|

सल्यान : सल्यानमा ३३ प्रतिशतले महको उत्पादन घटेको छ। भारी मात्रामा मह उत्पादनमा गिरावट आएपछि यहाँका मौरीपालक कृषक मारमा परेका छन्।

गत वर्षभन्दा यो वर्ष ३३ प्रतिशतले मह उत्पादनमा गिरावट आएको कृषि विकास कार्यालय सल्यानले जनाएको छ।

उत्पादनको क्षेत्रफल बढे पनि चिउरी फूल्ने समयमा लगातार वर्षा हुँदा उत्पादनमा कमी आएको कार्यालयका सूचना अधिकारी रेशमकुमार बस्नेतले जानकारी दिए। उनले भने ‘गत वर्ष १२.१ मेट्रिक टन मह उत्पादन भएको थियो तर यो वर्ष ३३ प्रतिशतले गिरावट आएको छ।’

गत असोज कात्तिक महिनामा धेरै पानी परेपछि चिउरी फूलको रस र अन्य फूलको रस बगाउँदा मह उत्पादन घटेको कृषक लोकेन्द्र वलीले बताए।

‘मौरीलाई चरन क्षेत्रको अभाव, जलवायु परिवर्तन, निरन्तर वर्षा लगायतका कारण मह उत्पादन घट्दै गएको छ’, उनले भने। विगतका वर्षहरूमा ८ देखि १० क्विन्टलसम्म मह बिक्री गरेका वलीले यो वर्ष मुस्किलले २ क्विन्टल जति मात्र भएको बताए।

उनले भने‚ ‘बेमौसमी वर्षाले मौरी क्षेत्रका चिउरी र अन्य सिजनका फूलमा पानी जम्मा भएर सबै बगाएर लग्यो। आहारा नपाएपछि मौरीले के मह देओस्।’ 

जिल्लामा २ हजार ३७० हेक्टर क्षेत्रफलमा मौरी पालन हुँदै आइरहेको छ। कृषि विकास कार्यालयले कालिमाटी गाउँपालिकालाई मौरी ब्लक क्षेत्रका रूपमा विकास गरेको छ।

किसानलाई अनुदान तथा प्राविधिक सहयोग गर्दै आए पनि उत्पादन भने घट्दै गइरहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.