|

काठमाडौं :  संसारका प्रदूषित शहरमध्ये नेपालको राजधानी काठमाडौं पनि एक हो।

विश्व वायु गुणस्तर सूचक (एक्युआई) अनुसार बिहिबारमात्र नेपाल १७ औं नम्बरमा रहेको देखाएको छ। काठमाडौंमा प्रदूषणका विभिन्न स्रोतहरू छन्। तीमध्ये सवारीसाधनको चाप एक मानिएको छ। सवारी साधनबाट निस्किएको धुवाँले निकालेको वातावरण दूषित बनाएकै छ।

विश्वमा प्रदूषण कम गराउनका लागि विभिन्न अवधारणा ल्याइएका छन्। जसले प्रदूषण कम गर्न सकियोस्। इन्धनबाट निस्किने सवारी साधनको उपयोग कम गर्न विद्युतिय सवारी साधनको प्रयोग बढ्दै गएका छन्। साइकललाई प्राथमिकता दिइएको छ। 

नेपालमा पनि विद्युतिय सवारी साधनको अवधारणा विस्तारै व्यापकता पाउँदै गएको छ भने साइकल यात्रा पनि यातायातको माध्यम बनाइएको छ।यद्यपि उपत्यकामा साइकलको अवधारणाले व्यापकता पाइसकेको छैन। यहि विषयमा यातायात तथा शहरी पूर्वाधार विज्ञ आशिष गजुरेलसँग थाहाखबरका लागि राजु पौडेलले गरेको कुराकानीको सम्पादित अंश :

सञ्जालको निर्माण हुन सकेन

हरेक मान्छेले आफू सुरक्षित छु भन्ने कुराको महसुस भयो भने कुनै पनि सामानको प्रयोग गर्ने हो। साइकल यात्रा पनि यस्तै हो। उपत्यकामा अझै पनि हामीले साइकल यात्रालाई सुरक्षित मान्न सकेका छैनौं। उदाहरणका लागि :  हामीले हाम्रा बच्चालाई साइकल किनिदिएका हुन्छौं। तर, सडकमा लैजान दिदैनौँ। छतमा चलाउन दिएका हुन्छौं। चौरमा चलाउन दिएका हुन्छौं।

हामीले शहरलाई कहिल्यै पनि 'साइकल सिटी' भनेर डिफाइन गरेका छैनौं। यदि डिफाइन गर्ने हो भने साइकलका लागि लेन बनाउनुपर्थ्यो। अहिले केहि ठाउँमा साइकल लेन बनाइएको छ। बनाइएको ठाउँमा साइकल भन्दा अन्य प्रयोजन बढि भइरहेको छ। कहीँ फुटपाथ छ त, कतै मोटरसाइकल गुड्छन्। लेन बनाएपनि त्यसले व्यवहारिक काम गरेको छैन।

ललितपुर क्षेत्रका केहि स्थानमा साइकल लेन बनेका छन्। काठमाडौमा पनि एकाध ठाउँमा साइकल लेन बनेका छन्। यति निमार्ण हुँदैमा शहर साइकल मैत्री भयो भन्नु गलत हो।

साइकलका लागि सञ्जाल निर्माण हुनुपर्छ। सञ्जालको निर्माणबिना साइकल मैत्री बनाउछु भनेर भाषण गरेर हुँदैन।  केहि किलोमिटर लेन बन्दै मा कुनै पनि साइकल यात्रुले आफूलाई सुरक्षित महसुस गर्न सक्दैन।

यदि सञ्जाल निमार्ण भएको भए अहिले हामीले गर्ने कुराकानीको विषय अर्को हुन सक्थ्यो। स्थानीय निकायले साइकललाई प्राथमिकता पनि दिएको देखिएन्। अध्ययनले उपत्यकावासी दैनिक औसत ५ किलोमिटर यात्रा गर्छन् भन्ने देखाएको छ। यसरी हेर्दा साइकललाई प्राथमिकतामा राख्नुपर्ने हो। विविध कारणले साइकल प्रमोट हुन सकेको छैन।

काठमाडौंलाई साइकल मैत्री बनाउन ढिला भइसक्यो

हामीले योजना बनाउँदा खेरी कसका लागि सडक निर्माण गर्ने भन्ने कुरा प्रश्नको जवाफ खोज्नुपर्छ। विकसित मुलुकमा सबैभन्दा जोखिम को को छन्? भन्ने कुरालाई प्राथमिकता दिने गरिन्छ। सबैभन्दा बढि अपाङ्ता भएका व्यक्ति, वृद्ध, बालबालिका, पैदलयात्री, साइकल यात्रीलाई क्रमश जोखिमका रुपमा निर्धारण गरिएको छ। सडक निर्माण गर्दा उनीहरूलाई मध्येनजर गरेर योजना बनाइन्छ। सडक निमार्ण गरिन्छ। हाम्रोमा चाहिँ सवारीका लागि सडक निमार्ण गर्छौ। कतै ठाउँ रह्यो भने फुटपाथ बनाउँछौं। त्यसपछि अझै ठाउँ रह्यो भने साइकलको लेन पनि बनाइदिम न त भन्ने सोच आउँछ।

अहिले अपाङ्ता भएका व्यक्तिले पूर्वाधार भनेको हाम्रो पनि हो भनेर माग गरिरहनु भएको छ। अब हामीले सडक निर्माण गर्दा पैदल यात्रीका लागि, साइकल यात्रीका लागि, वृद्ध तथा बालबालिकाका लागि सोच्नुपर्छ। यसैपनि उपत्यका प्रदूषणको हिसाबले विश्वको प्रमुख शहरमध्ये एक हो। यसतर्फ प्रदूषण रोक विद्युतिय सवारी र साइकललाई प्रयोजनलाई प्राथमिकता दिनुपर्छ।

आशिष गजुरेल

उपत्यकामा साइकल यात्रीलाई सहजता कति छ?

आज हामीले उपत्यकाको सडक हेर्ने हो भने धेरै नै स्तरोन्नती भएको देखेका छौं। राम्रा सडक निर्माण भएका छन्। विस्तारै विस्तारै पैदल यात्रुका लागि सडक  पनि बनिरहेको छ। सडकको अवस्था हेर्दा सुधारको अवस्था देखिएको छ।

सडक निर्माण गर्न सक्नेले साइकल लेन निर्माण गर्न सक्दैन भन्नु अनुचित हुन्छ। उपत्यकामा साइकल लेन निमार्ण गर्न कठिन छैन। हामीले प्राथमिकतामा राख्न सकेनौँ।

उपत्यका खासै ठूलो पनि छैन। औसत पाँच किलोमिटर यात्रा गर्ने व्यक्तिले मजाले साइकल यात्रा गर्न सक्छ। साइकल स्वास्थ्य र वातावरणको हिसाबले सहि हो।  निष्कर्षमा भन्नुपर्दा पूर्वाधारको विकास गर्दै स्वास्थ्य, वातावरणको संरक्षण गर्न र सुरक्षाको प्रत्याभूति दिन सकिए उपत्यकामा साइकल यात्रा यातायातको एक महत्वपूर्ण माध्यम हुन सक्छ।

प्राथमिकता मुख्य कुरा हो

साइकल लेन प्राथमिकता पर्नुपर्छ। भोलि स्थानीय निकायको चुनावमा यो एजेण्डा ननिकालि नजित्ने अवस्था आयो भने साइकल मैत्री शहर बन्न कति नै समय लाग्ने हो र? आज मेट्रो रेल, मोनो रेलको कुरा गर्दा मान्छेहरू आकर्षित भइरहेका छन्। मेट्रो वा मोनो रेल नचाहिने भन्ने पनि होइन्। तर, अहिले साइकल लेन छोटो समयमा बनाउन सकिन्छ। ती रेल बनाउन दशौं वर्ष लाग्न सक्छ।

साइकलका आफ्नै फाइदाहरु छन्। देशमा डिजेल पेट्रोलको कमि हुन्छ। मान्छेको व्यायामको कुरा पनि हुन्छ। वातावरणलाई पनि सुदृढ गर्छ। सडकमा सवारीको चाप पनि कम गर्छ। यसका धेरै राम्रा पक्ष छन्।

साइकल मैत्री हुँदैमा सडक जाम हट्छ भन्ने होइन

अहिले उपत्यकामा साइकल मोह बढ्दै गएको छ। धेरै व्यक्तिले यसलाई प्रयोग गरिरहेका छन्। साइकलको व्यापार पनि बढेको समाचार पढिरहेका छौं। हामीले बुझ्नुपर्ने कुरा के हो भने साइकललाई मास ट्रान्सपोर्टका रुपमा प्रयोग गर्ने विषय होइन। साइकलले मात्र हाम्रो यातायात प्रणाली विकसित गर्छ या सडक जाम पूर्ण रुपले हट्छ भनेर सोच्नुहुँदैन। तर साइकल पनि एक महत्वपूर्ण यातायातको साधन हो भन्ने कुरा चाहिँ बुझ्नुपर्छ।

सार्वजनिक यातायातमा सुदृढीकरण र साइकल यात्रा मैत्री बनिदियो भने सडक जाम हट्न सक्छ।  सार्वजनिक यातायातको सुदृढीकरण नगर्ने, साइकल लेन मात्र विकास गरेर पनि हाम्रो यातायात प्रणालीलाई समाधान गर्छ भन्ने सोच्नुहुँदैन। विकसित शहरमा हेर्ने हो भने उनीहरूले सार्वजनिक यातायात विकास गरेका छन्। सँगसँगै साइकल पनि विकसित गरिरहेका छन्।

साइकल चलाउने व्यक्तिलाई हेर्ने दृष्टिकोण

हाम्रो देशमा सार्वजनिक यातायात र साइकल गरिबले चढ्ने हो भन्ने मानसिकता रहेको छ। समाजमा रहेका धनाड्यले जिम हाउसमा गएर त्यहि साइकल चलाइरहेका हुन्छन्। बिहानै पैदल हिड्नु,जिम हाउसमा साइकल चलाउनु, व्यायाम गर्नु धनीको संस्कृति जस्तो भयो। तर, त्यहि साइकल अफिस जानको लागि, कलेज जानको लागि, व्यापार व्यवसाय गर्नको लागि जाँदा गरिबमा रुपमा हेरिन्छ।

सार्वजनिक यातायात, पैदल यात्रा, साइकलको प्रयोग आफ्नो सहजताको लागि, आफ्नो यात्राको प्रयोगका लागि सवारी हो भन्ने बुझ्नुपर्छ। साइकल मैत्री शहरको अवधारणा आउने हो भने समाजमा सकारात्मक  प्रभाव पर्छ । साइकल चलाउँदा शरीरको व्यायाम, वातावरणीय प्रदूषण घट्ने, आर्थिक मितव्ययितासमेत हुने कुरा हामीले बुझ्न जरुरी छ। नेतृत्वले बुझाउन जरुरी छ। साइकल चलाएर बिदा मनाउने र जागिरमा जाँदा साइकल चलाउनेलाई हेरिने दृष्टिकोण पनि परिवर्तन गर्नुपर्ने भएको छ। 

  अघिल्लो समाचार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.