|

काठमाडौं : सन् २०२० मा जब ९३ औँ ओस्कार अवार्डको अन्तरराष्ट्रिय फिचर फिल्म विधाका लागि आवेदन खुल्यो भुटानका पाओ चोनिङ दोर्जेले पनि आफ्नो फिल्म 'लुनाना : अ याक इन द क्लास' रुम दर्ता गराए। 

त्यसअघि भुटानले कुनै फिल्म पठाएको अभिलेख नभएपछि लुनानालाई उक्त प्रतियोगितामा समावेश गरिएन। यद्यपि सन् १९९९ मा ७२ औँ ओस्कारका लागि भुटानबाट 'द कप'ले ओस्कारमा भाग लिएको थियो। 

खिन्से नोर्वुको लेखन तथा निर्देशनमा बनेको उक्त फिल्म नै ओस्कारमा भाग लिने पहिलो र अन्तिम भुटानी फिल्म बन्यो। दुई दशकसम्म कुनै पनि फिल्मले भाग नलिएपछि लुनानालाई ओस्कारले चिनेको थिएन। 

ओस्कारले नचिने पनि 'लुनाना' विश्वका विभिन्न देशमा आयोजना हुने ठूला फिल्म फेस्टिभलमा छनोट भयो।

अमेरिकाको पाल्म स्प्रिङ, इटालीको देला लसिनिया, फ्रान्सको सेन्ट जिन डि लुज लगायतका इन्टरनेशनल फिल्म फेस्टिभलमा भाग लिएको लुनानाले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशक तथा उत्कृष्ट अभिनेताको रूपमा अवार्ड पनि हात पार्‍यो। 

धेरै वटा फेस्टिभलमा उत्कृष्ट प्रतिक्रिया पाएको 'लुनाना'मा ओस्कारको पनि आँखा पर्‍यो र ९४ औँ संस्करणका लागि समावेश गरायो। 

सोही लुनाना ९४ औँ ओस्कारको इन्टरनेशनल फिचर फिल्मको विधामा मनोनयनमा परेको छ। ९२ देशका फिल्म सहभागी उक्त विधामा 'लुनाना' अन्तिम पाँचमा पर्न सफल भएको हो।

'लुनाना'सँगै उत्कृष्ट पाँचमा जापानको 'ड्राइभ माइ कार', इटालीको 'द ह्याण्ड अफ गड', डेनमार्कको 'फ्ली' र नर्वेको 'द वर्स्ट पर्सन इन द वर्ल्ड' रहेका छन्।

आउँदो मार्च २७ मा अमेरिकाको क्यालिफोर्नियामा आयोजना हुने अवार्ड कार्यक्रममा यी पाँच फिल्ममध्ये एकले बेस्ट इन्टरनेशनल फिचर फिल्मको अवार्ड हात पार्नेछ। 

मंगलबार ओस्कार अवार्डको आयोजक एकेडेमी अफ मोसन पिक्चर्स आर्ट्स एण्ड साइन्सले यो वर्ष २३ विधामा अन्तिम मनोनयनमा परेका फिल्मको नाम सार्वजनिक गरेको थियो। 

आफ्नो फिल्म अन्तिम पाँचमा परेपछि लेखक तथा निर्देशक दोर्जेले खुसी व्यक्त गरेका छन्। ओस्कार नोमिनेशनमा पर्ने निर्देशक नभएर एउटा भुटानी भएको नाताले आफू बढी खुसी रहेको उनले आफ्नो सामाजिक सञ्जालमार्फत बताएका छन्। 

'हिमालयका हिमनदीहरूबाट ओस्कारसम्मको यो सानो फिल्मको असम्भव यात्रा कला र रचनात्मकताका सबै सम्भावनाको उत्सव हो'‚ उनले भनेका छन्, 'संसारका सबैभन्दा दुर्गम स्थानहरूमध्येको एक ठाउँबाट सरल र आवश्यक मानव मूल्य प्रदर्शन गर्दै हाम्रो फिल्मले मानिसहरूको हृदय छुनेमा हामी आशावादी छौँ। विशेष गरी यो कठिन समयमा।' 

लेखन तथा फोटोग्राफीमा सक्रिय ३८ वर्षीय दोर्जे सन् २०१२ देखि फिल्म क्षेत्रमा सक्रिय छन्। द कपका लेखक तथा निर्देशक नोर्वुको चर्चित फिल्म 'भारा : अ ब्लेसिङ'मा सहायक निर्देशकको रूपमा काम गरेका दोर्जेले २०१६ मा नोर्वुकै लेखन तथा निर्देशन रहेको फिल्म 'हेमा हेमा' निर्माण गरेका थिए। 

दोर्जेले 'लुनाना'को यो सफलता आफ्ना गुरु नोर्वु र सम्पूर्ण भुटानी जनतालाई समर्पित गरेका छन्। सोसिअल ड्रामा जनरामा बनेको फिल्ममा युगेन नामक युवा शिक्षकको कथा रहेको छ। जो तालिमका क्रममा शहरी क्षेत्रबाट उत्तरी भेगकाे दुर्गम गाउँमा रहेकाे लुनाना सामुदायिक विद्यालय पुग्छन्। त्यहाँ जीवनलाई हेर्ने उनको दृष्टिकोण नै बदलिन्छ। 

फिल्ममा शेराब दोर्जे, युगेन नोर्वु लेन्डुप, केल्देन ल्हामो गुरुङ, कुन्जङ वाङदीको मुख्य भूमिका रहेको छ। 

भूगोल तथा जीवनशैली मेल खाने हुनाले 'लुनाना'ले नेपालको कथाको पनि प्रतिनिधित्व गर्नेछ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.