|

विराटनगर : १८ वर्ष अगाडि राजनीतिक भागदौडमा एक्लै जीवनयात्रा गरिरहेका प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईका लागि प्रेम, विवाहजस्ता विषय कल्पना बाहिरको कुरा थियो। राजनीतिकर्मी नै रहेकी शोभा पाठकले जब उनको जीवनमा प्रवेश गरिन्। उनको जिन्दगीले नयाँ मोड लियो अर्थात्, उनी जोडी बाँधिए।

‘त्यो समय राजनीतिक भविष्य बनाउन एक्लै हिँडेको मान्छे मलाई विवाह, प्रेमबारे सोच्नै समय हुँदैनथ्यो,’ मुख्यमन्त्री राईले विगत सम्झँदै भने, ‘त्यो समय विवाह नभएको भए सायद अहिले पनि विवाह हुँदैनथ्यो होला।’

विद्यार्थी कालदेखि राजनीतिमा सक्रिय रहेकी शोभा र मुख्यमन्त्री राई वैवाहिक बन्धनमा बाँधिएको १८ वर्ष भयो। जीवनको आरोह, अवरोह एकैसाथ पार गरेका राई दम्पतीको पहिलो भेट विद्यार्थी राजनीतिका दौरान भएको थियो।

भोजपुरको किमालुङमा जन्मेका राई एसएलसीसम्मको पढाई सकेर  रत्न राज्य क्याम्पसमा उच्च शिक्षा हासिल गर्न काठमाडौँ गएका थिए। उनकी धर्मपत्नी शोभाको जन्मस्थल काठमाडौँ नै भएकाले पनि उनीहरूको विविध राजनीतिक कार्यक्रममा भेट हुने गर्दथ्यो।

‘म भोजपुरमा जन्मेको भए पनि पढाई का लागि काठमाडौँ गएको थिए, शोभाको जन्म घर उहीँ हो,’ उनले भने,‘उनी स्कुलले जीवन देखि नै सक्रिय राजनीति गर्ने भएकाले विभिन्न कार्यक्रममा पातलो भेट हुन्थ्यो तर, लामो भेट चाहिँ उनी पनि आरआर क्याम्पसमा सँगै पढेदेखि भएको हो।’

दिदीको विवाहपछि सुरु भयो वैवाहिक यात्रा 

तत्कालीन समयमा राजनीतिक क्षेत्रमा होमिएका राई दम्पतीको रमाइलो गरौँ भन्ने उमेर पार्टीको सांगठनिक काममा नै  बित्यो। भाग दौड व्यस्त जीवनशैलीसँगै, राजनीतिक भविष्य र पढाइलाई एकै साथ लिएर सङ्घर्षपूर्ण यात्रा गरिरहेका राजेन्द्र राईका लागि  र  पढाई र राजनीतिलाई एउटै लयमा लिएर यात्रा गरिरहेका शोभाका लागि त्यो समय प्रेमका गफ गर्ने एकै छिन् कतै घुम्न जाऊ भन्ने विषयमा सोच्ने फुर्सद नै थिएन।

एक अर्का प्रतिको बुझाई र भरोसामा अडिएको उनीहरूको सम्बन्ध भेट भएको १६ वर्षपछि पारिवारिक सहमतिले विवाहमा परिणत भएको थियो। ‘त्यो समय डेटिङ जाने, घुम्न जाने, कहीँ रेष्टुरेण्टमा जाने चलन पनि थिएन, मेरो दिदीको विवाहमा उहाँ आउनुभएको थियो म अखिलको कार्यकर्ता भएकाले प्राय विद्यार्थी सङ्गठनका नेतालाई निमन्त्रण गरेका थियौँ,’ शोभाले भनिन्,‘दिदीको विवाहमा आएपछि अब मेरो पनि विवाह हुन्छ होला भन्ने भएर होला उहाँले विवाहको प्रस्ताव राख्नुभयो र मैले पनि यतिको मान्छे ठिक छ भन्ने लाग्यो।‘  उनी थप्छिन्।‘भेट भएको १५-१६ वर्षपछि विवाह भएको हो।’

राजनीतिमा यात्रा आरम्भ गर्दा ताका नै आमा बुवाको चिन्ता सङ्गठनमा हिँड्दा अन्तरजातीय विवाह होला भन्ने चिन्ता नभएको पनि होइन। तर, उनको दाइ पनि  विद्यार्थी राजनीतिमा सक्रिय भएकाले पनि अन्तरजातीय विवाहको विषयमा रोकतोक नभएको उनले सुनाइन्।

‘०४६ सालमा कमिटी बनाउनका लागि धेरै वटा विद्यार्थी सङ्गठनहरू आएका थिए, म सानो कक्षामा भए पनि ठूलो क्लासकाले उसले जे भन्छ त्यही हुन्छ भन्दै म तिर इङकित गर्थ्यो, मैले कुनै पनि सङ्गठनलाई  हुँदैन भन्दै फर्काइदिन्थे,’ विगत सम्झँदै उनले सुनाइन्,‘हाम्रो घर छेवैमा पाँचथरको एक जना दाइ बस्नुहुन्थ्यो उहाँले घरमा आएर कुरा गर्नुभयो, परिवारमा पनि दाइले सहयोग गर्दै भन्नुभयो र त्यो समय आमाबुवाले सङ्गठनमा हिँड्दा अन्तरजातीय विवाह गर्यो‍ भने के गर्ने पनि भन्नु भएको थियो। तर, दाइले बहिनीले जो मन पराउँछ उसैसँग विवाह गरिदिन्छु भन्नुभएको थियो त्यो हिसाबले पनि हामीलाई विवाह गर्न असहज भएन।’

साधारण जीवनशैली जिउन मन पराउने मुख्यमन्त्री राईले विवाह पनि साधारण तरिकाले  गरे। पार्टीका कार्यकर्ता र आफन्तलाई साक्षी राखेर शोभालाई जीवनसाथी बनाएका उनलाई व्यक्तिगत जीवन र पारिवारिक जीवनमा अन्तरजातीय विवाहले कुनै असहज नभएको बताए।

‘म माथिल्लो तहको नेता भएकाले र समाजमा स्थापित भएको हुनाले पनि मेरो विवाह गर्दा व्यक्तिगत र पारिवारिक जीवनमा केही असहज भएन,’ मुख्यमन्त्री राईले भने,‘हाम्रो विवाहमा परिवारको पनि साथ थियो।, र अहिले पनि छ।’

आर्य परिवार र किराँत परिवारमा हुर्केका राई दम्पतीले दुवैको संस्कार, संस्कृतिबाट विवाह  गरेनन्।  दाम्पत्य जीवन सुखमय बनाउन एकले अर्कालाई बुझ्नु र मायालाई सम्मान गर्नुपर्ने विचार राख्ने उनीहरू एकले अर्काको संस्कार र संस्कृतिलाई स्वीकार गर्दै विवाह यात्रा अगाडी बढ्नमा दुवै तर्फको परिवारको साथ बलियो रहेको शोभा बताउँछिन्।

इन्गेजमेन्टको गोप्य औँठी 

विपन्न परिवारमा हुर्किएका समाज परिवर्तनका लागि राजनीतिक यात्रा तय गरेका राई विवाह गर्ने क्रममा सामान्य तरिकाले गर्ने सोच राखेको भए पनि उनको धर्मपत्नी र सासु आमाले थाहा नपाई इन्गेजमेन्टको औँठी बनाएर दिएको वर्षौँसम्म राईलाई थाहा नै नदिएको शोभाले सुनाइन्।

‘उहाँले त टिका मात्रै लगाएर विवाह गर्ने भन्नु भएको थियो तर, आमाले मान्नुभएन,’उनले विगत सुनाउँदै भनिन्,‘उहाँले थाहा नै नपाई दुवै जनाका सुनको औँठी बनाएर साथीको माध्यमबाट दिएको थिए,जुन कुरा आमा र बाहेक कसैलाई थाहा थिएन।’

श्रीमान् अपरहणमा पर्दा

तत्कालीन अवस्थामा माओवादीको सशस्त्र द्धन्दको समय थियो। त्यहि समय शोभा र मुख्यमन्त्री राई भोजपुर घर गएका थिए। भर्खरै नयाँ जीवनको सुरुवात गरका राई दम्पती जन्मथलो टेकेको सात दिनमा मुख्यमन्त्री राईलाई माओवादीले अपहरण गरेका थिए।

नयाँ ठाउ,परिवेश र नयाँ परिवारसँग भर्खरै घुलमिल हुँदै गरेकी शोभाका लागि त्यो समय बज्र परे र्झैँ अनुभूती भएको शोभाले सुनाइन्। ‘त्यो समय मैले कसैलाई पनि चिनेकी थिइन्, परिवारसँग घुलमिल हुँदै गर्दा उहाँलाई अज्ञात समूह आएर लग्यो,’उनले भावुक हुँदै सुनाइन्, ‘कसैलाई नभन्नु भनेर हामीलाई भनेका थिए, के गर्ने कसरी उहाँलाई फर्काउने भन्ने त्यो समयको कुराले अझै पनि मन कुडिएर आउछ।’ उनले थपिन्,‘पछि भोजपुरबाट पैदल हिँडेर संखुवासभा पुगेर सबै सङ्गठनका साथीभाईलाई फोन सम्पर्क गरेपछी काठमाडौंको चर्को आन्दोलन पछि उहाँलाई सात दिनमा छोडिदिएको थियो।’

त्याग पनि हो ‘सम्बन्ध ’

राजनीतिमा भविष्य बनाइसकेकी शोभाले विवाहपछि यात्रालाई नै परिवर्तन गरिन्। राजनीतिक यात्रालाई विट मात्रै शोभाले शैक्षिक पेसामा यात्रा आरम्भ गरेकी थिइन्।  सामान्य परिवारमा हुर्केका राईको राजनीति भविष्यलाई थप शिखरमा पुर्‍याउन धर्मपत्नी शोभाको भूमिका बलियो रहेको  मुख्यमन्त्री राई बताउछन्। 

श्रीमानको सफलतामा खुशी रहेको बताउने शोभालाई आफ्नो त्याग प्रति कुनै गुनासो नरहेको बताउँछिन्। ‘म सँगै राजनीति गरेका साथीहरु कति सांसद भए, तर, मलाई श्रीमानको सफलतामा नै खुशी छु,’ उनी भनिछन्,‘मैले गरेको त्याग प्रति मलाई केही गुनासो छैन।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.