|
रुकुम पूर्वको कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी। तस्वीर : जयमान बुढा मगर।

रुकुम (पूर्व) : पुथाउत्तरगंगा गाउँपालिका–१२ कोलस्थित प्राथमिक स्वास्थ्य केन्द्रको फार्मेसी सेवा ठप्प हुँदा स्वास्थ्य बिमा गरेकाहरूलाई असर परेको छ। विविध कारणले एक वर्षभन्दा बढी समयदेखि कोलको स्वास्थ्य केन्द्रमा फार्मेसी ठप्प भएको छ। 

स्वास्थ्य बिमा गरेकालाई सस्तो र सुलभ दरमै स्वास्थ्य उपचार गर्नुपर्ने स्वास्थ्य केन्द्रमा चिकित्सक र औषधी नहुँदा स्वास्थ्य बिमा गरेकाहरूले अन्यत्र गएर उपचार गर्नुपर्दा दोहोरो सास्ती पाइरहेका छन्। एक वर्षयता कहिले डाक्टर सरुवा त कहिले डाक्टर नै नहुँदा स्वास्थ्य केन्द्र अस्तव्यस्त भएको प्राथमिक स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष गंगाबहादुर पुन मगरले बताए। 

एक वर्षयता स्वास्थ्य केन्द्रमा उपचार गर्ने डाक्टर नहुँदा सेवा बन्द हुन पुगेको वडाध्यक्ष पुनले जानकारी दिए। अहिले भने डा. अनिल बुढा मगर केन्द्रमा आइसकेकाले अब छिट्टै उपचार थाल्ने जानकारी पुनले दिए।

अहिले पुथाउत्तरगंगा गाउँपालिकामा स्वास्थ्य बिमा गरेका स्थानीयको संख्या १ हजार ९ सय ३० जना छ। कोलबाट स्वास्थ्य बिमाअनुसार औषधी उपचार नपाएपछि स्वास्थ्य बिमा गराएका स्थानीय अन्य अस्पतालमा जानुपर्ने बाध्यता रहेको छ। 

केन्द्र र फार्मेसी फेरि सञ्चालन गर्न गाउँपालिका ५ लाख रूपैयाँको औषधी खरिद गर्ने तयारीमा रहेको गाउँपालिकाका स्वास्थ्य संयोजक समिर गिरीले बताए। अबको १/२ सातापछि औषधी खरिद गरी फार्मेसीसमेत सञ्चालनमा ल्याउन गाउँपालिकाको तयारी रहेको जानकारी गिरीले दिए। 

५ सदस्य रहेको एउटा परिवारले एक वर्षका लागि ३ हजार ५ सय रूपैयाँ शुल्क तिरेर बिमा गरेमा १ लाख रूपैयाँ बराबरको स्वास्थ्य उपचार गर्न पाउँछन्। यसैगरी ५ जनाभन्दा धेरै सदस्य रहेको परिवारले प्रति व्यक्ति थप ७ सय रूपैयाँ शुल्कामा बिमा गर्ने र १ लाख रूपैयाँसँगै थप प्रति व्यक्ति २० हजार रूपैयाँका दरमा स्वास्थ्य उपचार पाउने स्वास्थ्य बिमा दर्ता अधिकृत सपना पुन विष्टले जानकारी दिइन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.