|

सुर्खेत : कर्णालीका लागि कुखुरा, दाना तथा चल्ला आयात गर्ने मोरङ र चितवनमा धमाधम बर्डफ्लु संक्रमण पुष्टि हुन थालेपछि कर्णाली प्रदेशमा पनि बर्डफ्लुको जोखिम बढेको हो।

निर्बाध भित्रिरहेका अण्डा, दाना तथा पक्षीले कर्णाली प्रदेशमा बर्डफ्लु संक्रमणमको जोखिम उच्च छ।

कर्णालीमा आयात हुने चल्ला, दाना तथा पक्षीका लागि यहाँ क्वारेन्टाइनको व्यवस्था छैन। व्यापारी तथा कृषकहरूले अन्य प्रदेशबाट सोझै फार्ममा पक्षी तथा तिनका उत्पादन आयात गर्ने गर्छन्।

गत माघ १८ गते मोरङका ग्रामथान–१ खुनियाकट्टा र बूढीगङ्गा–५ मा बर्डफ्लु संक्रमण पुष्टि भएको थियो।

यसैगरी माग २८ गते शुक्रबार चितवनको राप्ती नगरपालिका–६ स्थित एक कुखुरा फर्ममा समेत बर्डफ्लु संक्रमण पुष्टि भएको छ। अहिले उक्त फर्मका झण्डै दुई हजार कुखुरा नष्ट गरिएको छ।

चितवनमा बर्डफ्लु देखिएपछि दाङ, बाँके र बर्दिया जिल्लामा पनि संक्रमण देखिन सक्ने त्रास फैलिएको छ।

कर्णाली प्रदेशका तीन जिल्ला सुर्खेत, सल्यान र रुकुम पश्चिम बर्डफ्लुको उच्च जोखिममा देखिन्छन्। कर्णालीका अन्य जिल्लाको तुलनामा यी जिल्लामा मासु तथा अण्डा धेरै खपत हुन्छ। यहाँका किसानहरूले समेत व्यावसायिक पशुपक्षी पालन गरिरहेका छन्।

कर्णालीमा बर्डफ्लुको जोखिम बढेको भन्दै यहाँका उद्यमी कृषकहरू पनि त्रसित भएका छन्। ‘कुखुरा तथा चल्ला आयात हुने मुख्य नाकामा चेकजाँच छैन। यसबारे कर्णाली सरकार पनि मौन छ’‚ पलिङ फार्म सुर्खेतकी सञ्चालिका सम्झना राईले भनिन्, ‘हामीले फार्ममा सुरक्षा उपाय अपनाएका छौं तर बर्डफ्लु संक्रमण भइहालेमा कृषक आफैँले ठूलो क्षतिको भार व्यहोर्न मुस्किल छ। यस विषयमा पनि सरकारको ध्यान जाओस्।’

नाकामा चेकजाँच छैन 

बाहिरबाट भित्रने पशुपक्षीका लागि कर्णाली प्रदेशमा हालसम्म पनि क्वारेन्टाइन समेतको व्यवस्था गरिएको छैन। संक्रमण रोकथामका लागि क्वारेन्टाइन महत्त्वपूर्ण अंग हो। हालसम्म पनि नाकामा क्वारेन्टानको व्यवस्था छैन। न त नाकामा पशुपक्षी चेकजाँच नै भएका छन्।

सुर्खेतको छिन्चु र सल्यानको कपुरकोटमा क्वारेन्टाइनको व्यवस्थाका लागि संघीय सरकारलाई अनुरोध समेत गरिएको थियो तर हालसम्म पनि त्यसबारे कुनै प्रक्रिया अघि बढेको छैन।

पशुपक्षी विकास निर्देशनालय सुर्खेतका निमित्त प्रमुख मोहन गिरीले भने, ‘यसअघि हामीले संघीय सरकारसमक्ष पशुपक्षीका लागि क्वारेन्टाइनको व्यवस्था गर्न अनुरोध गरेका थियौँ। प्रदेशका दुई स्थानमा क्वारेन्टाइन स्थापना गर्ने कुरा चलेको थियो तर हालसम्म पनि त्यो प्रक्रिया अघि बढेको भने छैन।’

सतर्कता अपनाउन सुझाव

‘बर्डफ्लु संक्रमण भएमा कुखुराको मृत्युदर अस्वाभाविक बढ्न थाल्छ’, पशुपक्षी विकास निर्देशनालयका निमित्त प्रमुख गिरीले भने, ‘करिब ९० प्रतिशतभन्दा धेरै कुखुरा अस्वभाविक रूपमा मर्न थाले भने बर्डफ्लुको शंका गर्न सकिन्छ। कर्णालीमा यो स्थिति सिर्जना हुन नदिन सतर्कता अपनाउन जरुरी छ।’

एक्कासी घरपालुवा कुखुरा मर्न थाले भने खबर गर्न समेत गिरीले अनुरोध गरेका छन्।

उनले थपे, ‘उड्ने चराहरू पनि अकस्मात मरेको भेटिएमा समेत हामीलाई खबर गर्न अनुरोध गर्दछौँ। कुखुरा अकस्मात् मर्न थाले वा बर्डफ्लुको शंका देखिए पशुपक्षी विकास निर्देशनालय, पशुपक्षी रोग अन्वेषण प्रयोगशाला, स्थानीय निकाय वा प्रहरीलाई खबर गर्न सकिन्छ।’

अन्य प्रदेशमा बर्डफ्लु संक्रमण पुष्टि हुन थालेपछि कर्णाली प्रदेशमा समेत सर्तकता अपनाउन चिकित्सकहरूको सुझाव छ।

हालको समयमा ‘एस ५ – एन ८’ भेरियन्टको बर्डफ्लु संक्रमण पुष्टि भएको र यसले पहिलेको तुलनामा बढी क्षति गरिरहेको चिकित्सक बताउँछन्।

पशुपक्षी रोग अन्वेषण प्रयोगशाला सुर्खेतका पशु चिकित्सक लक्ष्मीनारायण दासले भने, ‘फार्ममा बाहिरका मान्छेलाई प्रवेश निषेध गर्नुपर्ने हुन्छ। मानिसका कारण पनि बर्डफ्लुका कीटाणु सर्न सक्ने देखिएकाले अनावश्यक रूपमा खोर प्रवेशमा रोक लगाउनु पर्छ।’

बर्डफ्लुको लक्षण देखिन थाले पशुपक्षी रोग अन्वेषण प्रयोगशालामा र्‍यापिड टेष्टका लागि खबर गर्न चिकित्सक दासले अनुरोध गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.