हत्यामा ८ भारतीयकाे प्रयाेग, तीन नेपाली सार्वजनिक

|

विराटनगर : मोरङ र ललितपुरमा तीन जनाको हत्या घटनामा संलग्न तीन जनालाई प्रहरीले सार्वजनिक गरेको छ।

मोरङको धनपालथान गाउँपालिका–७ स्थित उखुबारीमा माघ १२ र १३ गते मृत भेटिएका दुई जना र बिहीबार ललितपुरको गोदावरी नगरपालिका–१२ थेचोमा गाडिएको अवस्थमा भेटिएका एकको हत्या गर्ने समूहका तीन जनालाई मोरङ प्रहरीले आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको हो।

मृतक तीनै जना साझेदारी व्यवसायी रहेको प्रहरीले जनाएको छ। साझेदारी व्यवसायीक कारोबारको रकम एकलौटी बनाउन सिरहाका अनिलकुमार मण्डलको योजनामा तीन साझेदारको हत्या भएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउ पर्नेमा मोरङ जहदा गाँउपालिका–४ का अमित साह भनिने दिनानाथ सोनार, सिरहा नगरपालिका–२१ स्थायी घर भई काठमाडौं बल्खु बस्ने ३१ वर्षीय अनिलकुमार मण्डल र मोरङ धनपालथान गाउँपालिका–७ का ६२ वर्षीय नासिर आलम छन्।

मण्डलकै योजनामा सुनसरीको धरान–३ का ४९ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीको सम्भुनाथ नगरपालिका–४ का ३२ वर्षीय शम्भु चौधरी र तेह्रथुमका ६२ वर्षीय मोहन लिम्बूको हत्या भएको जिल्ला प्रहरी कार्यालय मोरङ प्रमुख एसपी जनार्दन जिसीले बताए। उनका अनुसार श्रेष्ठ र चौधरीको शव मोरङको धनपालथान–७ स्थित उखुबारीमा हत्यापछि गाडिएको अवस्थामा माघ १२ र १३ गते फेला परेको थियो।

यस्तै लिम्बूको शव ललितपुरको थेचोमा गाडिएको अवस्थामा फेला परेको थियो। प्रहरीका अनुसार श्रेष्ठको शव फेला परेको स्थानबाट करिब १०० मिटर उत्तर कमलपुर जाने नहरमा पुस ५ गते हत्या भएको पाइएको छ। यस्तै चौधरीको पुस ७ गते शव फेला परेको स्थानबाट १०० मिटर दक्षिण उखुबारीमा हत्या भएको खुलेको प्रहरीले जनाएको छ।

मण्डलको योजनामा भारतीय हत्यारा प्रयोग भएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न भारतीय भने पक्राउ परेका छैनन्। मण्डल काठमाडौंबाट माघ २० गते पक्राउ परेका थिए भने प्रहरीले साह भनिने दिननाथ सोनारलाई विराटनगर–५ बाट र आलमलाई विराटनगरको मटेरुवाबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार डोरी र गम्छाले घाँटीमा कसेर तीनै जनाको हत्या गरिएको खुलेको छ। हत्यापछि शव खाल्डोमा हालेर त्यसलाई गलाउन नुन प्रयोग गरेको पाइएको एसपी जिसीले बताए। प्रहरीले हत्यापछि शव गाड्न प्रयोग भएको कोदालो र ६ प्याकेट नुनसमेत बरामद गरेको जनाएको छ।

मृतकको शारीरिक बनावट र घटनास्थलमा भेटिएको कपडा तथा कागजातका आधारमा आफन्तले शवको पहिचान गरेका हुन्। सिरहाका अनिल मण्डलसँग मिलेर मृतकहरूले जग्गालगायतको कारोबार गर्दै आएको पाइएको प्रहरीले जनाएको छ। चार जना व्यवसायीक साझेदारमध्ये मण्डलले भारतीय र नेपाली अपराधी प्रयोग गरेर तीन जनाको हत्या गर्न लगाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिसीले बताए। 

यसरी भयो हत्या

अनिललाई केही दिनअघि नै अपराध महाशाखाको टोलीले पक्राउ गरेको थियो। घटनाका बारेमा केही पनि बताउन नचाहेका उनलाई बिहीबार काठमाडौंबाट विराटनगर ल्याइयो। प्रहरीका अनुसार नियन्त्रणमा लिइएकामध्ये दुई जनाले घटनामा संलग्नता स्वीकार गरिसकेका थिए।

लिम्बूको हत्या मंसिर २८ गतेअघि नै भएको प्रहरीले जनाएको छ। श्रेष्ठ र चौधरीको हत्या कहिले भएको हो भन्ने एकिन नभएपछि परिवारसँग ४ पुसदेखि सम्पर्कविहीन भएकाले सोही दिन हत्या गरेको हुनसक्ने अनुमान गरिएको छ। हत्या मोरङमै गरेर दुवैै जनाको शव गाडेको निष्कर्षमा प्रहरी पुगेको छ।

उनीहरू दुवै जना ४ पुसदेखि एकै समयमा सम्पर्कविहीन बनेका थिए। हत्याअघि उनीहरुलाई विराटनगरस्थित मेट्रोसिटी गेष्ट हाउसमा राखेको पाइएको प्रहरी स्रोतले बताएको छ। गत मंसिर पहिलो साता श्रेष्ठ काठमाडौंबाट पूर्वतर्फ आएका थिए। चौधरी पनि उनीसँगै आएको प्रहरी निष्कर्ष छ। कल डिटेल रेकर्ड (सिडिआर) ले पनि त्यही सङ्केत गरेको प्रहरी स्रोतले बतायो।

उनीसँग सम्पर्क भएकाहरूको विवरण खोतल्दै जाँदा प्रहरीले चौधरी, मण्डल र बिहीबार शव भेटिएका मोहन लिम्बूको कनेक्सन फेला पारेको थियो। घटनाको अनुसन्धानका क्रममा पक्राउ परेकाले दिएको सूचनाका आधारमा मोरङ प्रहरीका डिएसपी मञ्जिल मुकारुङ नेतृत्वको टोली काठमाडौं पुगेर मण्डललाई पक्राउ गरेको थियो।

उनलाई पक्राउ गरेपछि अपराध महाशाखाको टोलीसहितले ललितपुरको गोदावरीमा गाडेको अवस्थामा लिम्बूको शव फेला पारेको हो। प्रहरीको प्रारम्भिक अनुसन्धानबाट हत्यामा ८ जना भारतीय नागरिकको प्रयोग भएको देखिएको छ।

लिम्बूको हत्यापछि हत्यामा संलग्न मण्डल मंसिर २८ गते विराटनगर आएको पाइएको प्रहरीले जनाएको छ। मण्डलसँग श्रेष्ठ र चौधरी पनि आएका थिए। प्रहरी स्रोतका अनुसार ललितपुरमा लिम्बूको हत्या भइसके पनि श्रेष्ठ र चौधरीलाई भने घटनाका बारेमा थाहै थिएन।

श्रेष्ठ र चौधरीले व्यावसायीक साझेदार लिम्बूको खोजी गरिरहेको र खोजी धेरै गर्न थालेपछि उनीहरुको पनि हत्या भएको प्रहरीको निष्कर्ष छ। स्रोतका अनुसार चार जना मिलेर जग्गा, हाइड्रोपावर, सिमेन्ट उद्योगलगायतमा लगानी गरेको खुलेको छ।

तीन जना मृतक र मण्डल व्यापारिक पार्टनर रहेको एसपी जिसीले बताए। यस विषयमा धेरै कुरा रहेको बताउदै उनले भने, ‘पैसाकै लागि हत्या भएको देखिन्छ।’ उनका अनुसार आर्थिक कारोबार र पैसा बाँडफाँटमा कुरा नमिलेको हो।

प्रहरीका अनुसार पक्राउ परेका अनिलकुमार मण्डलसहितको टोली मंसिर तेस्रो साता घर भाडामा दिन भन्दै थेँचोस्थित प्रमोद थापामगरको घर पुगेका थिए। घर कम्पाउन्डसहितको थियो।

व्यापारिक कारोबारका लागि आवश्यक परेको उनीहरूले प्रमोदलाई बताए। प्रमोदले घर भाडामा दिने निर्णय गरे। त्यसपछि अनिलकुमारसहितको टोलीको घरमा आउजाउ हुन थाल्यो। सो टोलीले तेह्रथुमका मोहन लिम्बूलाई २८ मंसिरमा उक्त घरमा लगेर बन्धक बनाएका थिए।

घरभित्रै घाँटी कसेर हत्या गरेपछि घरनजिकै खाल्डो खनेर शव गाडेका थिए। अनिलकुमारकै टोलीले कारोबार मिलाउन भन्दै धरानका राजेन्द्रकुमार श्रेष्ठ र सप्तरीका शम्भुनाथ चौधरीलाई काठमाडौंबाट मोरङ लिएर आए।

दुवैको हत्यापछि शव व्यवस्थापनका लागि धनपालथान गाउँपालिका–७ स्थित उखुबारी लगेको पाइएको छ। प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथ २८ मंसिरमै कारोबार मिलाउन भन्दै परिवारसँग बिदा भएर मोरङ आएका थिए। तर, उनीहरू ४ पुससम्म मात्र परिवारको सम्पर्कमा थिए।

हत्या गरिएका शम्भुनाथ स्वस्तिक कान्तिपुर कन्स्ट्रक्सनका मालिक हुन् भने उनको काठमाडौं– १७ मा कन्स्ट्रक्सनको कार्यालय छ। श्रेष्ठ भने केही वर्षदेखि ठेक्कापट्टा र घरजग्गा कारोबारमा संलग्न थिए। प्रहरीका अनुसार राजेन्द्रकुमार र शम्भुनाथले जग्गा कारोबारदेखि निर्माण व्यवसायमा मात्र नभएर सिमेन्ट उद्योगदेखि हाइड्रोपावरसम्म लगानी गरेका थिए।

 


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.