देउवा र प्रचण्डले यसअघि नै गरेका थिए ६ बुँदे प्रतिबद्धता

|

काठमाडौं : अमेरिकाले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) परियोजना फेब्रुअरी २८ अर्थात् फागुन १६ गतेभित्र संसदबाट अनुमोदन गर्न डेटलाइन तोकेको छ। 

प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई सम्बोधन गर्दै अमेरिकाले काटेको पत्रमा एमसिसीमा प्रतिबद्धताअनुसारको कदम चाल्न आग्रह गरेको हो। 

एमसिसीको विषयले नेपालमा जनस्तरबाटै चर्को विरोध भइरहेको बेलामा देउवा र प्रचण्डले २९, सेप्टेम्बर २०२१ मा ५ महिनाको समयसीमा थप गर्न माग गरेका थिए। देउवा र प्रचण्डले ६ बुँदे प्रतिबद्धतासहित अमेरिकालाई पत्र पठाएका थिए। 

एमसिसीबाट प्राप्त भएका स्पष्टीकरणका सम्बन्धमा छलफल गरी गठबन्धन साझेदारहरू र हाम्रा पार्टीका सदस्यहरूलाई सूचित गर्ने, सरकारको साधनस्रोत प्रयोग गरी नेपाली जनतालाई यसबारेमा सूचित गर्दै कम्प्याक्ट कार्यान्वयनमा सरकारको सहयोगका सम्बन्धमा जानकारी गराउँदै कम्प्याक्टका सम्बन्धमा रहेका आशंकाहरू हटाउने उल्लेख छन्। 

यस्तै, गठबन्धनका साझेदार नेताहरूसहित संयुक्त पत्रकार सम्मेलन गरी एमसिसी सम्झौता अनुमोदनका सम्बन्धमा सकारात्मक दृष्टिकोण प्रस्तुत गर्ने, सरकारी सञ्चारमाध्यममार्फत कम्प्याक्टका सम्बन्धमा यथार्थ सूचना सम्प्रेषण गर्ने प्रतिबद्धता जाहेर गर्दै पत्र पठाएका थिए। 

देउवा र प्रचण्डले अमेरिकालाई काटेको पत्रमा भनिएको छ, ‘प्रतिनिधिसभाका सभामुखलाई संयुक्त रूपमा सकेसम्म छिटो कम्प्याक्ट टेबुल गर्ने योजनाका सम्बन्धमा अनुरोध गर्नेछौं।’

यही पत्रको जवाफ फर्काउँदै अमेरिकाले माघ २० गते प्रतिबद्धताअनुसार अघि बढ्नुपर्ने प्रस्ताव गरेको छ। अमेरिकी सरकारको सहायता परियोजना एमसिसीका कार्यवाहक प्रमुख कार्यकारी अधिकृत महम्मुद बाले काटेको पत्रमा अब धेरै बेर नेपाललाई कुर्न नसकिने उल्लेख गरिएको छ। 
 
महम्मुद बालेको पत्रमा भनिएको छ, ‘तपाईंहरूले नै मागेको समयानुसार आगामी २८ फेब्रुअरीभन्दा ढिलो नगरी संसदबाट एमसिसी अनुमोदनका लागि काम थाल्न आग्रह गर्दछौँ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.