शिक्षामन्त्री पौडेल पनि वैशाखबाटै सत्र शुरु गर्ने पक्षमा

|
फाइल तस्वीर

काठमाडौं : कोरोनाले बिथोलिएको चालू र नयाँ शैक्षिक सत्रबारे यतिखेर चौतर्फी बहस हुन थालेको छ। सरकारको योजना २०७८ सालको शैक्षिक सत्र असार १ गते शुरु गरेर चैत मसान्तमा सक्ने र ०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाट थाल्ने रहेको छ।

तर, सामुदायिक विद्यालय वैशाखबाट नभई जेठबाट शैक्षिक सत्र शुरु गर्ने बताइरहेका छन् भने निजी विद्यालय भने वैशाखबाटै शुरु गर्ने भन्दै कस्सिएका छन्।

यसै सन्दर्भमा आइतबार शिक्षा पत्रकार सञ्जाल (इजोन)ले राजधानीमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, प्याब्सन, शिक्षक महासंघ लगायतका पदाधिकारीबीच अन्तरक्रिया कार्यक्रम राख्यो। कार्यक्रममा दरबार हाइस्कुलका प्रधानाध्यापिका शारदा पौडेलले जेठबाट नयाँ शैक्षिक सत्र थाल्नुपर्ने बताइन्। 

उनले भनिन्, ‘वैशाखमा भर्ना लिने, परीक्षा लिने, परीक्षाफल पनि प्रकाशन गर्ने गर्दा अलिक कर्मकाण्डी तरिकाको हुन्छ कि जस्तो लाग्छ, एक महिना सारेर जेठबाट शुरु गर्दा राम्रो होला।’ उनका अनुसार लामो समय कोभिडले भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन हुन सकेन। अनलाइनमार्फत कक्षा सञ्चालन गरे पनि भौतिक जस्तो प्रभावकारी भएको छैन।

‘विद्यार्थीहरू अनलाइन कक्षामा ६० प्रतिशत सहभागी भएपनि हरेक दिन उपस्थिति हुँदैन। त्यसैले हामीले जे कुरा दिनुपर्ने थियो, त्यो दिन सकिरहेका छैनौं, त्यसैले जेठबाट थाल्दा बीचको समयमा विद्यार्थीले अत्यावश्यक कुरा सिक्न पाउँछन्,’ उनले भनिन्।

उनले अब ४८ दिन मात्र पठनपाठन गराउने समय रहेकाे जानकारी दिइन्। ‘यो समयमा कोर्स त सकिन्छ तर, दैनिक ८ घण्टा पढाउँदा विद्यार्थीको मानसिकतामा असर गर्ला,’ उनले भनिन्, ‘शिक्षकलाई पनि तनाव हुन्छ, अतिरिक्त क्रियाकलाप गराउन वा सिकाउन सकिँदैन।’ 

पद्मकन्या माविकी प्रधानाध्यापिका रिता तिवारीले पनि चैतसम्म पूरै कक्षा सञ्चालन गर्ने, वैशाखमा वार्षिक परीक्षा लिने र जेठबाट नयाँ शैक्षिक सत्र शुरु गर्दा राम्रो हुने सुझाव सरकारलाई दिइन्। ‘अनलाइन सिकाइमा हामीलाई नै सन्तुष्टि भएको छैन,’ उनले भनिन्। 

नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मीकिशोर सुवेदीको भनाइमा पनि चैतसम्म पढाउँदा विद्यार्थीहरूले कोर्स बाहेकका अन्य क्रियाकलाप पनि सिक्छन्। ‘हाम्रो तर्फबाट चैतसम्म पूर्ण पठनपाठन उपयोग गरौँ, वैशाख लागेपछि परीक्षा गर्ने, नतिजा प्रकाशित गर्ने र जेठबाट नयाँ सत्र शुरु गर्न सकिन्छ भन्ने धारणा छ,’ उनले भने।

अर्का, संस्कृत माध्यमिक विद्यालय रानीपोखरीका प्रधानाध्यापक शिवराज अधिकारी चैतसम्म पाठ्यक्रम नसकिने बताउँछन्। ‘जे गर्दा पनि वैशाखसम्ममा कोर्स सकिँदैन, त्यसैले वैशाखसम्म पढाएर जेठबाट नयाँ शैक्षिक सत्र थाल्दा उत्तम हुन्छ,’ उनले भने।

‘वैशाखबाटै नयाँ शैक्षिक सत्र थाल्छौँ’

यता, निजी विद्यालय भने वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्न जोड गरिरहेका छन्। अन्तरक्रियामा निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय उपाध्यक्ष कृष्ण अधिकारीले भने, ‘शैक्षिक सत्र पछि धकेल्दा पछि विद्यार्थीले पाउने अवसरहरू गुम्छन्, त्यसैले हामीले चैतको अन्त्यमा सबै परीक्षा सक्ने र वैशाख १५ बाट नयाँ भर्ना शुरु गर्ने तयारी गरेका छौँ।’

शहरी क्षेत्रमा सबै कोर्स सकिएको उनको दाबी छ। ‘बाहिर जिल्लामा भने कोर्स सकिएको छैन, कोर्स सक्न बिहान-बेलुका पढाउँदै छौँ,’ उनले भने। ललितपुरस्थित प्रगति शिक्षा सदनका प्रअ सूर्यप्रसाद घिमिरेले पनि वैशाख २० बाट पठनपाठन गर्न सकिए कोरोनाले थलिएको शैक्षिक सत्र लयमा आउने बताए।

विज्ञ भन्छन् : हचुवाको भरमा शैक्षिक क्यालेन्डर लागू गर्न हुन्न

नयाँ शैक्षिक सत्रको विषयमा प्राडा.शिक्षाविद् सुरेशराज शर्मा राम्रो गरि पाठ्यक्रम सकिएपछि मात्र नयाँ सत्र थाल्नुपर्ने बताउँछन्। उनी भन्छन्, ‘वैशाख सम्ममा पाठ्यक्रम सकिँदैन भने समय लम्ब्याउनुपर्छ, सरकारले हचुवाको भरमा शैक्षिक क्यालेन्डर लागू गर्न भएन।’

उनका अनुसार शैक्षिक क्यालेन्डर लागू गरेर मात्र हुँदैन। विद्यार्थीहरूलाई आवश्यक पर्ने व्यावहारिक पक्ष पनि जान्नु आवश्यक छ। ‘शहरी क्षेत्रमा कोर्स सकिएला, ग्रामीण भेगमा त सक्न समस्या पर्ला, त्यसैले भौगोलिक क्षेत्रलाई पनि हेरेर सरकारले शैक्षिक क्यालेन्डरको पुनर्विचार गर्नुपर्छ,’ उनले माग गरे।

यसो भन्छ शिक्षा मन्त्रालय

शिक्षामन्त्री देवेन्द्र पौडेल भने वैशाखबाट नै नयाँ शैक्षिक सत्र थाल्ने पक्षमा छन्। ‘मन्त्रीज्यू शैक्षिक सत्र व्यवस्थापनका लागि २०७९ को नयाँ शैक्षिक सत्र वैशाखबाटै थाल्ने चाहिँ भनिरहनु भएको छ,’ मन्त्री पौडेलका प्रेस संयोजक विमल खड्काले थाहाखबरलाई जानकारी दिए।

शिक्षा मन्त्रालयका प्रवक्ता दिपक शर्माले कार्यक्रममा छलफल गरेर निर्णय लिने जानकारी दिए। उनले भने, ‘हामीले गएको वर्ष कोरोनाले गर्दा  शिक्षा नियमावली संशोधन गरेर असारबाट शुरु गरेका हौँ, धेरै मेलै पनि सुझाव लिएको छु, त्यसबाट ९५ प्रतिशत चैतभरि पढाउने र वैशाखभरिमा परीक्षा गराउनेमा  ५ प्रतिशत सुझाव आएको छ, मन्त्रालयमा छलफल गरी सूचना निकाल्छौँ।’

मन्त्रालयको योजनामा भने उनले वैशाखबाट नयाँ शैक्षिक सत्र थाल्ने रहेकाे बताए। ‘चैत मसान्तसम्म पढ्न दिने,परीक्षा नतिजा साबिक समयमा निकाल्ने कि भन्ने छ, शिक्षकहरूलाई प्रेसर भने हुन्छ, वैशाखमा पाठ्यक्रम दिने/लिने यसैलाई वैशाखबाट नयाँ सत्र शुरु भएको मान्ने कि? अब यसमा पनि बहस गरौँ,’ उनले भने।

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.