सल्यान : म्याद नथपिँदा सल्यानका दुई खानेपानी योजना अलपत्र परेका छन्। छत्रेश्वरी गाउँपालिकाले संघीय विशेष अनुदानमा गत वर्ष शुरु गरेको दमाचौर र लान्ती गरि दुई वटा लिफ्ट खानेपानी योजना अलपत्र परेका हुन्। निर्माण अवधि एक वर्षको मात्र रहेको र म्याद थप नहुँदा ठेकेदारले काम गर्न छाडेपछि दुई वटा लिफ्ट खानेपानी योजनाको काम अलपत्र भएका हुन्।
संघीय विशेष अनुदानअन्तर्गत संघले छत्रेश्वरी गाउँपालिका–१ दमाचौरका लागि १ करोड र लान्तीका लागि २ करोड रूपैयाँ बजेट विनियोजन गरेको थियो। पालिकाले आह्वान गरेको टेन्डरअनुसार मस्टा जेभी काठमाडौंले २०७८ फागुनमा दमाचौरको खानेपानीका लागि ६१ लाख र लान्तीको खानेपानीका लागि मंसिरमा १ करोड २२ लाख रूपैयाँमा सम्झौता गरेको थियो।
योजना अलपत्र पर्दा दमाचौरका ४ सय ३ र लान्तीका झन्डै ३ सय परिवार प्रभावित भएका छन्। योजना अलपत्र परेपछि अहिले स्थानीयहरू बस्तीबाट धेरै समय लगाएर पुराना मुहानबाट ल्याएको पानी पिउन बाध्य छन्।
ठेकेदार कम्पनीले काम सक्न ढिलाइ गर्दा अवधि सकिएर खानेपानी योजना अलपत्र परेपछि घरकै धारामा पानी भर्न पाउने सपना अधुरो भएको दमाचौरकी निर्मला शाहले बताइन्। उनले खानेपानीका लागि विगतदेखि नै विभिन्न समस्या भोग्दै आएको र एक गाग्री पानीका लागि मुहानमा धेरै बेर कुर्नुपर्ने जानकारी दिइन्। लान्तिकी विमला घर्तीले योजनाको काम बोरिङ्गमा सीमित भएपछि अहिले पनि शारदा नदी आसपासका मुहानबाट पानी ल्याएर खानुपर्ने अवस्था रहेको बताइन्।
योजनाको काम झन्डै ५० प्रतिशत जति सकेर ठेकेदार सम्पर्कविहीन भएको छत्रेश्वरी गाउँपालिका-१ का वडाध्यक्ष नेबबहादुर शाहले बताए। योजनाको टंकी निर्माण गरेको र पाइपलाइन विस्तारका लागि पाइप खरिद गरी ल्याए पनि ती सामग्री झन्डै ६ महिनादेखि त्यत्तिकै थन्किएको जानकारी उनले दिए।
छत्रेश्वरी गाउँपालिका सल्यानका प्रमुख प्रशासकीय अधिकृत प्रेमप्रकाश दाहालले योजनाको काम गर्ने अवधि एक वर्ष मात्र भएकाले ठेकेदारले समयमै काम नगर्दा बजेट फिर्ता गएको र पुनः म्याद नथपिँदा योजना अलपत्र परेको बताए। योजनाका लागि ठेकेदारले खरिद गरी ल्याएका सामग्री त्यत्तिकै थन्किएको जानकारी उनले दिए।
उनका अनुसार ठेकेदारले दमाचौरको खानेपानी योजनाको २७ लाख रूपैयाँ बराबरको र लान्तीको ६० लाख रूपैयाँ बराबरको काम सकेको छ। बजेट अभावमा अहिलेसम्म ३५ लाखभन्दा बढी भुक्तानी दिन नसकेको उनले बताए। ठेकेदार पदमबहादुर तामाङले भने काम गरेअनुसार भुक्तानी नदिएको र सामान ल्याएर राखे पनि म्याद सकिएकाले काम गर्न नसकेको बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।