६० हजार शिक्षक खटिने, ११ हजार विद्यालयमा मतदान केन्द्र

|
फाइल तस्बिर

काठमाडौं : परिस्थिति सामान्य छैन। कोरोना महामारीले गर्दा शैक्षिक सत्र नै उथलपुथल भएको अवस्था छ। चैत महिनामा सकिनुपर्ने अघिल्लो शैक्षिक सत्र जेठसम्म धकेलियो।

असार १ गतेबाट सुरु भएको चालू शैक्षिक सत्र चैतमै सक्ने भनियो तर बीचमा फेरि कोरोनाको तेस्रो लहरले गर्दा माघ महिनाभर विद्यालय बन्द भयो। जसले गर्दा कोर्ष सक्न मुश्किल हुने भएपछि यो शैक्षिक सत्र वैशाखसम्म धकेलिएको छ।

सरकारले आगामी जेठ १ देखि मात्रै नयाँ शैक्षिक सत्र सुरु गर्ने  भएको छ। शिक्षा तथा मानव स्रोत विकास केन्द्रका अनुसार आगामी चैत मसान्तसम्म पठनपाठन हुने, वैशाखमा परीक्षा सकेर नतिजा प्रकाशन गरी जेठ १ बाट पठनपाठन थाल्ने निर्णय गरेको छ। 

तर,स्थानीय तहको निर्वाचनका कारण पठनपाठनमा असर पुग्ने देखिएको छ। निर्वाचन आयोगले एकै चरणमा सबै स्थानीय तहको चुनाव आगामी वैशाख ३० गते गर्ने समय तोकेको छ। निर्वाचनमा मतदानका लागि सामुदायिक विद्यालय प्रयोग हुनेछन् भने, निर्वाचन अभियानमा विगतजस्तै शिक्षकहरू खटिन्छन्।

​आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पहिला पनि शिक्षकहरूलाई निर्वाचनमा परिचालन गरिएकाले यसपाली पनि परिचालित गरिने बताए।

सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालका अनुसार २०७४ सालमा भएको स्थानीय तहको निर्वाचनमा करिब ९ हजार सामुदायिक विद्यालयमा मतदान स्थल तोकिएको थियो।

यसपालि भने बढाएर करिब ११ हजार विद्यालयलाई मतदाता केन्द्र बनाउने आयोगको तयारी छ। उनले मतदाताको संख्या थपिएकाले मतदान केन्द्र पनि थपेको बताए।

‘पहिलाको चुनावमा पनि विद्यालयमा मतदान केन्द्र तोकिएको थियो। यसपाली पनि विद्यालय र केही स्थानीय तहको स्वास्थ्य केन्द्रमा मतदान केन्द्र तोकिने छ,’उनले भने।

शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयका अनुसार देशभर २८ हजार ८ सय ३३ सरकारी विद्यालय छन्। आयोगका सूचना अधिकारी अर्यालले यसपालिको निर्वाचनमा कति शिक्षक परिचालन गर्ने भन्नेमा अहिले यकिन संख्या भन्न नसकिने बताए।

उनले भने, ‘मतदान केन्द्रमा खटिने अधिकृत, सहायक अधिकृत र केही सहयोगी कर्मचारीका रुपमा उल्लेख्य संख्यामा शिक्षकलाई परिचालित गरिन्छ।’

उनका अनुसार चुनाव हुनुभन्दा अगाडि झन्डै एक सातासम्म शिक्षकलाई निर्वाचनबारे तालिम दिइन्छ। तर दल निकटका शिक्षक संगठनमा आबद्ध शिक्षकहरूलाई भने चुनावको रन्कोले अहिले नै छोइसकेको छ। 

६० हजार शिक्षक परिचालित हुने अनुमान

नेपाल शिक्षक महासंघकी अध्यक्ष कमला तुलाधरले अहिलेसम्म भने महासंघमा शिक्षकको माग नआएको जानकारी दिइन्। ‘अहिलेसम्म शिक्षक परिचालित हुने माग आएको छैन,अब माग आउला’, उनले भनिन्। शिक्षक चुनावमा खटिँदा पढाइमा खासै असर नगर्ने उनको तर्क छ।

‘वैशाख ३० मै चुनाव होला भनेर पूर्ण विश्वास अझै गर्न सकिँदैन,’उनले भनिन्,‘भएन भने राम्रै गरी पठनपाठन गराउन सकिएला भयो भने चाहिँ पठनपाठनमा समस्या पार्नसक्छ।’

महासंघका प्रमुख सल्लाहकार बाबुराम थापाका अनुसार २०७४ सालको निर्वाचनमा करिब ३० हजार शिक्षक परिचालित भएका थिए।

यसपालि मतदाता संख्या बढेको हिसाबले करिब ६० हजार शिक्षकलाई निर्वाचनमा प्रयोग गरिने उनको अनुमान छ। चुनाव वैशाख ३० मा भए पनि मतगणना नसकिउञ्जेल पढाउन भने समस्या हुने उनले बताए। महासंघका अनुसार देशभर सामुदायिक विद्यालयमा करिब २ लाख १० हजार शिक्षक छन्। 

'चुनावका बेला जहिल्यै पठनपाठन भद्रगोल हुन्छ' 

शिक्षाविद्  डा. मनप्रसाद वाग्ले चुनावका बेला जहिल्यै पठनपाठन भद्रगोल हुने गरेको बताए। 

‘चुनाव भन्नेबित्तिकै गाउँघरमा नेताभन्दा पहिला शिक्षक भोट माग्न जान्छन्, शिक्षकहरु कुनै न कुनै पार्टीमा क्रियाशील नै हुन्छन्, यसो गर्दा विद्यार्थीहरु पढ्न पाउँदैनन्’ उनले भने।

यसपालिको स्थानीय तहको निर्वाचनले पनि पठनपाठनमा धेरै असर पुग्ने उनले बताए।

‘यसपालिको चुनावका लागि १५ दिन चुनावी प्रचारप्रसार गर्ने समय राखिएको छ, सरकारले वैशाखभरी परीक्षा लिएर नतिजा प्रकाशन गर्नु र जेठबाट पढाउनु भनेको छ तर शिक्षकहरु भने चुनावी प्रचारमै लाग्छन्। यसले गर्दा शैक्षिक सत्रमा क्षति त अवश्य पुग्छ,’उनले थपे।

जेठ भरी नै शिक्षकहरुलाई चुनावी माहोल लाग्ने भएकाले त्यस समयसम्म पठनपाठनमा प्रभाव पर्ने उनको भनाइ छ। शिक्षकहरु राजनीतिमा लाग्न नपाउने कानुनी प्रावधान रहे पनि सरकारकै लापरबाहीका कारण शिक्षकहरु खुलमखुला राजनीतिमा लागेको उनी बताउँछन्।

के भन्छ सरकार ?

कोभिड-१९ का कारण २०७६ बाटै शिक्षा क्षेत्रमा असर पुगेको छ। जसकारण हालसम्म पनि शैक्षिक सत्र लयमा फर्कन सकेको छैन। नयाँ शैक्षिक सत्र वैशाखबाट सुरु गर्ने सरकारको योजना रहे पनि पाठ्यक्रम अनुसार पढाइ पूरा नहुने भएपछि जेठबाट पढाउने समय तोकिएको छ।

शिक्षा मन्त्रालयको मानव स्रोत विकास केन्द्रका सूचना अधिकारी सुरेश जोशीले निर्वाचनले पढाइमा धेरै असर नपुग्ने दाबी गरे। पढाइमा नै असर पुगेपछि शैक्षिक सत्रलाई व्यवस्थापन गरिने उनको भनाइ छ।

‘वैशाखमा भर्ना, परीक्षा सबै सकाएर जेठ १ बाट पठनपाठन थाल्ने भनेका छौँ, निर्वाचनले खासै प्रभाव नपर्ला, पछि समयमा शैक्षिक सत्र पूरा भएन भने फेरि त्यो बेला बिदा लगायतलाई मिलान गरी व्यवस्था गरिन्छ,’उनले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.