|

विराटनगर : सप्तकोशी डेभलपमेन्ट बैंकको कर्पोरेट कार्यालयबाट भएको करिब १६ करोड रुपैयाँ हिनामिना प्रकरणमा सिइओ एक्लैले १४ करोडभन्दा बढी रकम अपचलन गरेको पाइएको छ।

बैंकका तत्कालीन सिइओ नवीन सुवेदीले पदीय दुरुपयोग गर्दै रकम हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। उनले दिदी नाता पर्ने झापा दमक नगरपालिका–१३ की ४३ वर्षीया बबिता बस्नेतको खाताबाट फरक–फरक मितिमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ झिकेर हिनामिना गरेको प्रहरी अनुसन्धानबाट खुलेको हो।

मोरङ प्रहरीले सरकारी वकिलको कार्यालयमा बुझाएको अनुसन्धान प्रतिवेदनअनुसार उनले सन् २०१६ यताको ६ वर्षमा १४ करोडभन्दा बढी रकम आफैंले चलाएको देखिन्छ।

सन् २०१६ अगस्ट ७ तारिखदेखि बबिता बस्नेतको नाममा रहेकोे ९९९०००१५००१५ नं.को रेमिट खाताबाट १४ करोड ५ लाख २१ हजार ३६५ रुपैयाँ र खर्च खाताबाट सन् २०१६ अप्रिल २२ तारिखदेखि १ लाख ७२ हजार ३७० रुपैयाँ गरी ६ वर्षमा १४ करोड ६ लाख ९३ हजार ७३५ रुपैयाँ अपचलन गरेको प्रहरी अनुसन्धान प्रतिवेदनमा उल्लेख छ।

घोटाला भएको जम्मा रकममध्ये रेमिट शीर्षकबाट १५ करोड ६९ लाख ७७ हजार ९७७ रुपैयाँ र खर्च शीर्षकबाट ५ लाख ६२ हजार ५९८ रुपैयाँ अपचलन भएको देखिन्छ।

अपलचन भएको रकम बैंकका कर्मचारीसहितका ६ जनाको खाताबाट चलाएको देखिएको छ।

सुवेदीका नाता पर्ने बबिता बस्नेत, बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई, अपरेशन प्रमुख अमित थापा मगर, कमल दाहाल, मनोज भट्टराई र चूडाबहादुर निरौलाको नामको खाताबाट रकम अपचलन गरेको देखिएको छ।

सिइओ सुवेदीको नातामा भान्जा पर्ने हिमाल भट्टराईले विभिन्न मितिमा चारपटक रकम झिकेको देखिएको छ।

भट्टराईले ९९९००००६४४०११ नं. खाताबाट सन् २०२१ अक्टोबर २६ तारिखमा ७७ लाख ९७ हजार ८८० रुपैयाँ, २०१८ अप्रिल १ मा १९ लाख ३१ हजार १६९ र २०१६ मार्च २७ गते ४२ हजार ५ सय रुपैयाँ झिकेको देखिएको छ।

कमल दाहाल र मनोज भट्टराईको नामको खाताबाट विभिन्न मितिमा २÷२ पटक रकम झिकेको देखिएको छ। कमल दाहालको रेमिट खाताबाट २०१६ अगस्ट १ मा २ लाख ६० हजार, २०१६ मार्च ३० मा खर्च खाताबाट १ लाख १३ हजार ६८० रुपैयाँ झिकेका छन्।

यस्तै मनोज भट्टराईको खाताबाट २०१६ अक्टोबर ६ तारिखमा रेमिट खाताबाट ३३ लाख ८१ हजार ६३ र खर्च खाताबाट सोही मितिमा १ लाख ९३ हजार ४८ रुपैयाँ झिकेको देखिएको छ। बैंकका अपरेशन प्रमुख अमित थापा मगरको रेमिट खाताबाट २०१६ नोभेम्बर ३ तारिखमा ३ लाख ८६ हजार ५ सय रुपैयाँ हिनामिना भएको छ।

यस्तै चूडाबहादुर निरौलाको खर्च खाताबाट २०१६ मार्च २१ तारिखमा ४१ हजार रुपैयाँ झिकेको देखिएको छ। २०७२ सालदेखि २०७८ मंसिरसम्मको अवधिमा यो रकम अपचलन गरेको देखिएको छ।

बैंकका तत्कालीन सिइओसहित १२ जनाविरुद्ध मुद्दा दर्ताको तयारी सुरू

बैंकिङ कसुर मुद्दामा सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन सिइओसहित १२ जनाविरुद्ध मुद्दा दर्ताको तयारी सुरु गरिएको छ।

मोरङ प्रहरीले बैंकिङ कसुर मुद्दामा अनुसन्धान पूरा गरेर जिल्ला सरकारी वकिलको कार्यालयमा ‘अनुसन्धान प्रतिवेदन’ बुझाएकाले सरकारी वकिलको कार्यालयले अभियोजन बनाउन सुरु गरेको हो।

बैंकिङ कसुर मुद्दामा हामीले अनुसन्धान पूरा गरी प्रतिवेदन सरकारी वकिलको कार्यालयमा बुझाएको मोरङ प्रहरी प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताउँदै भने, ‘अबको प्रक्रिया सरकारी वकिलको कार्यालयले अगाडि बढाउँछ।’

यस्तो थियो घटना

मंसिर १९ मा बैंकको रकम घोटाला गरेको प्रहरीमा उजुरी परेपछि बैंकका जनरल सर्भिस डिपार्टमेन्ट (जीएसडी) प्रमुख हिमाल भट्टराई पक्राउ परेका थिए।

भट्टराई पक्राउ परेपछि १४ पुसमा सिइओ सुवेदीसहित बैंकका लेखावित्त प्रमुख देवीप्रसाद भण्डारी, अपरेशन प्रमुख अमित थापा मगर पक्राउ परेका थिए भने एक हप्ताअगाडि रामेछाप घर भई विराटनगर बस्दै आएका ३० वर्षीय होमप्रसाद पौडेल पनि पक्राउ परेका हुन्।

सरकारी वकिलको कार्यालयले ७ जनालाई फरार प्रतिवादी बनाएर अभियोग दर्ताको तयारी गरेको छ। पक्राउ परेका पाँच र फरार बनाएर ७ जना गरी १२ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ताको तयारी गरिएको हो।

फरार प्रतिवादी बनाएर बैंकका कार्यालय सहयोगी चूडाबहादुर निरौला, बैंकका कार्यालय सहायक पदबाट राजीनामा दिएका निश्चल सुवेदी, बबिता बस्नेत, कमल दाहाल, मनोज भट्टराई लगायतलाई मुद्दा दर्ताको तयारी गरेको अदालत स्रोतले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.