शिक्षक भन्छन् : ‘बरु केही समय ढिला होस्, तर सबै अध्यापन गरौँ'

|
फाइल तस्वीर

काठमाडौं : सरकारले चालू शैक्षिक सत्र चैत मसान्तमा सकेर २०७९ को नयाँ सत्र आगामी वैशाखमा थाल्ने तयारी गरेको छ।

तर, चैतसम्म पूरै पाठ्यक्रम पढाएर नसकिने भएकाले वैशाख नभएर जेठमा नयाँ सत्र थाल्न शिक्षकहरूले सरकारलाई सुझाव दिएका छन्। 

कोरोनाका कारण गएको छठ पर्वपछि मात्र भौतिक उपस्थितिमा देशभरिका स्कुलमा अध्यापन भएको थियो। त्यसैले पनि पठनपाठनमा समस्या भएको छ।

संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका प्रधानाध्यापक शिवराज अधिकारी चैतसम्म पाठ्यक्रम नसकिने बताउँछन्।

उनले भने, ‘अहिले पनि कोरोनाका कारण विद्यालय बन्द छन्,अनलाइनबाट पढाए पनि वैशाखसम्ममा कोर्स सकिँदैन, त्यसैले वैशाखसम्म पढाएर जेठबाट नयाँ शैक्षिक सत्र थाल्दा उत्तम हुन्छ।’

उनका अनुसार भानु मावि (दरबार हाइस्कुल) र रानीपोखरी संस्कृत माविले हालसम्म ६५ प्रतिशत कोर्स अध्यापन गरेका छन्। 

सरकारले ०७८ को चालू शैक्षिक सत्र असार १ देखि चैत मसान्तसम्म कायम गरेको थियो। तर, कोरोनाका कारण पठनपाठन प्रभावित भएको छ।

कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण सरकारले पुस २७ गतेदेखि माघ मसान्तसम्म शैक्षिक संस्था नखोल्न आदेश दिएको छ।

बन्द विद्यालय फागुन १ गते फेरि खोल्ने सरकारले तयारी गरेको छ।

तर, फागुनबाट कक्षा सञ्चालन गरेपनि कोर्स सक्न कठिन हुने काठमाडौं महानगरपालिका नजिकै रहेको नील बाराही माविका प्रधानाध्यापक डा.जानुका नेपाल बताउँछिन्।

​‘सरकारले वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने भने पनि त्यो समयसम्म पठनपाठन सकिँदैन, कोरोनाले विद्यालय बन्द नभएको भए सकिन्थ्यो, त्यसैले जेठ पहिलो हप्ताबाट शैक्षिक सत्र थाल्नुपर्छ,’ उनले भनिन्।

उनका अनुसार हालसम्म ६० प्रतिशत कोर्स विद्यालयले सकेको छ। काठमाडौं उपत्यकामा मात्र नभइ जिल्लाका विद्यालयलाई पनि कोर्स सक्न सकस छ।

पर्वतको नारायण माविका प्रधानाध्यापक गोविन्दप्रसाद पोखरेलले कोरोनाका कारण समयमा कोर्स सक्न कठिन भएको बताए। 

‘यहाँ केही विद्यालयले कोर्स सक्न लागेका छन् भने केहीले सकेका छैनन्, ग्रामीण भेगमा अनलाइनबाट पढाउने पहुँच पनि छैन,’ उनले भने, ‘त्यसैले सबै विद्यालयको पठनपाठनको अवस्था हेरेर मात्र सरकारले शैक्षिक सत्रको निर्णय लिनुपर्छ।’

उनले ८० प्रतिशत पढाइ सकेको र चैत मसान्तसम्म बाँकी पनि सकिने बताए। ‘एउटा विद्यालयको मात्र हेर्नु भएन, हामी त वैशाखबाट नै थाल्ने वातावरण बनाउँछौँ, अरुको विद्यालय अवस्था पनि हेर्नु पर्‍याे,’ उनले भने।

निजीमा पनि पढाइ सक्न कठिन

विद्यालय बन्द भएका वेला सामुदायिकभन्दा निजी विद्यालयले अनलाइनबाट भए पनि पढाइरहेकै छन्।

तर, त्यति गर्दा पनि निजीका शिक्षकलाई वैशाखसम्म कोर्स सक्न हम्मे हम्मे छ।

संस्थागत विद्यालय शिक्षक युनियनका अध्यक्ष होमकुमार थापा भन्छन्, ‘राम्रो गरि पाठ्यक्रममा भएका विषयवस्तु पढाउनै पर्‍याे, परीक्षा गराउनै पर्छ, यसो गर्दा वैशाखसम्म सबै विद्यालयले कोर्स सक्न सक्दैनन्, विषयवस्तु समायोजन भएमात्र वैशाखबाट थाल्ने सम्भावना हुन्छ।’ 

जेठको पहिलो वा दोस्रो साता नयाँ शैक्षिक सत्र थाल्नु राम्रो हुने सुझाव उनी सरकारलाई दिन्छन्। उनका अनुसार हालसम्म निजीमा ६०-७० प्रतिशत कोर्स सकिएको छ।

‘अनलाइनबाट पढाए पनि त्यति प्रभावकारी छैन, एउटा कक्षामा पढ्दै गर्दा समय नभएर सबै विषयवस्तु विद्यार्थीलाई नबुझाइ अर्को कक्षामा प्रवेश गराउनुको के अर्थ,’ उनी भन्छन्, ‘त्यसैले केही समय ढिला होस् तर, राम्रोसँग कोर्स सकियोस् भन्ने मेरो सोचाइ हाे।’

शैक्षिक सत्रबारे यसो भन्छ मानवस्रोत विकास केन्द्र

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले वैशाखमै नयाँ शैक्षिक सत्र थाल्ने सरकारको तयारी रहेको बताए। 

‘वैशाखबाट नै नयाँ शैक्षिक सत्र थाल्ने भन्ने निर्णय अहिलेसम्म फेरबदल भएको छैन, अझै पढाउने समय २ महिना छ, कोर्स नै नसकिने समस्या आए सरकारले केही सोच्ला नि,’ उनले भने।

विद्यालय बन्द भएपनि अनलाइनबाट अध्यापन भइरहेकाले चैतसम्ममा पाठ्यक्रम सकिने उनको आशा छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहायक प्रवक्ता धनबहादुर श्रेष्ठले फागुन र चैत महिनाको शिक्षण र सिकाइ हेरेर निर्णय लिइने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.