|

२०७६ साल चैत २८ गतेदेखि प्रदर्शनमा आउने भनिएको नेपाली फिल्म 'चपली हाइट ३' का लागि कोरोना भाइरस ठूलो अवरोध बनेर आयो। उसो त कोरोनाका कारणले 'चपली हाइट ३' मात्र होइन प्रदर्शनको मुखमा रहेका निर्माणको क्रममा रहेका विश्व भरीका सिनेमालाई असर गरेको थियो। चपली हाइट टिमले पनि त्यसै भनेर चित्त बुझायो। 

त्यसको बिस महिनापछि गत पुस २ फिल्म प्रदर्शनको लागि अनुकुल मिति मानियो र त्यसै अनुसार प्रचार प्रसार पनि भयो। तर, सोही मितिमा प्रदर्शनमा आउन लागेका 'स्पाइडर म्यानः नो वे होम' र 'पुष्पाः द राइज' जस्ता ठूला विदेशी फिल्म आउने भएपछि 'चपली हाइट ३' ले योग्यता अनुसारको शो नपाउने भयो र फिल्म फेरि सर्नुपर्यो। 

पुस २ गतेबाट आउने भनिएको फिल्म पुस १५ मा सर्यो। त्यसै अनुसार फेरि प्रचार प्रसार गरियो। पुस १६ लाई अर्को नेपाली फिल्म 'कठपुतली'ले प्रदर्शन मिति तोकेकाले 'चपली हाइट ३' ले फेरि मिति सार्नुपर्यो र पुस ३० लाई फिल्मको नयाँ प्रदर्शन मिति तोकियो। 

पुस ३० देखि फिल्म हलमा लाग्यो। तर, कोरोनाको तेस्रो लहरका कारण सरकारी निकायबाट फिल्म हल बन्द गर्ने निर्णय भयो त्यसले तीन दिनमात्र प्रदर्शन भएको 'चपली हाइट ३' लाई ठूलो चोट पर्यो। 

कोरोनाको संक्रमण दर कम भएसँगै फागुन १ देखि फेरि हलहरू खुलेका छन्। 'चपली हाइट ३' ले पनि पूनः प्रदर्शन थालेको छ। तर, हलमा 'चपली हाइट ३' मा मात्रै होइन यतिवेला हलमा लागेका सबै फिल्ममा दर्शकको उपस्थिति एकदमै न्युन छ। 

एउटा फिल्म प्रदर्शनमा आउँदा कति दिन चल्यो? कति दर्शकले हेरे? कस्तो प्रतिक्रिया आयो? भन्ने कुराले फिल्मको सफलता, असफलता, आयु नापिन्छ। तर, एउटा फिल्म फिल्मको रुपमा आउनको लागि लामो यात्रा तय गरेको हुन्छ। जुन यात्रा कथाको प्रारम्भिक अवधारणा जन्मिएसँगै सुरु हुन्छ। 

'चपली हाइट ३' को यात्राको सुरुदेखि नै साक्षी रहेका निर्देशक निकेश खड्का फिल्मलाई सफल भन्ने या असफल मान्ने भन्ने कुराले दोधारमा छन्। सफल भनौँ फिल्म व्यवसायिक रुपमा अपेक्षा गरिए अनुसार चलेको छैन। असफल भनौँ फिल्म मन परेन अथवा कमजोर बनेछ भन्ने कोही भेटेका छैनन्। 

उनी भन्छन्, 'दर्शकको प्रतिक्रिया एकदमै राम्रो आएको छ। मलाई पर्सनल्ली फोन गरेर म्यासेज गरेर धेरैले फिल्म राम्रो बनेको छ भन्नु भएको छ। फिल्मले बिजनेस पनि गरिदिएको भए अझ राम्रो हुन्थ्यो। तर,..'

'चपली हाइट ३' र निर्देशक निकेश खड्काको फिल्मी यात्रा समेटिएको कुराकानी :

चपली हाइट ३ बाट एउटा निर्देशकको रुपमा तपाईंको अपेक्षा कस्तोे थियो? 

चपली हाइट गर्दा सिनियर दाइहरूले भन्नुभएको थियो यो तिम्रो तेस्रो फिल्म हो। अब पनि तिमीले प्रुभ गर्न सकेनौ भने तिमीलाई गाह्रो हुन्छ। किनभने डिरेक्टरले चान्स धेरै पाउँदैन। 

यो मलाई मनपर्ने जनरा हो। यही फिल्मबाट म आफूलाई प्रुभ गर्छु भन्ने थियो। मेहनत पनि त्यही अनुसार गरेका थियौँ। अहिलेसम्म सबैभन्दा बढी समय दिएर बनाएको फिल्म पनि यही हो। 

तर, म दर्शकले मन पराउँछन् कि पराउँदैनन् भन्नेमा डाउटफुल नै थिएँ। मैले बनाएको फिल्म मेरो अनुसार बन्ने भयो मलाई त मन परि नै हाल्छ। तर अडियन्सले कस्तो चाहिँ फिल्म मन पराउँछ भन्नेमा स्योर नै थिइनँ। 

दर्शकले खत्रा बनेको छ नभने पनि फिल्म राम्रो बनेको छ चाहिँ भन्छ भन्ने नै लागेको थियो। हेरेको दर्शकबाट प्रतिक्रिया पनि राम्रो आएको छ। फिल्मले होल्ड गरिराख्यो मन पर्यो भन्ने प्रतिक्रिया पाएको छु। 

हाम्रो लागि यो रिस्की जनरा नै रहेछ। रिस्की भएकाले धेरैले ट्राइ नै गर्दैनन्। ट्राइ नगरेपछि मार्केट पनि बन्दैन। तर, हेर्ने दर्शकले चाहिँ मन पराउनु भएको छ। 

तर, फिल्मले अपेक्षित रुपमा व्यापार गर्न भने सकिरहेको छैन। त्यस्तो किन भयो जस्तो लाग्छ?

सुरुको डेट मै रिलिज भएको भए राम्रै हुन्थ्यो होला। माहोल राम्रो बनिसकेको थियो। कोरोनाले गर्दा सोचेको जस्तो हुन सकेन।

पुस ३० मा रिलिज हुँदा पनि फिल्मको माउथ पब्लिसिटी राम्रो थियो। त्यही बेला चल्न पाएको भए राम्रो चल्थ्यो होला। यो ग्याप भयो अनि रिलिज डेट नै चार पटक सारिसक्यो मान्छेलाई रिलिज डेटले पनि कन्फ्युज गर्यो जस्तो लाग्छ। अनि नेगेटिभ पब्लिसिटीले गर्दा पनि अडियन्स आएनन् कि। 

चपली हाइटको यसअघिका फिल्म इरोटिक थ्रिलर जनरामा बनेका थिए। हामीले क्राइम थ्रिलर लिएर रिस्क लिएकै हौँ। 

टाइमिङ गलत हो कि, यो टाइटलमा फिल्म फिट नभएको हो कि मान्छेलाई हलमा जाने मुड नभएको हो कि दर्शकको साइकोलोजी बुझ्नै सकिएको छैन। फेरि अहिले हाम्रो मात्र होइन कुनै पनि फिल्ममा अडियन्स छैन। 

चपली हाइट ३ को यो प्रदर्शन एकदम अन एक्सपेक्टेड नै हो। कम्तीमा ५० देखि ६० पर्सेन्ट  अडियन्स त आउँछ भन्नेमा हामी स्योर थियौँ। 

यो मेरो क्षमता देखाउनको लागि एउटा अग्नी परिक्षा पनि थियो। विजनेस पनि राम्रो गरेको भए सुनमा सुगन्ध हुन्थ्यो। रेस्पोन्सबाट चाहिँ एक हिसाबले स्याटिस्फाइड नै छु। 

तपाईंको फिल्म निर्देशनमा यहाँसम्मको यात्रा तय चाहिँ कसरी भयो? 

मेरो आफन्तहरू अमेरिकामा हुनु्हुन्छ। म पनि त्यतैको लागि प्रोसेस गरिरहेको थिएँ। त्यस्तै वेला एक जना दाइ जो नेपाल वान टेलिभिजनमा काम गर्नुहुन्थ्यो उहाँसँग घुम्न भनेर गएको थिएँ। त्यहाँ गएको पहिलो दिनमै सुगम पोखरेल, नविन के भट्टराई जस्तो कलाकारलाई देख्न पाएँ। अनि क्यामेरा र कला क्षेत्रमा झुकाव बढ्दै गयो।

ब्याचलरपछि फेरि अमेरिकाको लागि ट्राइ गरेँ। फेरि भिजा रिजेक्ट भयो। नेपाल वान टेलिभिजनमा काम गर्न थालिसकेको थिएँ। त्यतिवेला अफिसबाटै फिल्म मेकिङ कोर्स पढ्ने मौका पाएँ। भाग्यले पनि यतै डोर्होयाए जस्तो लाग्यो। 

त्यसपछि म्युजिक भिडियोहरू बनाउन थालेँ। सौगात दाइले मेरो गीत खेलिदिनुभयो बहुला हुँ म बहुला भन्ने। त्यो चल्यो। त्यसपछि सुगम पोखरेल दाइको मेरो जीवन यस्तो होस् भन्ने गीत गरेको थिएँ, त्यो पनि चल्यो। दुइवटा म्युजिक भिडियो त्यसरी चलेपछि म्युजिक भिडियोबाट धेरैले चिन्न थाले। आफूलाई पनि हो कि जस्तो लाग्न थाल्यो। 

त्यसपछि जोशै जोशमा फिल्म बनाइयो। बनि त हाल्छ नि फिल्म जाबो के हो र भन्ने भयो। अहिले सोच्दा त्यतिवेला हतार गरियो भन्ने लाग्छ। 

आफ्नो पहिलो फिल्मलाई अहिले आएर कसरी सम्झनुहुन्छ?

सबै चिज राम्रो हुँदा हुँदै पनि कतिपय कुराहरू हतारिएर गर्नु हुँदैन भन्ने कुरा त्यतिवेला थाहा भयो। त्यो फिल्मलाई मैले आफूलाई अझै परिपक्व बनाएर गरेको भए वान अफ द बेस्ट रमकम मुभि बन्न सक्थ्यो भन्ने लाग्छ।

जोशै जोशमा फिल्म बनाइयो। हलमा दर्शक आएनन्। एक हप्तामा फिल्म उत्रियो। 

त्यही वेला लाइफलाई पनि अलि राम्रोसँग बुझेँ। अलिअलि गर्दै फेरि सुरु गरेँ। घमण्डले मान्छेलाई कहाँ पुर्याउन सक्दो रहेछ भन्ने पाठ जिन्दगी रक्सले सिकायो। त्यो फिल्म नै चल्दिएको भए म अहिले अर्कै एटिट्युडको बन्थेँ होला। 

त्यो समय हरेकेको जिन्दगीमा आउँदो रहेछ। त्यसलाई कसरी ह्याण्डल गर्ने भन्ने कुरा महत्त्वपूर्ण हुँदो रहेछ। मेरो सहि समयमा आएर गयो जस्तो लाग्छ। अब जति सुकै ठूलो मान्छे बनौँ या फेरि जिरोमा जाउँ मैले बुझ्छु। कस्तो अवस्थाबाट उठेर आएको हो भन्ने कुरा कहिल्यै भुलिँदैन। 

त्यही फिल्मले गर्दा फिल्म इन्डस्ट्रिमा एउटा वे चाहिँ बन्यो। 

त्यसपछि फाटेको जुत्ता..

हो। जिन्दगी रक्स मलाई एकदमै मन परेको स्टोरी हो। समीक्षकले राम्रो नमाने पनि हेर्दा रमाइलो लाग्छ त्यस्तो फिल्म। लभ स्टोरी छ एउटा जर्नी देखिन्छ त्यो मलाई मन परेर गरेको फिल्म हो। हतार भने गरेका हौँ। पछि बुझियो।

फाटेको जुत्ता एउटा विशुद्ध कमर्सियल फिल्म हो। त्यसमा डिरेक्टर त्यति धेरै देखिँदैन। तर त्यो फिल्म जुन कन्टेन्टमा बनाउन खोजेका थियौँ, त्यो बनेको थियो। 
फाटेको जुत्तामा त्यसरी ह्वार ह्वार दर्शक आउँदा त ओहो यस्तो पो हो त भन्ने पनि लाग्यो। फिल्मले दुई घण्टा दर्शकलाई हँसाएर राख्न सफल भयो। 

चपली हाइट ३ चाहिँ डिरेक्टरको मुभि हो। डिरेक्टरकै काम देखिन्छ। प्लस भयो भने डिरेक्टरलाई नै हुन्छ भन्ने नै थियो। यसमा मेहेनत चाहिँ म्याक्सिमम नै गरेको हो। 

चपली हाइट ३ एउटा दर्शकको रुपमा हेर्दा तपाईंलाई चाहिँ कस्तो लाग्यो? आफ्नो कामको स्वः मुल्यांकन कसरी गर्नुहुन्छ?

हामीले बनाउन खोजेको फिल्म त बनेको छ। तर, आफ्ना केही कमजोरीहरू पनि भेटेको छु। एक दुई पटक होइन मैले त फिल्म धेरै पटक हेरिसकेँ। त्यसरी हेरिराख्दा कतिपय ठाउँमा अझै बेटर बनाउन सकिन्थ्यो जस्तो पनि लाग्ने रहेछ। 

जिन्दगी रक्स हतारमा गरियो। फाटेको जुत्ता विशुद्ध कमर्सियल फिल्म थियो। यो चाहिँ डिरेक्टरको फिल्म हो। यसबाट चाहिँ म आफूलाई प्रुभ गर्छु भन्ने थियो। 

चपली हाइटमा धेरै ट्विस्टहरू छन्। एउटा सानो लिंक छुट्यो भने पनि धेरै कुरा छुट्छ। अनि ट्रान्जिसनहरू पनि डिटेलमा काम गरेका छौँ। त्यसले टाइम लिएर हामी स्क्रिप्टमा लामो समय बसेका थियौँ।

फिल्म हेरेका दर्शकले फिल्मको ट्विस्ट एण्ड टर्नहरू, ट्रान्जिसनहरू मन पराउनु भएको छ। 

मिस्टेकसँगै आफ्नो केही क्षमताहरू पनि थाहा पाएको छु। अब काम गर्दा त्यो देखिन्छ होला।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.