काभ्रे : धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र पनौती नगरपालिका–७ स्थित त्रिवेणीघाटमा प्रत्येक १२ वर्षमा लाग्ने मकर मेलामा दर्शनार्थीको घुइँचो लागेको छ।
माघे संक्रान्तिबाट सुरु भएको मकर मेला आज शनिबार अन्तिम दिन भएकाले त्रिवेणीघाटस्थित कुण्डमा मकर स्नान गर्ने र मेला हेर्न आउनेको घुइँचो लागेको हो।
कोरोना संक्रमण जोखिम हुँदाहुँदै भक्तजन मेला भर्न पनौती आएका छन्। मेलामा आएका दर्शनार्थीको भीड नियन्त्रण भने भएको छैन।
स्वास्थ्य मापदण्ड अपनाएर सामाजिक दूरी कायम गरी स्नान गर्ने भनिए पनि सयौंको संख्यामा दर्शनार्थी सहभागी छन्।
मकर मेलाका अवसरमा पनौतीस्थित त्रिवेणीघाटमा स्नानका लागि देश तथा विदेशबाट भक्तजनको उत्तिकै भीड रहेको छ।
आयोजकका अनुसार आज एक लाखभन्दा बढी भक्तजन मेला भर्न आएका छन्।
पनौती–७ का वडाध्यक्ष रामचन्द्र नास्नानीले एक सातादेखि बढ्दै गएको घुइँचोका कारण पनौतीस्थित त्रिवेणीघाट क्षेत्र र गोरखनाथ डाँडामा भक्तजन निकै बढेको बताए।
मेलामा आउने श्रद्धालुहरूका कारण पनौती-बनेपा सडकखण्ड हुँदै भक्तपुर जिल्लाको जगतीसम्म सवारीसाधन जाम हुँदा अरनिको राजमार्ग अस्तव्यस्त बनेको छ।
पद्मावती, लीलावती र रुद्रावतीको संगम त्रिवेणीघाटमा स्नान गरे पाप मोक्ष हुने जनविश्वास छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।