प्रत्येक वर्ष थपिन्छन् पाँच लाख श्रमिक, देशमा पाइँदैन रोजगारी

|

काठमाडौं : आइतबार बिहान वैदेशिक रोजगार विभाग परिसरमा भिडभाड देखियो। हातमा कागजपत्रको फाइल, निन्याउरो अनुहारमा विभाग परिसर कुर्नेको भिड थियो। 

सोही भिडमा सिन्धुपाल्चोक घर भएका हरिशरण थापा भेटिए। ठगिएको पैसा उठ्ने झिनो आशाका साथ उनी विभागमा आइपुगेका हुन्। नेपालमा रोजगारीको राम्रो अवसर नपाएपछि थापाले २०७५ सालमा वैदेशिक रोजगारीमा जाने सोच गरे। नजिकका छिमेकी दाइलाई वैदेशिक रोजगारीमा जाने योजना सुनाए।  

पोल्याण्डबाट कामको राम्रो अवसर आएकाले सोही देश जानका लागि सल्लाह दिए। ती दाइले सम्पूर्ण प्रक्रिया आफूले नै गरिदिने भन्दै आश्वासन दिए। वैदेशिक रोजगारीमा राम्रो कमाउने सोचले  पोल्याण्ड जान तयार भए।  विदेश जानका लागि  चाहिने सम्पूर्ण पैसा आफूसँग थिएन। थापाले भने,‘आफन्तसँग ऋण गरेर ८ लाख रुपैयाँ पोल्याण्ड जानका लागि तिरेँ।’

उजुरी दिएको २ वर्षमा पनि सुनुवाइ भएन

उनले वैदेशिक रोजगारीमा जानका लागि  तिरेको पैसा उठाउनका लागि तीन वर्षसम्म धाउँदा पनि पैसा हात पार्न सकेका छैनन्। एकातिर विदेश गएर पैसा कमाउने सपना चकनाचुर भएको छ,भने,अर्कातिर आफन्तसँग  लिएको पैसा तिर्न सक्ने अवस्था छैन।  थापाले भने,‘यतिबेला म घर न घाटको अवस्थामा छु। अब थप पैसा खर्च गरेर अन्य देश जान सक्ने अवस्था पनि छैन। देशमा बसेर त्यति धेरै ऋण कसरी तिर्नु?’

थापाले वैदेशिक रोजगार ऐन, २०६४ को दफा १० विपरीत कार्य भएको हुँदा ऐनको दफा ४३ बमोजिम  उनका छिमेकी दाई यादव थापाले आफूले तिरेको पैसा फिर्ता गरी कानुनबमोजिम कारबाही गर्नका भन्दै विभागमा उजुरी दिएको २ वर्ष बित्यो। तर,कारबाही हुन सकेन। 

थापा एक प्रतिनिधि पात्र मात्र हुन्। यतिबेला वैदेशिक रोजगार विभागमा  चालु आर्थिक वर्षको ६ महिनामा विभिन्‍न व्यक्तिबाट मात्र ठगिएका उजुरी २ सय ९० वटा छन्। त्यस्तैगरी, विभिन्‍न संस्थाबाट ठगी भएका १ सय २३ वटा उजुरी दर्ता भएको वैदेशिक रोजगार विभागको तथ्यांकले देखाएको छ। 

देशको अर्थतन्त्र विदेशमा श्रम गरिरहेका श्रमिकले विदेशमा श्रम गरिरहेका नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले  धानेको छ। नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा देशको कुल बजेट १४ खर्ब ७४ अर्ब रुपैयाँ थियो। गत आर्थिक वर्षको ११ महिनामा आठ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। यसरी देश धानेका युवाहरू भने पाइलैपिच्छे ठगिने गरेका छन्। 

विदेशी भूमिमा पसिना बगाउन जाने नेपाली विदेश जाने बेलामा ऋणको जोहो गर्ने बेलादेखि फर्कने बेलासम्म ठगिने गरेका छन्। आर्थिक अवस्था सामान्य भएका नेपाली साहुसँग ऋण लिने, दलाल, म्यानपावर कम्पनी, श्रम कार्यालय, ट्राभल एजेन्सी, एयरलाइन्स, विदेशी दलाल, रोजगारदाता कम्पनीले घर फर्कने बेलासम्म ठगीमा पर्ने गरेको वैदेशिक रोजगार विज्ञ गणेश गुरुङ बताउँछन्। 

झण्डै ७५ प्रतिशत श्रमिक आप्रवासन चक्रमा कुनै न कुनै शोषण र ज्यादतीमा पर्ने गरेको राष्ट्रिय मानव अधिकार आयोगको तथ्यांकले देखाएको छ। तीमध्ये ५५.६३ प्रतिशत श्रमिक वैदेशिक रोजगारीका लागि छनोट हुने बेलामा नै ठगिने गरेका छन्। 

मानव अधिकार आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार ३६.६२ प्रतिशत श्रमिक सम्झौताभन्दा फरक काम गर्न बाध्य छन्। ५६.३९ प्रतिशत श्रमिकले अतिरिक्त समय गरेको कामको भुक्तानी पाउँदैनन्। ६२.६८ प्रतिशत श्रमिकलाई रोजगारी करार पत्रमै झुक्याउने गरेको पाइएको छ। 

पछिल्लो समय कोरोना महामारी (कोभिड १९)का कारण नेपाली श्रम बजार र श्रम गन्तव्यमा ठूलो धक्का लाग्यो। कोरोनाको पहिलो चरणमा वैदेशिक रोजगारीबाट स्वदेश फर्किएका तथा नेपालमा श्रम गरिरहेका नेपालीले रोजगारी गुमाए। 

नेपाल श्रम सर्वेक्षणअनुसार नेपालमा बेरोजगारी दर ११.४ प्रतिशत छ। श्रमको अल्प उपयोग दर ३९.३ प्रतिशत छ। ६१.५ प्रतिशत जनसंख्या औपचारिक रोजगारीका क्षेत्रभन्दा बाहिर रहेको अवस्था छ। प्रत्येक वर्ष श्रमबजारमा ५ लाख श्रमशक्ति प्रवेश थपिन्छन्। तर, देशमा रोजगारी पाउने अवस्था नभएपछि उनीहरू वैदेशिक रोजगारीमा जान बाध्य छन्।  

स्वदेशमा रोजगारीको अवसर नपाएर  परिवार पाल्नकै लागि युवा विदेश पलायन हुने गरेका वैदेशिक रोजगार विज्ञ गुरुङ बताउँछन्। उनले भने,‘यतिबेला रहरले वैदेशिक रोजगारीमा जानेको संख्या न्यून छ। बाध्यताले विदेशिने को संख्या दिनदिनै बढ्दै गएको छ।’ सरकारले स्वदेशमा नै रोजगारीको अवसर सिर्जना गरी दक्ष, ऊर्जाशील युवालाई विदेश पलायन हुनबाट रोकिनुपर्ने उनको भनाइ छ। 

व्यक्तिगत ठगीका उजुरी बढी

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षमा संस्था गतको तुलनामा व्यक्तिगत ठगीको उजुरी बढी दर्ता भएका छन्। वैदेशिक रोजगारीमा राम्रो आम्दानी हुने प्रलोभनमा परि व्यक्तिलाई पैसा दिएको पाइन्छ। यसरी व्यक्तिले पैसा लिएर फरार हुने,विदेश नपठाउने,  विदेशमा अलपत्र पार्ने जस्ता घटना हुने गरेका छन्।  

६ महिनामा ४ सय १३ वटा ठगीको उजुरी दर्ता भएको वैदेशिक रोजगार विभागका सूचना अधिकारी कृष्णप्रसाद भुसालले जानकारी दिए। चालु आर्थिक वर्षमा १ सय २३ संस्थागत उजुरी दर्ता भएको छ। भने,२ सय ९० वटा उजुरी दर्ता भएको विभागले जनाएको छ। 

म्यानपावरले भने अनुसारको काममा नलगाउने,बढी पैसा असुल्ने,पैसा लिएर फरार हुने लगायतका विषयमा उजुरी दर्ता भएको विभागले जनाएको छ। 

कुन आर्थिक वर्षमा कति उजुरी 

०७७/७८ मा रोजगारीका नाममा ठगिएका ३  सय ४९ वटा संस्थागत (म्यानपावर) र व्यक्तिगत ४ सय ३१ वटा उजुरी विभागमा परेका छन्। सोही समयमा १ सय ५ वटा ठगीका मुद्दा अदालतमा दर्ता भएको विभागले जनाएको छ।

२०७६/७७ मा वैदेशिक रोजगारीका नाममा व्यक्तिगत र संस्थागत गरी २ हजार तीनवटा उजुरी विभागमा परेका थिए। २०७५/७६ मा व्यक्तिगत र संस्थागत गरी २ हजार ३९ वटा उजुरी रोजगार पीडितले दर्ता गरेका छन्।

आर्थिक २०७४/७५ मा २ हजार १२९ वटा उजुरी विभागमा परेको थियो। जसमध्ये १ हजार २८ वटा मुद्दा फर्स्योट गरेको विभागले जनाएको छ।

यसैगरी, आर्थिक वर्ष २०७३/७४ मा २ हजार ३ सय ८३ वटा मुद्दा परेकोमा ८ सय ८७ वटा उजुरी फर्स्योट भएका थिए। यस्तै, आर्थिक वर्ष २०७२/७३ मा २ हजार १ सय ७२ वटा उजुरी विभागमा दर्ता भएको थियो। जसमध्ये ५ सय २० वटा उजुरी मात्र फर्स्योट भएको विभागले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.