|

काठमाडौं : कालिकास्थानको आरशालामा शुक्रबार साँझ मधुरो प्रकाशबीच गुञ्जियो –

यो सम्झिने मन छ म बिर्सूँ कसरी,

तिमी नै भनिदेउ ए जाने निष्ठुरी।

मिना निरौलाले गीत गाएर सकिँदा कोठामा तालीको गडगडाहट सुनियो। संगीतकार आभासले सम्झाए '२०१४ को जुन महिनापछि रोकिएको पलेँटी श्रृङ्खला फेरि सुरु भयो।' पलेँटीको पछिल्लो श्रृङ्खला सन् २०१४ को जुलाइमा गरेका रहेछौं, अनि ग्याप भएछ'  उनले भने 'यसबीचमा भुइँचालो पनि गयो, लामो ग्यापपछि फेरि पलेँटी सुरु भएको छ।'

प्रत्यक्ष वाद्यवादन सहित गीत प्रस्तुत हुने सांगीतिक कार्यक्रम पलेँटीको शुक्रबारको श्रृङ्खलामा थिए कवि तथा गीतकार दिनेश अधिकारी। मञ्चमा वाद्यवादन टोली र गायक गायिकाको अगाडि उनी पलेँटी मारेर बसेका थिए। मञ्चमा कलाकारहरुले उनकै रचनामा रहेको र विभिन्न गायक गायिकाले गाएका गीतहरु प्रस्तुत गर्दै थिए। गीत बजिसकेपछि कवि अधिकारी उक्त गीतसँग जोडिएको कहानी सुनाउथे।

२०४१ सालमा सरकारी वकिलको कार्यालयमा जागिर भएपछि दिनेश अधिकारीको पोस्टिङ बैतडीमा भयो। बैतडी जानुअघि नारायणगोपालले अधिकारीसँग गीत मागेका थिए। उनले वैतडी पुगेर हुलाकमार्फत गीत पठाए। 'तर त्यो गीत नारायण दाइकोमा नै रहिरह्यो, उहाँको स्वभाव अनुसार २/४ वर्ष गीत लाग्नु सामान्य हो' उनले सम्झिए।

त्यसपछि अधिकारी कलैया सरुवा भए। एक पटक काठमाडौं आउँदा उनले नारायणगोपाललाई फोन गरे। नारायण दाइले कुनै गीत छैन भन्नुभयो,गीत त मैले बैतडीबाटै पठाइदिएको थिएँ भने' उनले सम्झिए ' ए त्यसो भए म सँग होला भन्नुभयो। पछि नारायणगोपालले म्युजिक नेपालसँग आवद्ध प्रदीप उपाध्यायसँग अधिकारीलाई कलैयामा गीत पठाइदिए। 'मैले सोँचेको थिइन यति छिटो गीत आउला भनेर उनले भने।

त्यसपछि मञ्चमा गायक योगेन्द्र उपाध्यायले गाए दिनेश अधिकारीको शब्द र दिव्य खालिङको संगीतमा रहेको गीत। जुन भक्तराज आचार्यले गाएका थिए।

जीवन भन्नु घात छ मृत्यु भन्नु साथ छ

दोधारमा बाँचु कति हर गीतमा चित्कार छ

यो गीत बजिसकेपछि हल तालीले गुञ्जियो। तर गीतकार अधिकारी भने भावुक बने। उनले गीत भक्तराज आचार्यसँगको सम्बन्ध उक्त गीत रेकर्डिङ हुँदाको क्षण सम्झिए।

एक दिन भक्तराज आचार्य र दिनेश अधिकारी संगीतकार दिव्य खालिङलाई भेट्न गएका थिए। संयोगले त्यस दिन खालिङको कोठा ताला लागेको थियो। ' हाम्रो पनि गीत गाउने कि दाइ भन्दा उहाँले वास्ता गर्नुभएन। केही समयपछि सन्दर्भ फेरियो दाइले म सँग भाइ मलाइ यो गीत दिनुस् भन्नुभयो। मैले दिउँला भने तर दिइनँ। यो अलि अलि पिँढीगत समस्या पनि हो। त्यो विवाद यथावत रह्यो। हामीबीच चिसोपन थियो' उनले सम्झिए।  

अर्को पटक काठमाडौं आउँदा उनी फेरि दिव्य खालिङलाई भेट्न जाँदा फेरि भक्तराज आचार्यसँग भेट भयो। 'उहाँले दिनेशको गीत गाउँदिन भन्नुहुन्थ्यो रे। त्यो दिन दिव्य खालिङले तिमीहरु दुईटाको कुरा के हो भन्नुभयो। त्यसपछि हामीले आफ्नो मन माझ्यौं। कुरा सकियो' दिनेशले सम्झिए ' भक्तराज दाइले अब त गीत दिन्छौं होला नि दाजु डायरी बैतडीमा छ पुगेपछि पठाउँछु।'

बैतडी पुगेपछि दिनेश अधिकारीले गीत छाने र भक्तराज आचार्यलाई पत्र लेखे 'दाइको लागि गीत पठाएको छु मन परेमा गाउनुहोला। मन नपर्दाखेरि पठाइहालेछ भनेर गाएर कृपया म माथि अन्याय नगरिदिनुहोला तर तपाईले गाउने कि नपाउने त्यो जानकारी भने लेखेर हुलाकमा पठाउनुहोला।'

यो गीत रेकर्ड २०४३ साल साउन २ गते रेडियो नेपालमा भयो। पछि भक्तराज आचार्यमाथि आक्रमण भयो र उनले गीत गाउन नसक्ने भए। 'भक्तराज दाइको दुर्घटनापछि धेरै पटक गीत बज्दा म रोको छु। कतै भक्तराज दाइकै जीवनमा यो गीत मिलिरहेको त छैन जस्तो लाग्छ' उनले भने 'भक्तराज दाइको धेरै अन्तर्वार्ताहरु पढेको छु मैले यो गीत किन गाएँ होला जस्तो लाग्छ। कहिलेकाँही लाग्छ मेरो भविष्य दिनेशले पहिले नै देखेको रहेछ।'

त्यसपछि नारायणगोपालले गाएको अर्को गीतको पनि कवि अधिकारीले कहानी सुनाए।

तिमी जुन रहरले म मा फूल्न आयौ

सबै सुख हराए सबै चोट पायौ

यो गीतसँग जोडिएको रोचक घटना पनि कवि अधिकारीले सुनाए। उनले लेखेको एउटा गीत नारायणगोपाल गाउने निर्णय गरेपछि एक दिन खाना खान बोलाए। त्यस दिन ठूलो जमघट थियो। त्यो गीतको संगीत दिव्य खालिङले गर्दै थिए। त्यही बेला नारायणगोपाल र दिव्य खालिङबीचमा फेरि खटपट भयो। त्यो गीत नारायणगोपालले नगाउने भए।

'त्यतिबेला नारायणदाइ र दिव्य खालिङ दिनको एक पटक नभेटी सक्दैनथे। भेट नभएको दिन फोनमा भए पनि कुरा गर्नुपर्थ्यो। तर त्यस घटनापछि बोलचाल नै बन्द भयो' अधिकारीले सम्झिए। करिब २० दिनपछि सिंहदरबारमा नारायणगोपालको भेट अधिकारीसँग भयो। 'उहाँले मोटरसाइकल रोकेर भन्नुभयो ए दिनेश, तिमीसँग कुनै गीत छैन?

छ  दाइ, दिव्य खालिङले संगीत गर्नुभएको छ।

'त्यो गीत तिमीलाई चित्त बुझ्या छ भन्नुभयो। मैले बुझ्या छ भनेँ। फेरि बुझ्या छ भन्नुभयो। बुझ्या छ भनेँ। त्यसो भए म गएँ भन्नुभयो, त्यसपछि दिव्य खालिङकोमा जानुभयो। त्यो दिनेशको गीत टेप गरिदेउ भनेर लिएर आउनुभयो र गाउनुभयो।'  

त्यसपछिको एउटा गीतमा अधिकारीले आफ्नो एउटा पारिवारिक पोल पनि खोले। त्यो गीत थियो रविन शर्माको स्वर र राम थापाको संगीतमा रहेको २०४० साल असार ७ गते रेकर्ड भएको गीत।

तिमी यसै लजायौ म उसै धकाएँ।

न बोल्यौ तिमी नै न मैले सुनाएँ।

'यो गीतले सर्वाधिक लोकप्रियता हासिल गर्‍यो र एकैसाथ रविन र मलाइ चिनाउने गीत चाहिँ यही भयो'  उनले भने।

अब मेरो पारिवारिक पोल पनि खोलुँ? अधिकारीले सबैलाई उत्सुकता जगाए। 'मेरो विवाह भयो। घरमा आउँदा कसैले सुनाइदिएको रहेछ तिम्रो श्रीमानको गीत हो भनेर' उनले भने ' मेरो श्रीमतीले पहिलो बोलेको शब्द थियो - यो गीत हजुरले लेखेको हो? मैले हो भनेँ। त्यसैले यो गीतसँग मेरो पारिवारिक सन्दर्भ पनि जोडिएको छ। अहिलेलाई यत्ति भनेँ।'

पलेँटीमा गायिका मिना निरौला र गायक योगेन्द्र उपाध्यायले दिनेश अधिकारीको रचना रहेको ७ वटा गीत सुनाए। त्यसपछि सुरु भयो कविता वाचन। उनले योजना, अन्तिम तयारी, हर्कबहादुर र विहे बोलको कविता सुनाए।

पलेँटीमै दिनेशको नयाँ कविता संग्रह पनि विमोचन भयो। जुन पब्लिकेसन नेपालयले कविता विधामा प्रकाशन गरेको पहिलो पुस्तक हो। नेपालयका तर्फबाट संगीतकार आभासले दिनेशलाई कविताको पुस्तक दिएँ र उनले कविता पुस्तक सार्वजनिक गरे।

कार्यक्रममा कवि अधिकारीबारे अर्का कवि श्रवण मुकारुङले भने गद्य कविहरुमा गोपालप्रसाद रिमाल, भूपि शेरचन, मोहन कोइराला, बैरागी काइँलापछि धेरै कविको नाम लिन्छौं। जसमा दिनेश दाइको नाम अगाडि आउँछ। उहाँले गर्दा हामीलाई पनि सजिलो भयो।' पलेँटी श्रृङ्खलामा अर्को महिना गायक विधान श्रेष्ठ रहने संगीतकार आभासले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.