|

हेटौंडा : कमल थापाले मंगलबार राप्रपा पार्टी परित्याग गरेका छन्। ३१ वर्षभन्दा लामो समय राप्रपामा बिताएका थापाले पार्टी परित्याग गरेपछि यतिवेला राप्रपा तरंगित बनेको छ।

१६ वर्षसम्म निरन्तर रूपमा राप्रपाको कमाण्ड सम्हालेका थापाले पार्टीको गएको निर्वाचनमा अध्यक्ष पदमा पराजित भएकै कारण पार्टी नै परित्याग गरेका छन्।

राजनीतिक एजेण्डाभन्दा बाहिर गएर आफ्नो स्वार्थका लागि जे पनि गर्ने चरित्रको रूपमा उनलाई नेपाली राजनीतिमा चिन्ने गरिन्छ। जसलाई उनी आफैँले मंगलबार पार्टी परित्याग गरेर साबित गरिदिएका छन्।

पार्टीको आन्तरिक चुनावमा भएको हार स्वीकार गर्न नसकेर राजा र निर्मलनिवासविरुद्ध निरन्तर तुष व्यक्त गर्दै आएका थापाले पार्टी परित्याग गर्दै गर्दा पनि एक घण्टासम्म राजाविरुद्ध नै विषवमन गरिरहे।

राजा आफ्नो सपनामा तगारो बनेको भन्दै आक्रोशित बनेका उनले राजनीतिमा नयाँ यात्राको सुरुवात गर्ने समेत उद्घोष गरेका छन्। राप्रपाका पूर्वअध्यक्ष समेत रहेका थापाले गृहनगर आएर अब सक्रिय राजतन्त्रको एजेण्डा बोकेर हिँड्न नसक्ने घोषणासमेत गरेका छन्।

उनको यो घोषणाअनुसार अब हिन्दु धर्मको साथमा उनको राजनीति अगाडि बढ्ने संकेत देखिन्छ।

मकवानपुर गृहजिल्ला भएका थापा २०४६ सालपछि शरदचन्द्र शाहमार्फत राप्रपाको राजनीतिमा छिरेका थिए। थापा २०४७ मा स्थापित सूर्यबहादुर थापा नेतृत्वको राप्रपाको राजनीतिक सचिव बनेका थिए।

२०४८ मा पार्टी एकीकरण पछि २०५८ सम्म उनले राप्रपाको प्रवक्ताको रूपमा जिम्मेवारी सम्हालेका थिए। २०५८ सालमा महामन्त्री बनेका थापा २०६२ पुसदेखि २०७८ मंसिर १५ गते अर्थात १६ वर्षसम्म राप्रपाको अध्यक्ष बने।

झण्डै दुई दशक राप्रपाको नेतृत्व सम्हालेका थापाले हिन्दुराष्ट्र र राजसस्ंथाको मुद्दा उठाउँदै राप्रपालाई नयाँ शक्तिको रूपमा स्थापित गर्ने बताउँदै आए पनि आफ्नो कार्यकालमा पार्टीलाई आफ्नै गृहजिल्लामा पनि बलियो बनाउन सकेनन्।

मकवानपुरबाट केन्द्रीय राजनीतिमा नेतृत्व गर्ने उनी एक मात्रै नेता हुन्।

१६ वर्षसम्म एउटै पार्टीलाई हाँक्ने मौका पाए तर थापाले आफ्नै जिल्लामा पार्टीलाई एउटा सिटसमेत दिलाउन सक्ने वातावरण बनाउन सकेनन्। जसले गर्दा मंगलबार उनले गृहजिल्ला हेटौंडामा पार्टी परित्यागको घोषणा गरिरहँदा उनका कार्यकर्ताले थापाले ३१ वर्षीय राजनीतिमा मकवानपुर जिल्ला र पार्टीलाई केही दिन नसकेको टिप्पणी गरेका थिए।

१६ वर्षसम्म थापाले राप्रपाको गाडी हाँक्दासम्म उनको आफ्नै जिल्लामा समेत पार्टीले जित्ने वातावरण बन्न सकेन। उसो त थापा आफैँ पनि ३१ वर्षे राजनीतिमा २ पटक मात्रै निर्वाचित भएका छन्।

उनी २०४३ र २०५१ सालमा मकवानपुर जिल्लाबाट सांसद निर्वाचित भएका थिए भने २०७० सालमा संविधानसभामा समानुपातिक तर्फबाट संविधानसभा सदस्य बनेका थिए। थापा विचार मिल्ने नमिल्ने सबै दलको सरकारमा सहभागी बनेका छन्।

मन्त्री हुनका लागि मरिहत्ते गर्ने उनको यस्तो प्रवृत्तिले गर्दा उनी निरन्तर रूपमा संसदीय निर्वाचनमा मकवानपुर–१ मा नेकपा एमालेका कृष्णप्रसाद दाहालसँग पराजित हुँदै आएका छन्। थापा हालसम्म ३ पटक निर्वाचनमा पराजित भइसकेका छन्।

व्यक्तिगत स्वार्थ र पदका पछाडि लाग्ने चरित्र बनाएका थापा ३१ वर्षको राजनीतिमा राजादेखि कम्युनिष्ट र कांग्रेस सबै सरकारमा सहभागी बन्न भ्याएका छन्। उनी विभिन्न समयमा १५ पटकभन्दा बढी मन्त्री बनिसकेका छन्।

थापा शेरबहादुर देउवा नेतृत्वको सरकारमा २७ भदौ २०५२ देखि २९ फागुन २०५३ सम्म कानुन न्याय तथा संसदीय व्यवस्था र स्थानीय विकासमन्त्री, लोकेन्द्रबहादुर चन्द नेतृत्वको सरकारमा १२ चैत २०५३ देखि २१ असोज २०५४ सम्म आवास तथा भौतिक योजना र परराष्ट्रमन्त्री बनेका थिए।

त्यसैगरी सूर्यबहादुर थापा नेतृत्वको सरकारमा २१ असोज २०५४ देखि २७ असोज २०५४ सम्म परराष्ट्र र कृषिमन्त्री, सूर्यबहादुर थापा नेतृत्वकै सरकारमा १८ मंसिर २०५४ देखि २ वैशाख २०५५ सम्म परराष्ट्रमन्त्री, २८ जेठ २०६० देखि २८ जेठ २०६१ सम्म सूचना तथा सञ्चार, स्थानीय विकास र स्वास्थ्यमन्त्री बनेका थापा राजा ज्ञानेन्द्र नेतृत्वको सरकारमा २२ मंसिर २०६२ देखि १९ माघ २०६३ सम्म गृहमन्त्री, केपी ओली नेतृत्वको सरकारमा २५ असोज २०७२ देखि २० साउन २०७३ सम्म उपप्रधानमन्त्री तथा परराष्ट्र र स्थानीय विकासमन्त्री, पुष्पकमल दाहाल नेतृत्वको सरकारमा ४ फागुन २०७३ देखि २२ चैत २०७३ सम्म उपप्रधानमन्त्री तथा स्थानीय विकासमन्त्री र देउवा नेतृत्वको सरकारमा २८ असोज २०७४ मा उपप्रधानमन्त्री बनिसकेका छन्।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.