|

म्याग्दी : केरा र आलु खेतीमा रोगको प्रकोप देखिएपछि म्याग्दीका किसान चिन्तित भएका छन्। केरामा खपटे घुन र गबारो तथा आलुमा डढुवा रोगका कारण बोट सुक्न थालेका छन्।

बेनी नगरपालिका– २ बगरफाँट, खबरा‚ मंगला र रघुगंगा गाउँपालिकाका विभिन्न क्षेत्रमा लगाइएको केरामा रोगको प्रकोप देखिएको हो। केरा गाउँको रुपमा परिचय बनाएको खबरा र बगरफाँटमा खपटे घुनले सयौं रोपनी क्षेत्रफलमा लगाइएको केराका बोट सुक्न थालेको खबराका चन्द्रबहादुर कार्कीले बताए। केरा नपसाउँदै सुक्न थालेको उनले बताए। कार्कीले करिब आठ रोपनी क्षेत्रफलमा केरा खेती गरेका छन्।

बगरफाँटका बेदप्रसाद शर्माले खपटे घुनले पसाएको केरामा दाग देखिने, बोट सुक्दै जाने, बोट ढल्ने र उत्पादन पनि घट्दै गएको बताए। सुरुमा सामान्य ठानिए पनि केरा खेतीमा ठूलो क्षति पुर्‍याएको उनको भनाइ छ।

१० रोपनीमा केरा खेती गर्दै आएका दुर्गाबहादुर थापाले रोगको प्रकोपका कारण यस वर्ष केराको उत्पादन घटेको बताए। हजारी जातको केरा खेतीबाट वार्षिक तीन लाख रुपैयाँ आम्दानी हुँदै आएकोमा रोगको प्रकोपले यस वर्ष उत्पादन र आम्दानी घटेको उनले बताए।

‘झ्याङ भएको केरामा किरा र रोग लागेपछि सुरुमा पात सुक्दै जान्छ। त्यसपछि गुबो र विस्तारै बोट मर्ने गरेको छ‚’ उनले भने‚ ‘उपचारका लागि बोट वरिपरि काँटछाँट, सफाइ गर्ने र कृषि प्राविधिकको सिफारिसमा किटनाशक औषधि छर्कंदै आएका छौं।’

रोगको रोकथाम गर्न नसक्दा क्षति पुगेको खबराका शोभित शर्माले बताए। ‘लगानी पनि उठ्न गाह्रो हुने देखियो,’ उनले भने‚ ‘पसाउन सुरु गरेको केराको पात सुकेर बोट मर्न थाल्छ।’

धान फल्ने खेतमा लगाइएका केरा बोट मर्ने र पसाएका केराका कोसा पनि पोटिला हुन नसकेपछि किसानहरू मारमा परेका छन्। उनीहरुले स्थानीय सरकारसँग सहुलियत र सहयोगको माग समेत गरेका छन्।

त्यसैगरी डढुवा रोगका कारण आलुको बोट सुक्न थालेपछि समस्या भएको बगरफाँटका जितबहादुर कार्कीले बताए। औषधि प्रयोग गरे पनि रोगको प्रकोप कम नभएको बरु रातो कमिला समेत देखिन थालेको उनको भनाइ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.