|

पर्वत : बिहीबार दिउसो एक बजेका लागि प्रतिनिधि सभाको बैठक डाकिएको छ। 

बैठकको सम्भावित कार्यसूचीको दोस्रो बुँदामा ‘नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसनबीच भएको अनुदान सहायता सम्झौता माथि सामान्य छलफल गरियोस्’ भन्ने लेखिएको छ।

सम्भावित कार्यसूचीका रूपमा राखिएको उक्त प्रस्ताव छलफलका लागि अर्थ मन्त्री जनार्दन शर्माले प्रस्तुत गर्ने लेखिएको छ।  अर्थमन्त्री शर्माले सम्झौताबारेको छलफलका लागि बैठकमा प्रस्ताव गर्ने कार्यसूची रहेको बेलामा अर्थमन्त्री शर्मा भने पर्वतमा घुमघाममा व्यस्त छन्। 

अर्थमन्त्री शर्मा पर्वत उद्योग वाणिज्य सङ्घको ३९ औँ वार्षिक साधारण सभा उद्घाटन गर्नका लागि बुधवार नै पर्वत आएका हुन्। उद्योग वाणिज्य सङ्घ पर्वतका अध्यक्ष गोपी अधिकारीका अनुसार उक्त कार्यक्रम बिहान ११ बजेका लागि आयोजना गरिएको छ। 

‘एमसीसी’ संसदमा टेबल हुँदाको दिन गत आइतबारको बैठकमा समेत संसद् बैठकमा उपस्थित नभएका शर्मा त्यस उपर हुने छलफलमा पनि सहभागी नहुने भएका छन्। 

नेकपा माओवादी कुश्मा नगर कमिटीका अध्यक्ष शङ्कर गिरीका अनुसार बुधवार ‘द क्लिफ’ को रिसोर्टमा बास बसेका अर्थमन्त्री शर्माले उद्योग वाणिज्य सङ्घको कार्यक्रम सकिएपछि पर्वत र आसपासका पर्यटकीय क्षेत्रहरूको अवलोकन गर्ने कार्यक्रम रहेको छ। 

समय भएमा बिहीबार र नभए शुक्रवार मात्रै अर्थमन्त्री शर्मा काठमाडौँ फर्किन सक्ने अध्यक्ष गिरीको भनाइ छ।  आफै सहभागी रहेको गठबन्धन सरकारमा बसेर सरकारकैविरुद्धमा आन्दोलन गरेको भन्दै माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायतका गठबन्धन दलहरूको आलोचना भइरहेको छ। 

पद र आगामी स्थानीय तहको निर्वाचनका कारण सरकार र पद छाड्न नसकेको, भित्रभित्रै कांग्रेसलाई सघाएको हुन सक्ने लगायतका आरोप र शङ्कामा ती दलहरू परेका छन्।

एमसीसी को विपक्षमा नै रहने भए पनि संसदमा उपस्थित भएर आफ्ना तर्क प्रस्तुत गरेर एमसीसी विवादको अन्त्य गर्न भूमिका निर्वाह गर्नुपर्ने बेलामा अर्थ मन्त्री तथा माओवादीका प्रभावशाली नेता नै काठमाडौं छाडेर जिल्ला हिँड्नु गलत भएको भन्दै उनको आलोचना भएको छ। 

सरकार पनि नछाड्ने तथा एमसीसीको पक्षमा मतदान समेत नगर्ने भनेका कारण गठबन्धनमा नै रहेका दलहरूको आलोचना भइरहेको छ। अर्थमन्त्री शर्मासँगै पूर्व मन्त्री दिननाथ शर्मा पनि पर्वत आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.