सम्झौता रद्द गर्न सकेन महानगरले

|

काठमाडौं : काठमाडौं महानगरपालिका र बिके ट्रेडर्स एण्ड सप्लायर्ससँग सडकमा सौर्य (सोलार) बत्ती राख्न २०७३ असोज १२ मा सम्झौता भयो। राति शहरको सौन्दर्य बढाउने, सर्वसाधारणलाई आवतजात र सवारीसाधन दुर्घटना न्यूनीकरण गर्न निजी कम्पनी बिके ट्रेडर्ससँग महानगरले साझेदारी गरेको थियो।

यसअनुसार सौर्य बत्ती राख्ने सबै खर्च बिके ट्रेडर्सले नै बेहोर्ने र त्यसबापत बत्तीको खम्बा (पोल) मा विज्ञापन राख्न पाउने सम्झौतामा शर्त थियो। महानगरपालिकाका अनुसार त्रिपुरेश्वर चोक, थापाथली, माइतीघर, बबरमहल, भद्रकाली, भृकुटीमण्डपलगायत क्षेत्रमा १ हजार ४८ वटा सौर्य बत्ती जडान गर्न बिके ट्रेडर्सले स्वीकृति पाएको थियो।

तर, कम्पनीले करिब ८ सय बत्ती मात्र जडान गरेको छ। सम्झौतापत्रमा प्रति पोल ८ हजार ७ सय विज्ञापन रोयल्टी महानगरमा बुझाउनुपर्ने शर्त पनि उल्लेख छ। सम्झौताअनुरुप समयमा रोयल्टी नबुझाए सम्झौता रद्द हुने शर्त पनि सम्झौतामा राखिएको थियो। तर, बत्ती राख्ने सम्झौता भएको ५ वर्ष बितिसक्दा पनि कम्पनीले रोयल्टीबापत आधा रकम पनि बुझाएको छैन।

बारम्बार ताकेता गरे पनि टेरपुच्छर लगाएन

महानगरपालिकाका राजश्व विभागका उप–निर्देशक विकास चित्रकारका अनुसार तीन चरणमा रोयल्टी बुझाउन सम्झौता भएको थियो। जसअनुसार पहिलो चरणमा वार्षिक ३४ लाख ८० हजार, दोस्रो चरणमा वार्षिक २६ लाख १० हजार र तेस्रो  चरणमा वार्षिक ३३ लाख ४९ हजार ५ सय रूपैयाँ बुझाउनुपर्ने थियो।

सबै गर्दा बिके ट्रेडर्सले हालसम्म ९४ लाख ३९ हजार ५ सय रोयल्टी बुझाउनुपर्नेमा २० लाख रूपैयाँमात्र बुझाएको छ। उसले अझै ७४ लाख ३९ हजार ५ सय रूपैयाँ रोयल्टीबापतको रकम महानगरलाई बुझाउन बाँकी छ।

‘बिकेले ०७३ सालयता जम्मा २० लाखमात्र रोयल्टी बुझायो, तर बाँकी तिर्न पटक–पटक भने पनि टेरपुच्छर लगाएन,’ उप–महानिर्देशक चित्रकारले भने। कम्पनीले भनेको ठाउँमा बत्तीको पोल राख्न नपाएको भन्दै रोयल्टी बुझाउन आनाकानी गर्दै आएको उनको भनाइ छ। 

सम्झौता कार्यान्वयन गर्नै सकेन महानगरले

सौर्य बत्ती जडान गरेपछि सम्झौताअनुसार बत्तीको मर्मतसम्भार पनि सोही कम्पनीले गर्नुपर्ने शर्त छ। समयमा मर्मतसम्भार र रोयल्टी नबुझाए सम्झौता रद्द हुने सम्झौतापत्रमा उल्लेख छ। तर कम्पनीले वर्षौंदेखि न रोयल्टी  बुझाएको छ न बत्तीको मर्मतसम्भार नै गरेको छ। तैपनि महानगरपालिकाले बिके ट्रेडर्सलाई कुनै कारबाही गर्न सकेको छैन। सम्झौताअनुसार १० वर्षमात्र ती कम्पनीले बत्ती राख्न पाउने छ।

जडान गरिएका बबरमहल, माइतीघर मण्डला, थापाथलीलगायत क्षेत्रका अधिकांश बत्ती अहिले बल्दैनन्। तर, विज्ञापनबाट भने बिके ट्रेडर्सले आम्दानी गरिरहेको छ। प्रतिपोल विज्ञापनबापत कति रकम उठाउँछ भन्नेबारे बिके ट्रेडर्स खुलाउन चाहेन। तर, विज्ञापनदाताहरूका अनुसार प्रतिपोल विज्ञापन गर्दा न्यूनतम नै मासिक ५ हजार तिर्नुपर्छ।

महानगरको राजस्व विभागका प्रमुख डा.शिवराज अधिकारी भन्छन्, ‘बत्ती मर्मत गर्ने जिम्मा हाम्रो होइन, बिग्रेको बत्ती छिटो मर्मत गर्नु भनी निर्देशन भने दिइरहेका हुन्छौँ।’

प्रवक्ता डंगोल भन्छन् : बुझेर प्रक्रिया अघि बढाउँछौँ 

बिके ट्रेडर्सका कर्मचारी दीपेश खेताङले भने महानगरलाई रोयल्टी बुझाइसकेको दाबी गरे। बिग्रिएका सौर्य बत्ती पनि समयमै मर्मत भइरहेको उनको दाबी छ।

महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोलले यस विषयमा बुझेर कारबाही प्रक्रिया अघि बढाउने बताए। उनले भने, ‘के कस्तो सम्झौता भएको हो, यस विषयमा बुझ्छु, त्यसपछि कम्पनीलाई के गर्ने भन्नेबारे निर्णय गर्छौं।’

(यो पनि)

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.