|

सुनेको सत्य र भोगेको सत्य पक्कै फरक छ। नत्र यहाँ भोगिएको जिन्दगी पनि कल्पनाको दुनियाँमा बुनिने कथा भन्दा बढ्ता सुन्दर र कलात्मक हुने थियो।

बच्चैदेखि सुन्दै आएकी हुँ, आफू आमा बनेपछि मात्र आफ्नी आमाको महत्त्व थाहा हुन्छ। उसो त बुबाको महत्व पनि त बुबाको जिम्मेवारी पूरा गर्दा थाहा हुन्छ नै।

 दुई सन्तानलाई मातृत्व प्रदान गरिरहँदा उक्त भनाइप्रति कुनै द्विविधा छ न त प्रश्न नै। बच्चा जन्माउँदैमा कुशल अभिभावक बन्न कहाँ सजिलो छ र?  

सन्तानको हरेक पाइलामा चप्पल जस्तो जीवन बाँच्न चानचुने कुरा होइन। कतिले यसलाई उत्तरदायित्वको रुपमा परिभाषित गर्लान् तर यो नै कुशल अभिभावकको विशेषता हो।

हरेक सन्तानको भविष्यसँग बुबा आमाको हातका औँलामा रहेको माटो मिसिएको हुन्छ। चर्चरी फुटेका पैताला जोडिएको हुन्छ।  पालनपोषण, स्याहार सुसार, हेरचाह, उमेरअनुसार व्यावहारिक सिकाई, अनुशासन, नैतिकता, अध्यात्म, जे जति जीवनोपयोगी कुराहरू छन् तिनलाई, सिकाउँदै, पालना गर्न लगाउने गरी सन्तानको नेता अभिभावक बन्न त्यति सहज छैन। 

वर्षमा एक-दुईपटक घर आउँदा बुबाको अनुहारमा देखिने खुशी म स्पष्ट देख्ने गर्थें। तर, उहाँ आफ्नो खुशी व्यक्त गर्न सक्नुहुँदैन थियो। हामीलाई भन्ने गर्नुहुन्थ्यो, 'चोरेर अनि कसैसँग मागेर नखानु, अर्काको साटेर पनि नलगाउनु, बाउले सात डाँडापारि गएर भए पनि तिमीहरूको इच्छा पुर्‍याउँछु।

त्यसमा पनि आमा, एउटी नारीलाई त झन् कठिन एक महिला केबल महिला मात्र होइन्। ऊ कसैको छोरी हो। श्रीमती हो। भाउजू हो। दिदी हो। समाजले दिएको परिचयअनुसार उसले एकैपटक फरक-फरक परिचय बोक्ने पात्र हो।  भावनात्मक भयो कि अलिक। व्यवहारमा जाऊँ न।

झण्डै साढे तीन दशकअघि अहिले जति, सुविधा, सहजता हुने कुरा रहेन। भौगोलिक क्षेत्रका हिसाबले केही सहज भए पनि बारा जिल्ला चार सन्तान हुर्काउन, पढाउन अनि बढाउन सहज थिएन।

आर्थिक सम्पन्नताका लागि परदेश गएर १८-१९ घन्टा खट्नु बुबाको नियति थियो। हुर्कंदै गरेका आफ्ना बाबुनानीलाई  तातेताते गर्न पाउनु उहाँको अधिकार आर्थिक पाटोले ओझेलमा पारिदिएको थियो।

आफ्ना सन्तानसँग हुन नपाउँदाको पीडा उहाँलाई पनि हुँदो हो। तर, उहाँले कहिल्यै आफ्नो पीडा कहिल्यै देखाउनुभएन। समाजले पुरुषले पीडा देखाउन हुँदैन भन्ने भनाइको बन्धनमा हुनुहुन्थ्यो। पीडामा आँशु देखाउन नसक्नु पुरुषका लागि कति पीडाको विषय हो।

वर्षमा एक-दुईपटक घर आउँदा बुबाको अनुहारमा देखिने खुशी म स्पष्ट देख्ने गर्थें। तर, उहाँ आफ्नो खुशी व्यक्त गर्न सक्नुहुँदैन थियो। हामीलाई भन्ने गर्नुहुन्थ्यो, 'चोरेर अनि कसैसँग मागेर नखानु, अर्काको साटेर पनि नलगाउनु, बाउले सात डाँडापारि गएर भए पनि तिमीहरूको इच्छा पुर्‍याउँछु।' जिन्दगी का ठूलो आँधिबेहरी उहाँले आफैँ व्यहोर्नुभयो जसले गर्दा हामीले कुनै दु:ख सहनु परेन। दु:खको सागरमा डुब्नु परेन।

बुबाले सन्तानका इच्छा पूरा गर्न परदेशमा पसिना बगाइरहँदा ममीका नङ्ग्रा पनि आफ्नो माटो र सीपमा कम्ता खिइएनन्। त्यसभन्दा परदेशी श्रीमानको अभावमा ममीको दिनचर्या सहज थिएन।

आर्थिक पाटो सहज भए पनि सामाजिक तथा पारिवारिक दायित्वका लागि ममी सधै हाम्रा लागि मियो बन्नुभयो। चार सन्तानलाई एकैपटक असल, अनुशासित, व्यावहारिक, कर्मशील, इमानदार, बनाउनका लागि गर्नुपर्ने मिहिनेत र उठाउनुपर्ने जिम्मेवारीलाई कुनै शब्दमा उतार्न सकिँदैन। किनभने आमा हुन सजिलो छैन।

एसएलसी दिनेबित्तिकै १६-१७ मा छोरीलाई धेरै पढाएर के हुन्छ? पैसा भएको केटो छ। छोरीलाई घरमा राख्न हुँदैन भनेर उचाल्ने आफन्त तथा समाजका अगाडि मुकाविला गर्नु पनि ममीका लागि चुनौती थियो। यस विषयमा ममी सधैँ क्रान्तिकारी देखिनुभयो। जसका कारण उनका सन्तान चुलो चौकामा सीमित भएनन्।

सपनाको पखेटा फिँजाएर सरकारी कार्यालयको अधिकृतदेखि आयुर्वेद डाक्टर बने। कास सबैका सन्तान यस्तै भाग्यमानी भइदिए।

वैदेशिक रोजगार समाजमा पारिवारिक विचलनको मुख्य कारण बनिरहेको अहिलेको मुख्य समस्या छ। तर,  म निर्धक्क भन्न सक्छु, 'श्रीमती कुशल र असल अनि श्रीमान् इमान्दार र मिहिनेती भइदिए भने हाम्रो समाज यो समस्याबाट उम्किन सक्थ्यो।

परदेश भासिएकाहरूको पसिना यसैपनि सस्तैमा बिकिरहेको छ, त्यसमा पनि श्रीमतीको कारण परदेशबाट फर्की आउँदा न बाँकी छ सम्पत्ति, न रहन्छ सुन्दर परिवार। यस्ता कयौं घटनाहरु छन् जसको कारण वैदेशिक रोजगार बनेको छ।

तर, आमा, श्रीमती, बुहारी जे भन्नुस् एउटी नारी असल भइन् भने एउटा कुशल र परिपक्व सुन्दर परिवार बन्न सक्छ। यो मेरो ममीको भोगाइले दिलाएको विश्वास हो।

 भनिन्छ नि, एउटी नारी शिक्षित भइन् भने पूरै परिवार शिक्षित हुन्छ। पहिलो विद्यालय घर, पहिलो शिक्षिका उनै आमा। जसले हामीलाई पहिलोपटक कखरा पढ्न अनि लेख्न सिकाउनुभयो।

हुर्कंदै गर्दा पाउने असल संस्कारले नै बनाउँछ एउटा असल मान्छे। आमा स्नेहकी खानी मात्र होइनन्, आवश्यकताअनुसार सन्तानको गुरु, लिडर (नेतृ) निर्देशक हुन्। आज मेरी आमाको जन्मदिन। ती आमाहरूलाई पनि जन्मदिनको शुभकामना जसले आफ्नो सन्तानका लागि आफ्ना सारा खुशी र पीडा भुलिदिए। ती आमाहरूलाई नमन।

आजभन्दा सायद चार दशकअघि आठ कक्षा अध्ययन गर्न पाउनु भएकी मेरी ममी दिनभरि खेतिपाती, अर्मपर्म, घाँस दाउरा गरेर शरीर थाके पनि हामीलाई सम्झाउने, बुझाउने, सिकाउने अनि निर्देशन दिएर पनि थाक्नु हुन्नथ्यो।

 दिनभरी थकान त छँदै छ। बेलुकी फेरि खाना खाइसकेपछि काँटा र धागोका डल्लालाई टुकीको भरमा चलाउन थाल्नुहुन्थ्यो। टुकीको झुम्रो बल्न छोड्दा पनि उहाँको हातले विश्राम लिन्नथ्यो। अझ गज्जबको कुरा त के भने त्यही हात बेलाबेला पालैपालो हामी छोराछोरीको टाउको सुम्सुम्याउन पनि भ्याउँथ्यो अनि उहाँको मुख त हामी ननिदाउँन्जेल थाक्दैनथेँ।

कहिले व्यावहारिक ज्ञान, कहिले अध्ययनका कुरा, कहिले गाली अनि निर्देशन। ममीले राति पनि खासै आराम नपाएको प्रमाण हामी बिहान उठ्दा उहाँले बुनेका धागोको टोपी, पन्जा, मोजा, स्विटर, गलबन्दी देखेर थाहा पाइहाल्थ्यौँ।

अहिले लोकसेवा पढ्नेले सूत्र बनाएर घोकेझैं ममीले चौध अञ्चलको नाम कण्ठस्थ पार्न सिकाउनुभएको सूत्र 'रामेको नाकमा सवागज लुसेभेध' कुनै नयाँ सूत्रले बिर्साउन सकेन।

यी सम्झनाहरूको निचोड के भने, आमा पहिलो शिक्षिका हुन्। उनले सिकाएको कुराहरु सन्तानको मानसपटलमा अमिट हुने रहेछ। सन्तानलाई सिकाउने कला, बुझाउने तरिका, हरेक परिस्थिति अनुसारको उपाय आमामा जति कोसँग होला र!

छोराछोरीलाई बराबरको व्यवहार गर्दै, उमेर अनुसार सन्तानको चित्त बुझाउने, उज्ज्वल भविष्य निर्माणका लागि प्रेरित गर्ने, हौसला दिने, मिहिनेती, इमानदार, असल संस्कार दिएर सक्षम जीवन बाँच्न सिकाउने कला मेरी ममीमा थियो।

पछिल्लो समय कामकाजी महिला, केही त बढ्दो सामाजिक संजालको लतले पनि छोराछोरीमा बाबुआमाको ध्यान नगएको पाइन्छ। तर, श्रीमानको कम सहभागिता, उपस्थितिमा पनि मेरो ममीले आज कुनै सन्तानलाई गुनासो गर्ने ठाउँ राख्नुभएन।

छोरीहरुलाई आत्मनिर्भर नहुन्जेल पढाउँदा आफन्तले तेर्साएका प्रश्नको जवाफ पनि उहाँको कर्म र हाम्रो आत्मनिर्भरता, इमान्दारीले दिएकै छ।

हिजो छोराछोरी बराबरी भनेर आमाबुबाले प्रदान गरेको समान व्यवहार र शिक्षाको फल नै हो आजको श्रीमान-श्रीमतीबीच समान, सम्मानित,समर्पित, इमानदार सम्बन्ध। पहिले आमाबाटै बच्चाले सिक्छ बाँच्ने कला।

हुर्कंदै गर्दा पाउने असल संस्कारले नै बनाउँछ एउटा असल मान्छे। आमा स्नेहकी खानी मात्र होइनन्, आवश्यकताअनुसार सन्तानको गुरु, लिडर (नेतृ) निर्देशक हुन्। आज मेरी आमाको जन्मदिन। ती आमाहरूलाई पनि जन्मदिनको शुभकामना जसले आफ्नो सन्तानका लागि आफ्ना सारा खुशी र पीडा भुलिदिए। ती आमाहरूलाई नमन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.