आइतबार मन्त्रिपरिषद्‍ विस्तार नहुने पक्कापक्की

|

सुर्खेत : कर्णाली सरकार विस्तार कार्य फेरि अन्योलमा परेको छ। नेकपा एकीकृत समाजवादीले तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थन फिर्ता लिने चेतावनी दिएपछि राजनीतिमा नयाँ तरंग उत्पन्न भएको हो।

आइतबार सरकारलाई पूर्णता दिने तयारी गरेका मुख्यमन्त्री जीवनबहादुर शाही पुन: मन्त्रिपरिषद् विस्तारमा असफल हुने देखिएका छन्। नेतृत्व परिवर्तन भएको तीन महिनापछि मुख्यमन्त्री शाहीले बल्ल सरकारलाई पूर्णता दिने तयारी गरेका थिए।

तर, समाजवादीले गत वैशाख २ को सहमतिअनुसार नै अघि बढ्ने दाबी गरेपछि आइतबार मन्त्रिपरिषद्‍ विस्तार नहुने पक्कापक्की भएको हो। 

मुख्यमन्त्री शाहीले आइतबार सरकारलाई पूर्णता दिन माओवादीबाट गैरसांसद हुम्लाका कार्चेन लामा र जाजरकोटका सांसद गणेशप्रसाद सिंह, कांग्रेसबाट यसअघि सामाजिक विकास मन्त्री भइसकेका यज्ञबहादुर बुढा क्षेत्री र हाल दलका सचेतक रहेका हिमबहादुर शाही र समाजवादीबाट जुम्लाका पदम रोकायालाई मन्त्री बनाउने तयारी गरेको थिए।

​तर, समाजवादीले आफ्नो अडान कायमै राखेपछि मन्त्रिपरिषद्‍ विस्तार कार्य प्रभावित हुने देखिएको छ।

आठ सदस्यीय कर्णाली मन्त्रिपरिषद्मा यसअघि मुख्यमन्त्री शाहीसहित माओवादीबाट आर्थिक मामिला तथा योजना मन्त्रीमा विन्दमान विष्ट र समाजवादीबाट भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रीमा चन्द्रबहादुर शाही नियुक्त भइसकेका छन्।

शीर्ष नेतालाई दबाब दिन काठमाडौं

पूर्व-सहमतिअनुसार आफ्नो पार्टीले तीन मन्त्रालय पाउनुपर्ने अडान कायम राख्दै केन्द्रको पत्रअनुसार दुई मन्त्रालयको जिम्मेवारी नसम्हाल्ने समाजवादीले जनाएको छ।

पूर्व-सहमतिअनुसार पूर्व-मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राजीनामा दिएको र सोहीअनुसार जीवनबहादुर शाही मुख्यमन्त्री बनेको स्मरण गराउँदै सहमतिअनुसार तीन मन्त्रालयको दाबी नछोड्ने एकीकृत समाजवादीका प्रदेश अध्यक्षसमेत रहेका पूर्व-मन्त्री अम्मरबहादुर थापाले बताए।

समर्थन फिर्ता लिने चेतावनी

यदि तीन मन्त्रालय नपाए सरकारलाई दिएको समर्थनसमेत फिर्ता लिने समाजवादी कर्णाली प्रदेशले चेतावनी दिएको छ। यसबारे शीर्ष नेतालाई दबाब दिन नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला र कर्णाली प्रदेश कमिटीका अध्यक्ष अम्मर थापा शनिबार काठमाडौं पुग्दैछन्।

कर्णाली सरकार विस्तारबारे प्रचण्ड, देउवा र नेपालबीच भएको भनिएको सहमतिविपरीत दुवै नेताहरू कर्णालीमा तीन मन्त्रालय पाउनुपर्ने र समाजवादीकी देवी ओलीलाई पनि मन्त्री बनाउनुपर्ने माग लिएर काठमाडौं जान लागेको एक नेताले जानकारी दिए।

रुकुम पश्चिमबाट प्रतिनिधित्व गर्ने सांसद ओली, दलका नेता एवं भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री चन्द्रबहादुर शाही, प्रदेश सांसद पदम रोकाया, उपमहासचिव ज्वाला र अध्यक्ष थापाबीच शुक्रबार बैठकसमेत बसेको थियो।

बैठकले तीन मन्त्रालयको दाबी नछाड्ने तर यदि तीन मन्त्रालय नपाए सरकारको समर्थन फिर्ता लिनेसम्मको निष्कर्ष निकालेको बताइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.