|

विराटनगर :  आफू नियुक्ति भएको ३ महिनापछि प्रदेश १ का राजेन्द्रकुमार राईले आज (आइतबार) बल्ल मन्त्रिमण्डल बनाएका छन्।

गत कात्तिक १६ गते पाँचदलीय गठबन्धनको नेतृत्व गर्दै मुख्यमन्त्री नियुक्त भएका राईले ८ जना मन्त्री थपेर मन्त्रिपरिषदका सदस्य १४ पुर्‍याएका छन्।

नेपाली कांग्रेसबाट ५, नेकपा एकीकृत समाजवादीबाट ४, माओवादी केन्द्रबाट ३ र जसपाबाट १ जना मन्त्री छन्। सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट एक जना राज्यमन्त्री छन्।

कांग्रेसबाट ओमप्रकाश सरावगी, प्रकाशप्रताप हाङगाम र शेखरचन्द्र थापा, एकीकृत समाजवादीबाट खिनु लङ्वा लिम्बु, राजन राई र उपेन्द्र घिमिरे आइतबार मन्त्री नियुक्त भएका छन्।

यसैगरी माओवादी केन्द्रबाट झलकसिंह दर्लामी मगर र रामकुमार राई पनि मन्त्री भएका छन्।

राजन राई

नेकपा एमालेनिकट अखिल हुँदै राजनीतिक यात्रा शुरु गरेका सामजिक विकासमन्त्री राजन राई खोटाङ क्षेत्र १ ‘क’ बाट निर्वाचित सांसद हुन्।

उनी तत्कालीन नेकपा एमाले खोटाङको जिल्ला कमिटी सदस्यसचिव हुँदै नवौँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए।

एमाले विभाजन भएसँगै उनले एकीकृत समाजवादी रोजेका थिए। एकीकृत समाजवादीमा पोलिटब्युरो सदस्य रहेका उनी प्रदेश १ को उपाध्यक्ष पनि हुन्। उनी साहित्यकारसँगै गीतकार पनि हुन्। 

खिनु लङ्वा लिम्बु

इलाम क्षेत्र १ ‘क’ बाट निर्वाचित भएकी खिनु लङ्वा लिम्बु सत्तारुढ गठबन्धनभित्र निर्वाचित एकमात्र महिला सांसद हुन्। उनी एकीकृत समाजवादीबाट मन्त्री बनेकी हुन्।

तत्कालीन नेकपा कोअर्डिनेसन केन्द्रको बाल रक्षा दल हुँदै राजनीतिक यात्रा आरम्भ गरेकी उनी विद्यार्थी राजनीति हुँदै अनेमसङ्घ इलामको अध्यक्ष बनेकी थिइन्। एमाले विभाजनसँगै एकीकृत समाजवादी रोजेकी लिम्बु केन्द्रीय सदस्य हुन्।

उपेन्द्र घिमिरे

मोरङ क्षेत्र १ ‘ख’ बाट निर्वाचित उपेन्द्र घिमिरे एकीकृत समाजवादीबाट मन्त्री बनेका हुन्। २०४८ सालमा तत्कालीन जाँते गाविसको अध्यक्ष निर्वाचित हुँदा उनी २८ वर्षका थिए।

२०५४ सालमा गाविस अध्यक्ष बनेका उनले नेकपा एमालेको तत्कालीन पालिका कमिटी हुँदै जिल्ला तहमा पनि काम गरेका थिए।

प्रतापप्रकाश हाङगाम

उद्योग श्रम तथा रोजगारमन्त्री प्रतापप्रकाश हाङगाम ताप्लेजुङबाट नेपाली कांग्रेसका समानुपातिक सांसद हुन्। ५ पल्ट प्रधानपञ्च भएका उनले २० वर्षको उमेरदेखि राजनीतिक यात्रा थालेका हुन्।

२१ वर्षको हुँदा प्रधानपञ्च बनेका उनी जिल्ला विकास समितिको सदस्य हुँदै उपसभापति पनि भएका थिए।

शेखरचन्द्र थापा

पूर्वशिक्षक रहेका वन वातावरण तथा भू–संरक्षणमन्त्री शेखरचन्द्र थापा नेपाली कांग्रेसको समानुपातिक सांसद हुन्। उनी तत्कालीन क्षेत्रीय सभापति हुँदै एक कार्यकाल जिल्लाको सहसचिव पनि बनेका थिए।

गिरिजाप्रसाद कोइरालाको स्वकीय सचिवको रूपमा काम गरेका थापा १३औँ महाधिवेशनमा निर्वाचित र १४औँ महाधिवेशनमा केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका थिए। २०७० सालको संविधानसभा निर्वाचनमा उनी मोरङ क्षेत्र २ बाट उम्मेदवार बनेका थिए।

ओमप्रकाश सराबगी

झापामा प्लाइउड, राइस मिल र चिया उद्योगका मालिक रहेका भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री ओमप्रकाश सराबगी २ पटक भद्रपुरको प्रधानपञ्च भएका थिए।

२०४६ सालको आन्दोलनपछि नेपाली कांग्रेसमा लागेका उनी कृष्णप्रसाद सिटौला पक्षका मानिन्छन्। उनका बुबा सुरजमलले भद्रपुर बजार स्थापना गरेका थिए।

झलकसिंह मगर

अखिल क्रान्तिकारी हुँदै राजनीतिक यात्रा शुरु गरेका झलकसिंह मगर माओवादीबाट मन्त्री बनेका हुन्।

जनयुद्धको शुरुआतदेखि नै माओवादीसँग जोडिएका उनी जनमुक्ति सेनाको कम्पनी कमिसार भएका थिए।

तत्कालीन माओवादीको झापा जिल्ला सचिव र इञ्चार्ज भएर काम गरेका उनी २०७४ सालको निर्वाचनमा झापाको  क्षेत्र ४ क बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

उनी झापाको सचिव र इञ्चार्जको जिम्मेवारीमा पनि बसेका थिए।

रामकुमार राई (पासाङ)

गोपाल किरातीले नेतृत्व गरेको किरात वर्कस पार्टी हुँदै माओवादी प्रवेश गरेका खानेपानी, सिँचाइ तथा ऊर्जामन्त्री रामकुमार राई जनयुद्ध लडेका नेता हुन्।

खोटाङ १ ‘ख’ बाट निर्वाचित राईले माओवादी केन्द्र खोटाङको इञ्चार्ज भएर काम गरेका थिए।  

नवनियुक्त मन्त्रीको नामावली

राजेन्द्र राई  – मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय

इन्द्रबहादुर आङ्बो – आर्थिक मामिला तथा योजना मन्त्रालय

हिमाल कार्की – सडक, पूर्वाधार तथा सहरी विकास मन्त्रालय

केदार कार्की – आन्तरिक मामिला तथा कानुन मन्त्रालय

जयराम यादव – स्वास्थ्य मन्त्रालय

रामकुमार राई – खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय

राजन राई – सामाजिक विकास मन्त्रालय

खिनु लङ्वा लिम्बु – पर्यटन तथा संस्कृति मन्त्रालय

झलकबहादुर मगर – कृषि मन्त्रालय

शेखरचन्द्र थापा – वन, वातावरण तथा भू–संरक्षण मन्त्रालय

ओमप्रकाश सरावगी – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय

प्रतापप्रकाश हाङ्गाम – उद्योग, श्रम तथा रोजगार मन्त्रालय

उपेन्द्रप्रसाद घिमिरे – यातायात व्यवस्था तथा सञ्चार मन्त्रालय

विष्णु तुम्बाहाम्फे – सामाजिक विकास मन्त्रालय

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.