|

रुकुम (पूर्व) : भूमे र सिस्ने गाउँपालिकाको सिमाना बालुवामा मोटरेबल पुल नहुँदा यातायात वारपारमा सकस भइरहेको छ। मोटरेबल पुल नहुँदा बर्खायाममा यातायात ठप्प हुन्छ भने, हिउँदयाममा पनि यातायात जोखिम मोलेरै वारपार गर्नु परेको हो।

रुकुमकोटदेखि जिल्लाको उत्तर भेगका लागि रुकुमकोट–बालुवा–देउखोला सडक खण्ड महत्त्वपूर्ण रहेको छ। सिस्ने गाउँपालिकाका-१ र २ का साथै पुथाउत्तरगंगा गाउँपालिकाका-७, ८, ९ र १४ लगायत ठाउँका नागरिक यो रुट प्रयोग गर्ने गरेका छन्।

यस सडक खण्डमा पर्ने बालुवास्थित लुकुमगाड खोलामा मोटरेबल पुल नहुँदा सवारी चालकहरूले दुःख कष्टका साथ सवारी वारपार गरिराखेका छन्। उक्त सडक खण्डमा यात्रु बोक्ने जिप सञ्चालन भइरहेको छ। यसैगरी सामान ढुवानीको लागि ट्याक्टर चल्ने गरेका छन्।

खोला ठू्लो रहेकोले कुनै बेला खोला तार्दा–तार्दै बीच खोलामै जिप फस्ने गरेको जिप चालक हरिप्रसाद बुढा मगरले बताए।

बीच खोलामै जिप फस्दा एकातर्फ यात्रु अलपत्र, अर्कोतर्फ टायर पन्चर हुनुका साथै जिपको पार्टपुर्जा बिग्रिने गरेको चालक बुढाको दुखेसो छ। मोटरेबल पुल छिट्टै बनेमा हाल भइरहेको यातायात वारपारको समस्या हल हुने यात्रु एवं सवारी चालकको भनाइ छ।

'चैतसम्ममा पुलको काम थाल्छौँ'

यता, जिल्ला सडक पूर्वाधार विकास कार्यालय रुकुमपूर्वका प्रमुख गोविन्दबहादुर महतारा क्षेत्रीले अब आउँदो चैत सम्ममा पुल निर्माणको काम थालनी हुने बताए।

पुल निर्माणका लागि यस आर्थिक वर्षमा सडक पूर्वाधार विकास कार्यालयबाट एक करोड रुपैयाँ बजेट रहेको प्रमुख क्षेत्रीले जानकारी दिए। पुल निर्माणका लागि प्राविधिक मूल्याकन पास भइसकेकोले अब आर्थिक प्रस्ताव पास हुनेबित्तिकै पुल निर्माणको काम सुरु गरिने उनको भनाइ छ।

४० मिटरको मोटरेबल पुल बढीमा डेढ वर्षमा सम्पन्न हुने प्रमुख क्षेत्रीले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.