|

विराटनगर : राजतन्त्र समर्थक दल राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन र पार्टी अध्यक्षमा पराजित भएका पूर्वअध्यक्ष कमल थापाबीच पार्टीको चुनाव सकिएलगत्तै 'वाकयुद्ध' चल्दै आएको छ। यसै क्रममा शुक्रबार इटहरीमा दुवैले बेग्लाबेग्लै पत्रकार भेटघाट गरी फेरि पनि आपसमा 'शाब्दिक क्षेप्यास्त्र' प्रहार गरेका छन्।

झापाका लागि काठमाडौंबाट हिँडेका थापा विराटनगर एयरपोर्ट हुँदै इटहरी पुगेका थिए। एकैदिन इटहरी पुगेका थापा र लिङदेन दुवैबीच 'राजनीतिक घोचपेच' चलेको थियो। पत्रकारसँगको कुराकानीमा उनले राप्रपा राजनीतिक शक्तिभन्दा पनि एउटा विषयलाई पुनःस्थापित गर्ने संघर्ष समितिमा परिणत भएको आरोप लगाए।

इटहरीमा शुक्रबार नै पत्रकार भेटघाट गर्दै राप्रपा अध्यक्ष लिङ्देनले पार्टीको स्पष्ट वैचारिक धारणा रहेको बताए। उनले राजतन्त्र सहितको हिन्दु राष्ट्रको मागमा राप्रपा रहेको बताउँदै पार्टी सङ्घर्ष समिति हो कि के हो भन्ने विषयमा कसैलाई जवाफ दिइराख्नुपर्ने जस्तो नलागेको बताए। उनले उल्टै थापालाई प्रश्न सोधे, ‘उहाँले ३१ वर्षसम्म पार्टी चलाउनु भएको थियो कि सङ्घर्ष समिति?’

झापा, मोरङ र सुनसरीका अगुवा पार्टी कार्यकर्तासँग राय सुझावका लागि प्रदेशस्तरीय भ्रमण तथा भेटघाटमा निस्किएका थापा र बहालवाला राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले शुक्रबार फरक–फरक स्थानमा पत्रकार भेटघाट गरेका थिए। 

राप्रपाका पूर्वअध्यक्ष कमल थापाले माघ २५ गते गृहजिल्ला मकवानपुर पुगेर पार्टी परित्याग गरेको घोषणा गरेका थिए। पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको भन्दै उनले त्यसलाई सुधार गरेर आफ्नो चाहनाको विषय सुनुवाइ नभएको कारण देखाउँदै आफू पार्टीबाट अलग भएको बताएका थिए।

अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेका थापा यति वेला प्रदेश १ भ्रमणमा छन्। उनी नयाँ पार्टी दर्ता गर्ने तयारीमा रहेका छन्। पूर्वराजा ज्ञानेन्द्र शाह र र पार्टी अध्यक्ष लिङदेनप्रति आक्रोशित थापाले ३ दशकदेखि राजसंस्था भन्दै पछि लागे पनि राजसंस्थाले आफूप्रति षडयन्त्र गरेको आरोप लगाए।

राप्रपा एकीकरण कार्यक्रममा गीता छोएर कहिल्यै पार्टी नफुटाउने घोषणा गरेका थिए थापाले अध्यक्षमा पराजित भएको २ महिना नबित्दै पार्टी त्यागेर देश दौडाहामा निस्किएका उनले राप्रपा संघर्ष समितिमा परिणत भएको आरोप इटहरी आएर लगाए।

उनले राप्रपा निर्मल निवासको रिमोट कन्ट्रोलबाट संचालन हुने सम्भावना देखिन थालेको विषय पार्टी अध्यक्षलाई सम्पर्क गरेर ध्यानाकर्षण गराए पनि अध्यक्षले रद्दीको टोकरीमा फालेको आरोप लगाए। थापाले राप्रपामा हस्तक्षेप गरेको निर्मल निवासले अन्य पार्टीमा समेत चलखेल हुनसक्ने भन्दै बेलैमा अन्य दलसमेत सजग रहन आग्रह गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.