुरु भएपछि एकै दिन खोप लगाउने सबैभन्दा धेरै संख्या हो।

कुन खोप कसरी आयो?

४ करोड ५७ लाख ८ हजार ६४० मात्रा खोप आएको छ‚ जसमध्ये १ करोड २० लाख मात्रा खोप मात्रै सरकारले खरिद गरेको हो। २० लाख मात्रा कोभिसिल्ड र १ करोड मात्रा भेरोसेल गरी कुल १ करोड २० लाख खोप नेपाल सरकारले खरिद गरेको हो।

बाँकी खोप विभिन्न दातृ राष्ट्र निकाय, कोभ्याक्स सुविधा, विश्व बैंकको ऋण सहुलियतमा प्राप्त भएको हो। अहिलेसम्म नेपालमा कोभिसिल्ड, भेरोसेल, जन्सन, एस्ट्राजेनेका, फाइजर बायोन्टेक र मोडर्ना खोप नेपाल भित्रिएको छ।

स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाअन्तर्गतको आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिलेसम्म कोभिसिल्ड ९८ लाख ८७ हजार आएको छ।

भेरोसेल १ करोड ९७ लाख ३६ हजार ४०० मात्रा भित्रिएको छ। जन्सन खोप ३७ लाख ११ हजार ५०० मात्रा, एस्ट्राजेनेका ४३ लाख ५६ हजार ५६० मात्रा, फाइजर बायोन्टेक ७ लाख ६५ हजार १८० मात्रा, मोडर्ना ७६ लाख ५२ हजार मात्रा भित्रिएको छ।

दातृ निकाय र विभिन्न देशले ११ लाख कोभिसिल्ड, ३८ लाख भेरोसेल, ५ लाख ६२ हजार ७२० डोज एस्ट्राजेनेका गरी कुल ५४ लाख ६२ हजार ७२० डोज अनुदानमा प्रदान गरेको छ।

यस्तै कोभ्याक्स सुविधामार्फत एसियाली विकास बैंक र विश्व बैंकले ५९ लाख ३६ हजार ४०० मात्रा भेरोसेल, ४० लाख ८०० मात्रा मोडर्ना गरी कुल ९९ लाख ३७ हजार २०० मात्रा खोप प्राप्त भएको छ।

कोभ्याक्समार्फत अनुदानमा ३७ लाख ११ हजार ५०० मात्रा जन्सन, ३७ लाख ९३ हजार ८४० डोज एस्ट्राजेनेका, ७ लाख ६५ हजार १८० मात्रा फाइजर गरी कुल १ करोड २ लाख ३६ हजार १२० मात्रा खोप आएको छ।

कोभ्याक्स र एएमसीमार्फत ६३ लाख ८७ हजार डोज कोभिसिल्ड र १६ लाख ८५ हजार ६०० मात्रा मोडर्ना गरी कुल ८० लाख ७२ हजार ६०० मात्रा खोप भित्रिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.