|
फाइल तस्वीर

काठमाडौं : कोभिड-१९ का कारण लकडाउन भएकाे करिब एक महिनापछि यतिखेर देशभरिकै विद्यालय खुलेका छन्। तर अधिकांशमा नियमित नभई आलोपालो प्रणालीबाट मात्रै पठनपाठन भइरहेको छ। 

कोरोना संक्रमण तीव्र गतिमा बढेकै कारण गत पुस २७ गतेदेखि माघ मसान्तसम्म सबै शैक्षिक संस्था बन्द भएका थिए। कोरोना संक्रमणदर घट्दै गएपछि सरकारले फागुन १ बाट आलोपालो प्रणालीबाट कक्षा सञ्चालन गर्न अनुमति दिएको छ।

सरकारले १२ वर्षमाथिको उमेर समूहको हकमा नियमित र १२ वर्षमुनिका विद्यार्थीका हकमा आलोपालो प्रणालीबाट मात्रै कक्षा सञ्चालन गर्नू भनेको छ। सोही निर्देशनअनुसार स्कुलहरूले पनि आलोपालो प्रणालीबाट अध्यापन गरिरहेका छन्।

केही समययता कोरोना संक्रमणदर ह्वात्तै घटेको छ। मंगलबार ४ सय ७६ जनामा संक्रमण पुष्टि भएको थियो भने बुधबार ३ सय १२ जना कोरोना संक्रमित भेटिएका थिए। बुधबार २ जना संक्रमितको मृत्यु भएको थियो।

सरकारले कहिले लकडाउनभन्दा अघिजस्तै नियमित कक्षा सञ्चालन गर्न देला भनी विद्यालय सञ्चालकहरू जिज्ञासा राख्न थालेका छन्। उनीहरू संक्रमणदर घटेकाले सबै तहका कक्षा नियमित सञ्चालन गर्न माग गर्न थालेका छन्।

निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)का केन्द्रीय अध्यक्ष टीकाराम पुरीले परिस्थिति सामान्य बन्दै गएकाले पहिलेजस्तै नियमित सञ्चालन गर्दा उत्तम हुने बताए। उनी भन्छन्, ‘कोरोनाका कारण ०७७ र ०७८ को शैक्षिक सत्र बिग्रिएको छ, सिकाइ उपलब्धि भएको छैन, त्यसैले अब समग्र शैक्षिक सत्र सकेसम्म ०७९ नसकिए ८० सालसम्ममा पुरानै लयमा फर्काउन शिक्षक, सरकार सबै लागि पर्नुपर्छ।’ 

यसो भन्छ शिक्षा मन्त्रालय

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्माले विद्यालय सञ्चालन र कक्षा नियमित गर्ने विषयमा स्थानीय तहले निर्णय गर्नुपर्ने जानकारी दिए।

‘कहिले र कस्तो अवस्थामा विद्यालय सञ्चालन गर्ने भन्ने विषयमा स्थानीय तह र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)ले निर्णय गर्छ, यसको अधिकार उनीहरूलाई दिइएको छ,’ शर्माले भने।

यस्तो छ सिडिओको भनाइ

जिल्ला प्रशासन कार्यालय ललितपुरका सहायक प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस विषयमा अहिले कुनै छलफल नभएको जानकारी दिए। उनले भने, ‘अहिलेलाई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरी भौतिक उपस्थितिमा पढाउन भनिएको छ, अरु केही कुरा उठेको छैन। अब नियमित कक्षाका लागि सिडिओहरूले निर्णय गर्नुहोला।’ 

काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजाल अर्को बिहीबारसम्ममा यस विषयमा छलफल गरी निर्णय गर्ने बताउँछन्। उनले भने, ‘विद्यालय सञ्चालनका विषयमा अब छलफल गर्छौं, अर्को सातासम्ममा यसको निर्णय आउँछ।’

कोरोनाको जोखिम न्यून हुँदै गएकाले पहिलेजस्तै कक्षा सञ्चालन गर्न दिने पक्षमा उनी छन्। ‘कोरोना संक्रमण पनि घटेको छ,’ उनले भने, ‘अब स्वास्थ्य सुरक्षाका उपाय अपनाउँदै सबै कक्षा सञ्चालन गर्दा हुन्छ, तर एक पटक छलफल गरेरमात्र यसको निर्णय हुन्छ।’

शिक्षा मन्त्रालयका अनुसार देशभरि २८ हजार ८ सय ३३ सरकारी र ६ हजार ६ सय ८७ निजी गरी ३५ हजार ५ सय २० विद्यालय छन्। कोभिड–१९ का कारण ०७६ सालबाटै यी सबै विद्यालयको पठनपाठन प्रभावित भएको छ। विद्यार्थीले अझै पनि कक्षामा उपस्थित भएर पूरै सत्र पढ्न पाएका छैनन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.