|

काठमाडौं : मंगलबार बिहान श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा  फोनको घण्टी बज्यो। भिजिट भिसामा युएई लैजाने भन्दै पैसा लिएका व्‍यक्ति फरार भएको गुनासो थियो। 

रोजगारीको खोजीमा रहेकी दोलखा घर भएकी रोजिना कार्कीलाई राम्रो कमाइ हुने प्रलोभन देखाइ दिलिप गुरुङले पैसा लिएर फरार भएको गुनासो गरिन्।

कार्कीले स्वदेशमा रोजगारीको राम्रो अवसर पाइनन्। रोजगारीका विदेश जाने सोचमा रहेकी रोजिनाको युएईमा रहेका समान्य चिनजानका दिलिप गुरुङसँग सामाजिक सञ्जालमार्फत कुराकानी भयो। 

भिजिट भिसामा राम्रो कमाइ हुने प्रलोभन देखाए। गुरुङले सम्पूर्ण प्रक्रिया पूरा गरी आफैँले बोलाउने बताएका थिए। स्वदेशमा भनेजस्तो काम नपाएर हैरानी बेहोरेकी  रोजिना सहमत भइन्। उनले गुरुङलाई भिजिट भिसामा युएई जानका लागि १ लाख ९० हजार तिरिन्। 

प्रक्रिया हुँदैछ केही समय पर्खनु भनेका गुरुङ पैसा तिरिसकेपछि गुरुङ विस्तारै सम्पर्कविहीन बन्दै गए। लामो समयसम्म जान नपाएपछि कार्कीले उनलाई बारम्बार फोन गरिन्। विदेश जान नपाएपछि आफूले तिरेको पैसा फिर्ता मागिन्। तर,उनले सबै पैसा फिर्ता पाउन नसकेको उनले सुनाइन्।

उनले भनिन्,‘ मैले विदेश जानका लागि १ लाख ९० हजार  तिरेकी थिएँ। उसले १० हजार फिर्ता गर्‍यो। अरू फिर्ता भएको छैन, सम्पर्कमा पनि छैन’उनले थपिन्,‘सो पैसा उठाउनका लागि धेरैतिर धाएँ। कतैबाट सुनुवाइ नभएकोले निराश छु।'

त्यस्तै, केही दिन अगाडि  कतार रोजगारीमा जाने तयारीमा रहेका रौतहटका अलि मुस्तफासँग काठमाडौंको सिनामंगलस्थित मिनवा म्यानपावरले १ लाख २० हजार रुपैयाँ माग्यो। उनले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको कल सेन्टरमा फोन गरेर कतार जान लाग्ने शुल्कबारे जिज्ञासा राखे।

मन्त्रालयका कर्मचारीबाट कतार रोजगारीमा जान मात्र १० हजार लाग्ने थाहा पाए।  उनले तत्कालै मिनवा म्यानपावरले कतार रोजगारीका लागि जान १ लाख २० हजार लागत मागेको भन्दै कल सेन्टरमा उजुरी गरे।

देशमा  रोजगारी पाइने तर काम अनुसारको कमाई नभएकाले उनी विदेशतिर जान लागेका हुन्। पीडितको गुनासोका आधारमा श्रम मन्त्रालयले म्यानपावरका कर्मचारी सहारा थापा तथा एजेन्ट महोम्मद इसाक मियाँलाई रकमसहित नियन्त्रणमा लिएको थियो। 

माथि उल्लिखित घटना रोजगारीका नाममा समस्यामा परेका प्रतिनिधि पात्र मात्र हुन्। वैदेशिक रोजगारीको नाममा वार्षिक १० हजार श्रमिक समस्यामा पर्ने गरेको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयको  तथ्यांकले देखाएको छ। पछिल्लो समय वैदेशिक रोजगारीमा समस्या देखिएको छ।  

कल सेन्टरमा ६५ उजुरी  

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा ६५ वटा उजुरी  दर्ता भएका श्रम मन्त्रालयले जनाएको  छ। संस्थागत ४३, व्यक्तिगत २२ वटा उजुरी दर्ता भएको मार्सल टिमका संयोजक विष्णु प्रसाद लामिछानेले जानकारी दिए।

जसमा व्यक्ति तथा संस्थाबाट ठगिएको उजुरी दर्ता भएका छन्। सबैभन्दा बढी भिजिट भिसाको प्रलोभनमा पारी बढी पैसा लिएको गुनासो परेको छ। 

मन्त्रालयले  हालसम्म आउको उजुरीलाई सूचीकरण गरी कानुनी प्रक्रिया अगाडि बढाउने विषयमा छलफल भएको  श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका प्रवक्ता डण्डुराज घिमिरेले जानकारी दिए। वैदेशिक रोजगारीमा देखिएको समस्या समाधान गर्नका लागि भन्दै श्रम मन्त्रालयले कल सेन्टर मार्सल टोली गठन गरेको थियो। सो टोलीले पीडितको गुनासो गरेअनुसार म्यानपावर व्यवसायीलाई कारबाही गर्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.