|

विराटनगर :  भनिन्छ ‘प्रेमको बाटोले कुनै चिज पाएको अनुभूति गराउँछ।’ यस्तै  अनुभूति १३ वर्ष अगाडि प्रदेश १ का सामाजिक विकासमन्त्री राजन राईले पनि पाएका थिए, मुना खड्काको साथमा।

खोटाङमा जन्मेका राई र उही ठाउँमा जन्मेकी मुनाको घरको गन्तव्य दूरी एक घण्टाको थियो। राजानीतिकलगायत विविध कामले मुनाको घरछेउको  बाटो हिँड्दै गर्दा राई दम्पतीको प्रेम फक्रिएको थियो।

‘हाम्रो एउटै गाउँ उनको र मेरो घर एक घण्टाको दुरीमा पर्छ', उनले भने,‘उनी कलेजको विद्यार्थी थिइन्। म पार्टीको कामले आकलझुकल घरको बाटो हिँड्दा कहिले जम्काभेट त कहिले सँगसँगै हिँड्ने मौका पनि जुरायौँ।’ सँगै हिँड्दा भावनात्मक रूपमा एकअर्कालाई चिनजान हुने मौकाले पनि प्रेम यात्रा अगाडि बढेको मन्त्री राई बताउँछन्।

त्यसो त मुना राजनको भाइबहिनीको सहपाठी थिइन्। त्यही आधारले पनि राजनसँग चिनजान बढेको मुनाले सुनाइन्। ‘उहाँको भाइबहिनी मेरो सहपाठी थिए, तर उहाँ मेरै सहपाठीको दाइ भन्ने थाहा थिएन’, उनले सुनाइन्,‘दिक्तेल क्याम्पसमा भेट भयो एकअर्कामा परिचय भएपछि उहाँले भाइ र बहिनीको नाम लिनुभयो त्यसपछि कुराकानी बढ्दै गएको हो। ’

नेतालाई साक्षी राखेर विवाह

दुवैजना सक्रिय राजनीतिमा होमिएका राई दम्पतीले  केही समयको प्रेम सम्बन्धपछि विवाह बन्धनमा बाँधिने निधो गरे। उनीहरुको प्रेम सम्बन्धबारे परिवारमा थाहा भएपनि विवाह भने तत्कालिन समयमा पार्टीको अधिवेशन ताका केन्द्रको नेताहरूलाई साक्षी राखेर विवाह गरेको मुनाले सुनाइन्।

आफूहरूको विवाहले परिवार र व्यक्तिगत जीवनमा कुनै असर नगरेको बताउने राई दम्पतीको विवाहको निर्णयलाई दुवै परिवारले सहर्ष स्विकार गरेका थिए।

उनीहरूको उमेरमा १६ वर्षको अन्तर  छ। तत्कालीन समय उमेरको अन्तरले वैवाहिक जीवन चल्छ या चल्दैन भन्ने द्विविधा उत्पन्न भएको राईले बताए । ‘मेरो श्रीमती मभन्दा १६ वर्ष कान्छी छिन्, उनीसँग विवाह त गरेँ। तर, उमेर भिन्नताले कतै विचार नमिल्ला या घर व्यवहार टुट्ला भन्ने भय थियो,तर १३ वर्ष देखि निरन्तर साथ दिइरहेकी छिन्’, उनले भने,‘सोचेको भन्दा धेरै बलियो साथ पाएको छु।’ मन्त्री राई र मुनाको एक छोरा र एक छोरी छिन्।

श्रीमतीको लागि कोरेको त्यो गीत

अक्सर राजनीति  गर्नेहरुको मन दह्रो हुन्छ अर्थात् भावना व्यक्त गर्ने शैली हुँदैन भन्ने भनाइ  छ।  तर, समय र परिवेश मिल्न गए राजनीतिकर्मीको पनि भावना स्वभावअनुसार फरक तरिकाले व्यक्त हुने मन्त्री राई बताउँछन्।

भर्खरै विवाह गरेको त्यो समय श्रीमतीलाई दिक्तेल बजारमै छोडेर पार्टीको कार्यक्रममा काठमाडौं मै बस्नुपर्ने भएकाले त्यो समयमा उनले श्रीमतीको सम्झनामा गीतको हरफ कोरेका थिए। उनले सुनाए ‘एउटा कथा जिन्दगीको लेखौँ, लेखौँ लाग्छ विपनीमा भेट हुन्न थाहा छ मलाई सपनीमा देखौँ, देखौँ लाग्छ।’

गफैगफमा उनले श्रीमतीका लागि कोरेको गीतको अन्तरा गुन गुनाए। ‘सांगीतिक आन्दोलनले समाजमा परिवर्तन नै हुन्छ, यसले प्रेम त झनै प्रगाढ बनाउँछ’, उनले हाँस्दै सुनाए।

झगडाको त्यो किस्सा

वैवाहिक सम्बन्धको लामो समयसम्म पनि झगडा के हो भन्ने थाहा नभएको राई दम्पतीको जीवनमा भुल्न नसकिने झगडाको किस्सा रहेको हाँस्दै मन्त्री राई बताउँछन्।

‘बच्चा सानो थियो। जाडोले उसलाई खोकी लागिरहेको थियो। हामी घर गएका थियौँ,’ उनले विगतलाई स्मरण गर्दै सुनाइन्,‘उहाँलाई औषधि ल्याउन लगाएको थिएँ, तर ढिला आउनुभयो, मैले रिस उठेर उहाँलाई तँ भनिदिएँ, त्यही थियो झगडाको निहुँ।’

‘उनले मलाई तँ भनिन्, मैले तपाई भनिदिए त्यहीँबाट हाँसो भयो हाम्रो झगडा पनि मिल्यो’,राईले श्रीमतीको कुरामा थप्दै सुनाए।

अन्तरजातीय विवाहमा खुशी

अन्तरजातीय विवाह गरेर आफूलाई कुनैपश्चताप नभएको मुना बताउँछिन्। समझदारी र बुझाइले पनि सम्बन्धको रथ डोहोर्‍याउने सकिने मुना श्रीमानको रूपमा राईलाई  पाउदा खुशी रहेको बताउँछिन्। ‘मैले आफ्नै जात रोजेर विवाह गरेको भए पनि सायद यस्तो खुशी हुने थिइन् होला, उहाँसँगै उहाँको सम्पूर्ण परिवारले बुझी दिनुभएको छ,’उनले भनिन्,‘त्यो समय मैले लिएको निर्णय सहि नै रहेछ जस्तो लाग्छ।’

विस्तारै फर्किने राजनीतिमा

विवाहपछि श्रीमानको राजनीति भविष्यलाई साथ दिदै आएकी मुना बच्चा हुर्किए पछि पुनः राजनीतिमा फर्किने सोँच रहेको बताउँछिन्। घरको व्यवहार, बालबच्चा र श्रीमानको राजनीतिक यात्रामा आफ्नो भविष्य देखेकी उनले परिवारका लागि आफूपछि हट्दा केही पछुतो नलागेको बताइन्। उनी भन्छिन्,‘राजनीतिकर्मी होस या अन्य घर बलियो भए देश, समाज नै बलियो हुन्छ ।’

महिलाको साथ र हौसलाले जीवनका ठुलठुला चुनौती सामना गर्न सकिने मन्त्री राईको बुझाई छ। ‘हरेक श्रीमानको सफलता र हौसलाको पात्र श्रीमती भइदिए जीवन चलाउन पनि सहज हुने रहेछ। ’मन्त्री राई भन्छन्,‘श्रीमतीको उमेर सानो छ, कसरी जीवन चलाउने जस्तो लागेको थियो।  तर, उमेरले होइन रहेछ व्यवहारले मेरो जिन्दगीको रथ नै चलाइदिइन्।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.