सामाजिक बन्धनलाई तोड्दै फक्रिएको प्रेमको त्यो ‘किस्सा’…

|

विराटनगर :  भनिन्छ प्रेमको आकार बृहत हुन्छ। यसमा जात, धर्म, रङ, उचाइको कुनै मूल्यांकन हुँदैन। हुन त प्रेमलाई सामान्य  अर्थमा परिभाषित गर्न असम्भव छ।

तर, यही बृहत् क्षेत्रफल ओगटिएको प्रेमको आकारमा साँघुरिएको सामाजिक कुरीति र फरक विचारका कारण कतिको प्रेम सम्बन्ध विफल भएका छन्।

यिनै विविध समाजिक बन्धनलाई तोड्दै अन्तरजातीय, अन्तरधार्मिक विवाह बन्धनमा बाँधिएका विराटनगर-११ का ओसिम आलम र सन्जु राई उदाहरणीय जोडी हुन्।

आदिवासी समुदायमा जन्मेकी सन्जु राई र मुस्लिम समुदायमा जन्मेका ओसिम आलमले वैवाहिक जीवन यात्रा तय गरेको ११ वर्ष बितिसक्यो। उनीहरू जुन समयमा वैवाहिक बन्धनमा बाँधिएका थिए त्यो समय जातीय विभेदको चरम उत्कर्षमा थियो। र अहिले पनि छ। त्यहि समाजमा हुर्कंदै गरेको उनीहरूको प्रेम जोडीलाई न समाजले रोक्न सक्यो न परिवारले। उनीहरूको जोडी  यही समाजमा उदाहरणिय र परिवर्तनको संवाहक बनेको छ।

‘त्यो समय अन्तरजातीय विवाह गाह्रो नै थियो तर, म राजनीतिकर्मी भएकाले पनि म र मेरो परिवार बुझ्ने नै हुनुहुन्थ्यो,’ आलमले विगत स्मरण गर्दै भने, ‘हाम्रो जोडीलाई विवाहपछि त्यस्तो चुनौती झेल्न त परेन तर, समाजलाई परिवर्तन गर्नुपर्छ भन्ने धारणा चाहिँ थियो।’

आलम अनेरास्ववियू केन्द्रीय सहअध्यक्ष तथा नेकपा(एस) को मोरङ जिल्ला उप–सचिव हुन् भने उनकी धर्मपत्नी सञ्जु सौर्य बचत तथा ऋण सहकारी संस्था लिमिटेडकी व्यवस्थापक  हुन्। उनीहरूको एक छोरा र एक छोरी छन्।

प्रेमको त्यो किस्सा

एमाले पार्टी कार्यालय छेउमै लक्ष्मण राई अर्थात् आलमको ससुरा बुवाको सानो क्यान्टिन छ। जहाँ राजनीतिक यात्रामा होमिएका आलमको भोक मात्रै होइन देशको प्रधानमन्त्री भइसकेका केपी ओली, माधव नेपाललगायत शीर्ष नेताहरूले पनि चियाको  ‘तलतली’ मेटाएका छन्।

उनै लक्ष्मण बुवाको क्यान्टिनमा तत्कालीन अनेरास्ववियूको केन्द्रीय सदस्य रहँदा खाना खाने क्रममा सञ्जुलाई भेटेका थिए। उनले सञ्जुलाई  भेटेनन् मात्रै उनको स्वभावलाई मनमा कैद पनि गरे।

मोरङको रंगेलीमा जन्मेको भए पनि राजनीतिक भविष्यलाई थप सुनौलो बनाउन विराटनगर आएका आलम उनको  परिवार भने अहिले पनि रंगलीमा नै बसोबास गर्दै आइरहेका छन्।

‘म राजनीतिकर्मी स्वाभावैले पनि संगठन विस्तार यावत कुराले व्यस्त रहन्थें, रुममा खाना बनाएर खान समय हुँदैनथ्यो पार्टी कार्यालय छेउमै ससुरा बुवाको क्यान्टिन भएकाले म त्यहीँ खाना खान्थेँ,’उनले पुरानो किस्सा सम्झँदै सुनाए,‘मलाई उनको स्वभाव मन पर्‍यो मैले प्रेम प्रस्ताव राखेँ।’

‘तर, खाना खाने बहानामा सञ्जुलाई नै पाउने, विवाह गर्ने चाहना राखेर भने गएको थिइनँ,’ उनी हाँस्दै थप्छन्। समय र परिवेशले प्रेम भाव निम्त्याएको उनी सुनाउछन्।

तीन दिनपछि प्रस्ताव स्वीकार

त्यो समय सञ्जु डिग्री पढ्दै थिइन्। कलेजको समयपछि क्यान्टिनमा बुवा-आमालाई सघाउने उनको दैनिकी थियो।  कम बोल्ने साधारण जीवनशैली  र व्याहवारिक स्वभावले पनि आलमको मन जितेकी उनले प्रेम प्रस्ताव राखेको तीन दिनमा स्विकारेकी थिइन्। कम बोल्ने स्वभाव भएकैले पनि उनका धेरै साथी थिएनन्।

पढाइ र परिवारलाई संसार सम्झेकी उनलाई प्रेम स्विकार्ने वा नकार्ने भन्ने मन र मस्तष्किको अन्तरद्वन्द्वले असहज भएको  सञ्जुले सुनाइन्। उनले आलमसँग नै प्रेममा पर्छु र विवाह हुन्छ भन्ने सोचेकी थिइनन्। ‘सबै कुरा अचानक नै हुने रहेछ। ,’ विगत सम्झँदै उनले भनिन्।

क्यान्टिनमा हुने दैनिक भेटघाटले पनि आलमको स्वभावबारे थाहा भएकाले उनले प्रस्ताव राखेको तीन दिनमा स्वीकार गर्दै प्रेम यात्रा आरम्भ गरेका थिए।

 ‘क्यान्टिङमा दैनिक जस्तो हाम्रो भेट हुन्थ्यो, उहाँको स्वभाव थाहा नै थियो,’सञ्जुले सुनाइन्,‘मलाई निर्णय लिन चाहिँ गाह्रो नै भएको थियो। परिवार रोज्‍ने कि यता प्रेम सम्बन्ध भनेर। यद्यपि, मैले तीन दिनमा उहाँले राख्नुभएको प्रेम प्रस्ताव स्वीकार गरेँ।’

आलमको राजनीतिक यात्रा र सञ्जुको पढाइको यात्रामा सहयात्री बनेको थियो उनीहरूको प्रेम। उनीहरूले प्रेमलाई विवाहमा परिणत गर्न धेरै समय लगाएनन् अर्थात् उनीहरू प्रेममा परेको तीन महिनापछि विवाह बन्धनमा बाँधिएका थिए।

‘त्यो समय डेटिङ जाने भेट्ने समय पनि थिएन फेरि सबैले चिन्ने भएकाले जोडी भएर जाने अवस्था पनि थिएन र दुवैलाई फुर्सद पनि थिएन,’ आलमले भने, ‘मैले त बिहे गर्न चाहन्छु सोचेर जवाफ दिनु भनेको थिएँ, त्यहीअनुसार जवाफ पनि आयो र तीन महिनापछि  विवाह पनि भयो।

उनीहरूको विवाहको निर्णयलाई दुवैजनाको परिवारले जटिल रूपमा लिएनन्। दुवैको परिवार र व्यक्तिगत जीवनमा असर नपरेको र  आफूहरूको सम्बन्धलाई स्विकार्दै वैवाहिक जीवन यात्रालाई अगाडि बढ्न परिवारले थप हौसला थपिदिएको आलम दम्पती बताउछन् ।

दुवै समुदायको परम्परागतअनुसार विवाह

समाज  परिवर्तनका लागि विद्रोह गर्दै अन्तरजातीय र अन्तरधर्म विवाह गरेको आलम र राईको जोडीले दुवैजनाको धर्म, संस्कृति र परम्पराअनुसार विवाह गरेका थिए।

एकअर्काको धर्म र परम्परालाई स्विकार्नुपर्छ  भन्ने दुवै जोडीको विचारलाई व्यवहारमा समेत उतार्न सफल भए।

 ‘राईको पूजामा रक्सी र सुँगुरको मासु नभएसम्म नचल्ने यता मुस्लिम समुदायको त्यो सबै नचल्ने यसलाई मिलाउने कुरा धेरै थियो’ उनले भने,‘ मैले रंगेलीमा सञ्जुलाई लगेर निकाह गरेँ र राई परम्पराअनुसार जन्ती पनि गएँ।’

धर्मलाई व्यापार गर्न नकारात्मक व्याख्या गर्ने गरेको बताउने आलम भन्छन, ‘सुँगुरको ठाउँमा ससुरालीको परम्परामा अन्य चिज नै राख्दा पनि चल्नेरहेछ।’  ‘निकाह गरेर राईको घरमा मुस्लिमको छोरा जन्ती पनि जानुहुने रहेछ ’ उनी थप्दै भन्छन्।

 

ओखलढुंगा पुर्ख्यौली थाकथलो रहे पनि सञ्जु विराटनगरमै जन्मेका कारण मुस्लिम समुदाय र परम्परालाई नजिकबाट नै नियालेकाले  त्यो परम्परामा घुलमेल हुन खासै असहज नभएको उनले सुनाइन्।

उनी भन्छिन्,‘सबै समुदाय र धर्मको परम्परा, संस्कारको आफ्नै महत्व हुन्छ र यसलाई सम्मान पनि गर्नुपर्छ।’

एक-अर्कालाई बुझ्न सके घरको पिलर मजबुद

घरको जग र व्यहवार बलियो हुनु नारीको अहम भूमिका रहने आलमको बुझाइ छ। एक-अर्कालाई गहिरिएर बुझ्न सके घरको पिलर मजबुद हुने आलम बताउँछन्। राजनीतिक सफलतासँगै सामाजिक सक्रियतामा जीवन संगिनीको दह्रो साथ रहेको उनको भनाइ छ।

 ‘म श्रीमती छोराछोरीलाई भनेको बेला समय दिन पाउदिनँ सञ्जुले गुनासो त गर्दिनन् तर ,कहिलेकाहीँ मजाक गरेरै भए पनि समय माग्दा म दिन सक्दिनँ,’आलम भन्छन्,‘कहिले राजनीतिक क्रियाकलाप, कहिले हाम्रो अभियानको टिमसँग सामजिक काम यस्तै व्यस्तताले म परिवारलाई समय दिन सकिरहेको हुँन्‍न।

समाज बलियो हुन घर बलियो हुनपर्छ भन्ने उनको भनाइ छ। श्रीमानको व्यस्तता र व्यवहार पहिलेदेखि नै बुझेर वैवाहिक जीवनयात्रा सुरु गरेको बताउने सन्जु आफैँ पनि कार्यालय र बच्चाको स्याहारमा व्यस्त रहने बताउँछिन्।

उनी भन्छिन्,‘एकले अर्कालाई बुझ्न सकिएन भने त वास्तविक घर साँच्चिकै घर रहँदैन नि त्यसैले पनि बुझ्नैपर्‍यो।’ सम्बन्ध  दिगो बनाउन एक-अर्कामा बुझ्न जरुरी भएको र भरोसा मर्न दिनु नहुनेमा उनले जोड दिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.