|

धेरै देश हाल कोरोना महामारीविरुद्ध लडिरहेका छ। महामारीसँग लड्न आपत्कालीन मानवीय सेवामा तल्लीन परोपकारी संस्था रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघ (आइएफआरसी) सुरुदेखि नै लागिपरेको छ।

कोरोना महामारीमा आइएफआरसीले कसरी काम गर्‍यो? महामारीले भविष्यमा निम्त्याउने समस्यासँग लड्न के योजना बनाउँदै? यस्तो विषयमा आइएफआरसीका महासचिवमा जगन्नाथ चापागाईँसँग थाहाखबरले गरेको कुराकानी :

लामो समयदेखि विश्वले कोरोना महामारी भोगिरहेको छ। यो समयमा महामारी न्यूनीकरणमा आइएफआरसीले के कसरी काम गर्‍यो?

कोरोना महामारीको समयमा हामीले दुई तरिकाले काम गरेका छौं। सुरुको अवस्थामा हामीले २.८ बिलियन अमेरिकन डलर संक्रमणसँग लड्न १७२ देशलाई सहयोग गरेका छौँ। अहिले कोरोनाविरुद्धको खोपका लागि समन्वय गरेका छौँ। अहिले केही देशमा पर्याप्त मात्रामा खोप छ‚ केही देशमा अभाव छ। त्यसैले हामीले खोपको वितरण राम्रोसँग हुनु पर्छ भनी समन्वयकारी भूमिकामा काम गरिरहेका छौं।

खोप समाजका सबै वर्ग र क्षेत्रमा पुग्नु‚ सुविधा सम्पन्न वर्ग र क्षेत्रमा मात्र सीमित हुनु हुँदैन भन्ने हाम्रो मान्यता छ। निश्चित क्षेत्रका मानिसले खोप पाएनन् भने महामारी जारी रहन्छ। त्यसैले खोप समानताका साथै यसलाई व्यवस्थित गर्न आवश्यक छ। हामीले विभिन्न देश र देशभित्र पनि खोपको उत्पादन, वितरण र समान पहुँच वृद्धि गर्न सम्भावित उपाय मनन गर्न पैरवी पनि गरिरहेका छौँ। यस्तै ‘कोभ्याक्स’ अन्तर्गत विकासोन्मुख तथा गरिब देशहरूलाई खोप सहयोग गर्न निरन्तर पैरवी पनि गरिरहेका छौँ।

कोरोना महामारी नियन्त्रणमा केमा कमजोरी भयो?

कोरोना महामारीको समयमा हामीले काम गर्दा समुदायमा आधारित स्वास्थ्य सेवा नहुनु मुख्य समस्या रहेको पाएका छौं। यो समस्या हाम्रो जस्तो देशको मात्रै होइन‚ विकसित देशहरूमा पनि छ। दक्षिण एसिया र अफ्रिकी देशमा समुदायमा आधारित स्वास्थ्य सेवा प्रणाली कमजोर देखियो।

त्यसैले कोरोना महामारी नियन्त्रण गर्न हम्मेहम्मे भयो। आगामी दिनमा समुदायमा आधारित स्वास्थ्य सेवालाई विशेष प्राथमिकतामा राखेर काम गर्ने योजना बनाएका छौँ।

कोरोना महामारी त कम हुँदै गएको देखिन्छ‚ अब अन्य कामहरु कसरी गर्दै हुनुहुन्छ?

हालसम्मको अवस्थालाई हेर्दा कोरोना महामारी विस्तारै कम भएको देखिन्छ। हामीले अहिलेसम्म महामारीसँग लड्ने प्रयत्न गर्‍यौं। अब यति लामो महामारीबाट परेको असर देखिन थालेको छ। जुन असर भनेको पछिल्लो समय मानिसमा बढ्दै गएको मानसिक समस्या हो।

लामो समयसम्म रहेको महामारीले हाम्रो व्यवसायहरु सञ्चालन हुन सकेन। आर्थिक क्रियाकलापहरु हुन पाएनन्। यसले मानिसमा मानसिक समस्या देखिएको छ। अर्को कुरा भनेको लामो समयको लकडाउनमा हुँदा मानिसहरु घरभित्रै बसेका छन्। जसले गर्दा मानिसमा एक्लोपन महसुस गर्ने अवस्था आएको देखिन्छ। त्यसैले गर्दा अबको केही समय मानसिक स्वास्थ्यको क्षेत्रमा काम गर्नुपर्ने अवस्था आएको छ।

अहिले आइएफआरसी कुन क्षेत्रलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ?

हामी अहिले पनि कोरोना महामारीसँग जुधिरहेका छौँ। यो महामारीभन्दा पनि ठूलो समस्या भनेको जलवायु परिवर्तन हो। यसले संसारका देशहरूलाई मात्रै होइन‚ हाम्रो जस्तो देशलाई समेत असर गरिरहेको छ। त्यसैले हामीले अहिले जलवायु परिवर्तन र त्यसबाट पर्ने असर, प्रकोप, स्वास्थ्य क्षेत्रमा बढ्दै गएको समस्यालाई कम गर्न मुख्य एजेण्डा बनाएर काम गरिरहेका छौँ।

हामीले जलवायु र वातावरण बडापत्र अनुमोदनका लागि पनि जोड दिइरहेका छौं। ती दुई क्षेत्रले भविष्यमा मानवीय संकट निम्त्याउने खतरा छ। यसबाट गरिब र सिमान्तकृत समुदायलाई बढी असर पुग्छ। यो समस्याबाट पर्ने असर महामारीभन्दा पनि ठूलो हुन्छ।

जलवायु परिवर्तनले नेपालजस्तो देशलाई कस्तो असर गरिरहेको छ? यसबाट बच्न नेपालले के गर्नु पर्छ?

जलवायु परिवर्तनबाट सबैभन्दा धेरै असर पर्ने मुलुक भनेकै नेपाल हो। यो कुरा हालसम्म बाहिर आएको छैन। किन भने यसका लागि डाटा छैन। डाटा नभए पनि हामी आफैंले पनि अनुभव गर्न सक्छौँ। पछिल्लो समय नेपालमा भू-क्षय धेरै भएको छ। विकासका पूर्वाधारहरु अनियन्त्रित छ। जसले गर्दा प्रदूषण बढ्दै गएको छ।

त्यसैले विकासको पूर्वाधार निर्माणमा सरकारले विशेष ध्यान दिनुपर्छ। सामाजिक संस्थाहरूलाई समुदाय स्तरमा जलवायु परिवर्तनबाट पर्ने असरबारे जनचेतना जगाउनुपर्ने अवस्था छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.