|

दाङ : माघे झरीले तुलसीपुर उपमहानगरपालिका १९ मा रहेको शिवशक्ति  इँटा उद्योग केही दिनको बेमौसमी वर्षाका कारण क्षति पुगेको छ।

भट्टा पकाउनको लागि तयार भएका इँटाहरू नोक्सान हुँदा करिब डेढ करोडको क्षति भएको उद्योगका मेनेजर प्रेम बस्नेतले बताए।   उनले भने, ‘अहिलेको समय इँटाहरू उत्पादन हुने हो। तर, पटक पटकको बेमौसमी पानीका कारण उद्योगमा तयार भएका काँचो इँटाहरू नोक्सान भए। जसले गर्दा हामीलाई करोडौँको क्षति पुगेको छ।’

उनका अनुसार एउटा काँचो इँटा तयार गर्नको लागि कम्तीमा १० रुपैयाँसम्म खर्च हुन्छ। जग्गा भाडा, गाडी  भाडा र स्टाफ खर्च गरी त्यति खर्च हुने हुनेको भनाइ थियो।

त्यस्तै, घोराही उपमहानगरपालिका  १० नारायणपुरमा  रहेको  गोल्ड ब्रेक इन्डस्ट्रिज इँटा उद्योगमा पनि करिब १५ लाख काँचो इँटामा नष्ट भएको उद्योग सञ्चालन रोम वलीले बताए। 

उनका अनुसार पटकपटकको वर्षाका कारण करिब ५० लाख रुपैयाँ बराबरको क्षति भएको छ।  उनले भने, ‘हामीले यो समस्या पटक पटक भोग्दै आएका छौँ। काँचो इँटाको बिमा बनाउनको लागि केन्द्र र प्रदेश सरकारलाई आग्रह गर्दै आएका छौँ। तर, अहिलेसम्म हाम्रो सुनुवाइ भएको छैन्। हामी खुला आकाशमुनि काम गर्ने व्यवसायी हौँ। हामीले प्रत्येक वर्ष बेमौसमी पानीका कारण करोडौँको नोक्सानी भोग्दै आएका छौँ।’

 त्यस्तै, तुलसीपुर उपमहानगरपालिका १८ मा रहेका जय श्री हनुमान इँटा उद्योगमा पनि पानीका कारण करिब ११ लाख काँचो इँटा नष्ट भएको  उद्योगका सञ्चालक  लाल विक्रम बूढाले बताए।

उनले भने,‘ काँचो इँटा बनाउँदादेखि पकाउँदासम्म करिब १५ रुपैयाँपर्ने जान्छ। काँचो इँटा मात्र १० रुपैयाँ पर्छ, भने कोइलालाई करिब ५ रुपैयाँ पर्छ। तर, पानीका कारण हामीले धेरै नोक्सानी  व्यहोर्दै आएका छौँ। त्यसमा पनि व्यवसायीबीच प्रतिस्पर्धा हुँदा अझ समस्या हुने गर्दछ।’ 

दाङ देउखुरी इँटा व्यवसायी संघ अनुसार जिल्लामा अहिले करिब ३ करोड काँचो इँटा नोक्सानी भएको छ। जिल्लाका ३५ वटा इँटा उद्योगमध्ये धेरै उद्योगका इँटाहरू नष्ट भएको संघका अध्यक्ष प्रेमनाथ योगीले बताए।  उनका अनुसार पानीका कारण इँटाहरू नष्ट भएपछि  केही समय उद्योगहरू  बन्द हुने अवस्थामा  आएको पनि बताए।

वर्षाका कारण तयारी अवस्था इँटाहरूमा नोक्सानी भएपछि अब जिल्लामा इँटाको इँटाको अभाव हुने सक्ने उनले बताए।

अहिले प्रत्येक इँटा उद्योगमा  करिब  ३ सयको हाराहारीमा मजदुर छन्। यदि  पारिश्रमिक नपाएमा उनीहरूले पनि काम छोड्ने अवस्था रहने भन्दै उनीहरुलाई तत्काल पारिश्रमिक उपलब्ध गराउनु पर्ने भए तापनि पानीका कारण इँटा नोक्सानी हुँदा व्यवसायीहरु समेत समस्यामा पर्ने बताए।

जिल्लामा अहिले  १ नम्बर इँटाको मूल्य  १६ रुपैयाँ, २ नम्बर इँटाका मूल्य  १२ रुपैयाँ र ३ नम्बर इँटाको मूल्य  १० रुपैयाँ  कायम  गरिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.