|

काठमाडौं : महान् पार्श्वगायिका लता मंगेशकरले भारतमा चलचित्र संगीतलाई नयाँ परिभाषा प्रदान गरिन्। उनलाई भारतकी 'स्वर साम्राज्ञी' र 'सुर कोकिला'को उपमाका रूपमा हेरिन्थ्यो।

भारत स्वतन्त्र हुनुअघि उनले गीतमा स्वर भर्न शुरु गरिसकेकी थिइन्। उनले संगीतमा करिब ७८ वर्ष बिताइन्।

तीनपटक भारतको राष्ट्रिय पुरस्कार विजेता उनी दादा साहेब फाल्के अवार्ड र भारत रत्नबाट पनि सम्मानित गायिका हुन्। उनले ३६ भाषामा ३०,००० भन्दा बढी गीत गाएकी थिइन्।

इन्दोरमा जन्म

सन् १९२९ सेप्टेम्बर २८ मा भारतको मध्य प्रदेशस्थित इन्दोर सहरमा जन्मिएकी लताले पाँच वर्षको उमेरमा पिता दिनानाथबाट संगीत सिक्न थालेकी थिइन्।

उनका बाबु पनि गायक थिए र रंगमञ्चका कलाकार पनि।साथै उनी मराठी भाषाका नाट्यनिर्माता पनि थिए। पाँचजना छोराछोरीमध्ये लता जेठी थिइन्। संगीत क्षेत्रमा लताको सफलतापछि उनका भाइबहिनीहरू पनि यो क्षेत्रमा प्रवेश गरेका थिए। कालान्तरमा उनीहरू भारतकै प्रसिद्ध गायक गायिकाका रूपमा स्थापित भए।

घर लिलामी, सपरिवार मुम्बई प्रस्थान

आफ्नो बाल्यकाल सम्झिँदै लताले आफ्नो परिवारको शास्त्रीय संगीतमा गहिरो लगाव रहेको बताएकी थिइन्। उनको घरमा फिल्म संगीत उति रुचिकर मानिँदैनथ्यो। 

लताले कहिल्यै औपचारिक शिक्षा लिने अवसर पाइनन्। घरेलु सहयोगीले लतालाई अक्षर सिकाएकी थिइन्। त्यति नै वेला स्थानीय एकजना पण्डितले उनलाई संस्कृत सिकाएका थिए।

बाल्यकालमा लताको परिवार निकै विपन्न थियो। लताले एक अन्तर्वार्तामा भनेकी थिइन्, ' मेरा पिताको सम्पूर्ण पैसा गुमेको थियो। जसले गर्दा थिएटर कम्पनी बन्द गर्नुपरेको थियो।'

त्यसपछि तिनको परिवार इन्दोरबाट पुना (हाल पुणे) बसाइँ सर्‍यो। महाराष्ट्रको साङलीस्थित उनको पुर्ख्यौली घर ऋण तिर्नका लागि लिलाम गरिएको थियो। बुबाको मृत्युपछि सपरिवार उनी बम्बई (हाल मुम्बई) बसाइँ सरिन्।

चलचित्रबाट मासिक २ सय कमाइ

सन् १९४० मा फिल्मी क्षेत्रमा गायनको दायरा फराकिलो थिएन। त्यसैले लताले परिवारको खर्च जुटाउन अभिनय गर्न थालेकी थिइन्।

लताले हिन्दी र आठवटा मराठी फिल्ममा अभिनय गरिन्। सन् १९४३ को मराठी फिल्म 'गजभाऊ'मा उनले केही लाइन गीत गाएकी थिइन्।

यो नै उनको चलचित्रमा पहिलो गायन यात्रा हो। सन् १९४७ सम्म अभिनय गरेर मासिक २०० रुपैयाँ कमाउने गरेको उनले एक अन्तर्वार्तामा बताएकी छिन्।

उनले नस्रीन मुन्नी कवीरलाई उनको चलचित्र अभिनय करियरको बारेमा एक अन्तर्वार्तामा भनेकी थिइन्, 'मलाई अभिनय कहिल्यै मन परेन। मेकअप, लाइट, मानिसहरूले तपाईंलाई संवादका लागि दिने निर्देशन रुचिकर थिएन।'

एकपटक एकजना चलचित्र निर्देशकले उनलाई आँखीभौँ काट्न आग्रह गर्दा लता चकित भएकी थिइन्। निर्देशकले आफ्नो आँखीभौँ एकदमै बाक्लो भएको बताएका थिए। त्यसवेला लताले निर्देशकको आज्ञा मान्नुपरेको पनि उक्त अन्तर्वार्तामा बताएकी थिइन्।

लताको स्वरमा प्रधानमन्त्रीको आँसु

लता मंगेशकरले सन् १९४९ को फिल्म 'महल' का लागि हिन्दी फिल्मको पहिलो गीत गाएकी थिइन्। यस चलचित्रमा उनको गायनको निकै प्रशंसा गरिएको थियो।

चलचित्र महलमा उनले गाएका गीतहरू प्रसिद्ध संगीतकारहरूका नजरमा परेका थिए। जसले गर्दा गायनमा उनको आगमन सुखद रह्यो।

उनले पाकीजा, मजबूर, अवारा, मुगल-ए-आजम, श्री ४२०, आराधना र दिलवाले दुल्हनिया ले जायेंगे जस्ता रोमान्टिक फिल्ममा पनि आफ्नो स्वर भरिन्।

सन् १९६२ मा चीनसँगको युद्धमा शहादत पाएका भारतीय सैनिकको सम्मानमा लताले 'ऐ मेरे वतन के लोगों' बोलको गीत गाएपछि भारतीय प्रधानमन्त्री पण्डित जवाहरलाल नेहरूका आँखा पनि रसाएका थिए।

पार्श्वगायनमा पुरुष गायकसँग टक्कर

लताले आफ्नो युगका सबै प्रमुख बलिउड गायकहरू (मोहम्मद रफी होऊन् वा किशोर कुमार)सँग गीत गाएकी छिन्। उनले राज कपुरदेखि गुरुदत्तसम्म र मणि रत्नमदेखि करण जौहरसम्मका हरेक चर्चित फिल्म निर्देशकसँग काम गरेकी थिइन्।

लता पार्श्वगायनमा पुरुषलाई चुनौती दिने कलाकार गनिन्छिन्। उनले आफूसँग गीत गाउने गायकले जत्तिकै रोयल्टी र पारिश्रमिक माग्ने गर्थिन्। तत्कालीन परिवेशमा मोहम्मद रफीको पारिश्रमिक जति थियो उनको पनि त्यही हाराहारीमा थियो।

लताले एकपटक भनेकी थिइन्, 'आज म जे छु, त्यो मेरो मेहनतको प्रतिफल हो। मैले आफ्नो अधिकारका लागि लड्न सिकेकी छु। मलाई कसैसँग डर लाग्दैन। म  ज्यादै साहसी छु। तर आज जे जत पाएकी छु‚ यति आशा मैले कहिल्यै गरेकी थिइनँ।'

बलिउडका प्रसिद्ध लेखक तथा शायर जावेद अख्तरले लताको मधुर आवाजलाई प्रशंसा गर्दै भनेका थिए, ‘उनको आवाज मोती जस्तै बहुमूल्य र स्फटिक जस्तै स्पष्ट छ।'

एकपटक जब लतालाई बलिउडमा उनका कुन कुन गीत लोकप्रिय छन् भनेर सोधिएको थियो। उनले भनेकी थिइन्, 'मोहब्बत के नग्मे'​मलाई ज्यादै मन पर्छ। किनभने यसमा नायिकाहरू भागिरहेका छन्, नायकहरू पनि तिनीहरूका पछि लागिरहेका छन्।'

गाडी, कुकुर र क्रिकेटको शोख

लतालाई विश्वका चर्चित संगीतकार मोजार्ट, बिथोवन, शोपिन, नैट किङ कोल, बीटल्स, बारबरा स्ट्रीस्याण्ड र ह्यारी बेलाफोटद्वारा रचित संगीत सुन्न मन पर्थ्यो।

एकपटक उनी जर्मन मूलकी अमेरिकी अभिनेत्री मार्लिन डेट्रिखले मञ्चमा अभिनय गरेको हेर्न विदेश गएकी थिइन्। उनी स्वीडिस अभिनेत्री इन्ग्रिड बर्गम्यानका नाटकहरू हेर्न लालायित हुन्थिन्।

लतालाई मनपर्ने हलिउड फिल्म 'द किङ' एण्ड आई हो। लताले यो फिल्म कम्तीमा १५ पटक हेरेको बताएकी थिइन्। उनको दोस्रो मन पर्ने हलिउड चलचित्र 'सिङगिङ इन द रेन' हो। लतालाई गाडीको शोख पनि थियो। उनले जीवन विभिन्न ब्राण्डका कार संकलन गरेकी थिइन्। जसमा क्रिसलर र मर्सिडिजहरू पर्थे।

लतालाई कुकुरप्रति खुबै प्रेम थियो। उनले घरमा ९ वटा कुकुर पालेकी थिइन्। खेलमा भने उनलाई क्रिकेट मन पर्थ्यो। तिनी अक्सर रेकर्डिङबाट छुट्टी लिन्थिन् र टेस्ट म्याच हेर्थिन्। लता क्रिकेटर डन ब्राडमानको अटोग्राफ मसँग छ भनेर गर्वका साथ बताउँथिन्।

आर्केष्ट्रामा स्वर भर्ने पहिलो भारतीय गायिका

लता फुर्सदको समयमा शास्त्रीय संगीतकार पण्डित रवि शंकरको स्टुडियोमा पुग्थिन्। रवि शंकरले एकपटक लतालाई जर्ज ह्यारिसनसँग पनि भेट गराएका थिए।उनी इङल्याण्डमा जन्मिएका चर्चित गीतारवादक थिए।

सन् १९७९ मा लताले बेलायतको विश्वप्रसिद्ध रोयल अल्बर्ट हलमा रेन आर्केष्ट्रासँग गीत गाउन पाउने अवसर पाएकी थिइन्। यस्तो अवसर पाउने उनी पहिलो भारतीय गायिका हुन्।

जीवनमा दुःखको खाडलबाट उठेकी लता सफलताको शिखरसम्म पुग्न विभिन्न आरोह-अवरोह पार गरेकी छिन्। जीवनमा प्रत्येक कुराका दुई पाटा हुने उनको मान्यता थियो- हाँसो, खुशी र सुख संसारलाई बाँड्नुपर्छ। दु:खसँग भने एक्लै लड्नुपर्छ। 

लताका सदाबहार गीत करोडौं भारतीय मात्र होइन विश्वभरका संगीत पारखीमाझ गहिरो छाप छोड्न सफल छन्। लताका गीतहरू करोडौँ संगीतकर्मीका जिन्दगीका लागि संगीत बनेका छन्।

मृत्युयात्रा

लताको आइतबार बिहान मुम्बईको क्यान्डी अस्पतालमा निधन भएको छ। कोभिड–१९ पोजेटिभ देखिएपछि उनलाई जनवरी ८ मा मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको थियो।

विगत दुई सातादेखि उनी सघन उपचार कक्ष (आईसीयू) मा उपचाररत थिइन्। पछिल्लो समय सुधारको लक्षण देखिए पनि उनको स्वास्थ्य अवस्था बिग्रँदै गएको थियो। अन्ततः उनी ९२ वर्षको उमेरमा आज अन्तिम सास फेर्दै यो धर्तीबाट बिदा भइन्।

एजेन्सीको सहयोगमा

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.